खाम्योकमा जानु काम्बाङ

SHARE:

याक्थुङ लाजेको उद्गमस्थल इम्बिरी याङधाङवा, इखाबुमा जन्मिनुभएकी जानुका काम्बाङ नेपाली साहित्यमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल स्रष्टा जानुकाम्बाङ । गृहिणीको जिम्मेवारी, परिवार र सामाजिक जीवनको व्यस्तता तथा पूर्णकालीन जागिरसँगै उहाँले नेपाली साहित्यका विभिन्न विधामा निरन्तर सिर्जना गर्दै आउनुभएको छ ।

एक दशकको अवधिमा शिविरमा ईश्वर (कविता), अनुभव र जानु (गीत र गीति एल्बम), नउघ्रेको जुन (कथा), आँसुको लय (गीतिसङ्ग्रह) हुँदै फ्लान्डर्स फिल्डमा तमोरका सुसेली (नियात्रा)सम्म आइपुग्दा उहाँको सिर्जनात्मक यात्रा अझ फराकिलो र समृद्ध बनेको देखिन्छ ।

अन्ततः उपन्यासजस्तो चुनौतीपूर्ण विधामा प्रवेश गर्दै जन्मिएको कृति ‘खाम्योक’ उहाँको साहित्यिक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि हो। उहाँको सिर्जनशीलता, निरन्तरता र जीवनप्रतिको गहिरो दृष्टिले ‘खाम्योक’लाई अझ अर्थपूर्ण बनाएको छ । यस सुन्दर कृतिको आलोचनात्मक भूमिका लेख्ने अवसर मलाई पनि प्राप्त भएको थियो। एउटा स्रष्टाको सिर्जनायात्राको साक्षी बन्न पाउनु र उहाँको कृतिमाथि आफ्नो दृष्टिकोण राख्न पाउनु मेरा लागि पनि सुखद साहित्यिक अनुभव हो ।

जानु काम्बाङको कलम अझ धेरै समयसम्म यसरी नै चलिरहोस्—इम्बिरी याङधाङवाको माटोको सुगन्ध बोकेर नेपाली साहित्यको आकाश अझ फराकिलो बनाउँदै । हार्दिक बधाई तथा निरन्तर सिर्जनात्मक सफलताको शुभकामना ।

‘खाम्योक’
नेपाली डायस्पोरिक साहित्यको फाँटमा जानु काम्बाङ एक सिद्धहस्त र पृथक् पहिचान निर्माण गरिसकेको लोभलाग्दो हस्ताक्षर हुन् । छोटो समयावधिमै कविता संग्रह , कथा संग्रह, गीत संग्रह , नियात्रा र उपन्यासजस्ता फरक–फरक विधामा सृजनात्मक हस्तक्षेप गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो ।

‘खाम्योक’ उपन्यासमा आइपुग्दा जानु काम्बाङ अझ परिपक्व, पहिचान, इतिहास र स्मृतिसँग जुध्न सक्ने सशक्त सर्जकका रूपमा स्थापित भएकी छन् । समय, समाज र परिवेशलाई संयोजन गर्दै लेखिएको यो उपन्यासले समकालीन नेपाली समाजका अन्तर्द्वन्द्व र पहिचानका सवालहरू उठाउन सफल भएको छ । कथावस्तु, पात्र निर्माण र भाषिक प्रवाहका दृष्टिले यो कृति लोभलाग्दो र अब्बल देखिन्छ ।

माओवादी सशस्त्र द्वन्द्वपछिको नेपाली समाज, त्यसले जन्माएको विस्थापन र प्रवासी जीवनका जटिल मनोवैज्ञानिक तथा सामाजिक आयामहरू ‘खाम्योक’ को मूल केन्द्रीयता हुन । द्वन्द्वको भय, असुरक्षा र भविष्यविहीनताले हजारौँ युवालाई देशबाहिर धकेलेको ऐतिहासिक पृष्ठभूमिमा उभिएको यो उपन्यास बेल्जियम पुगेका नेपाली शरणार्थीहरूको जीवन संघर्ष, कानुनी अनिश्चितता, श्रम शोषण र अन्तर्मनको द्वन्द्वलाई सजीव रूपमा प्रस्तुत गर्छ । युद्ध सकिए पनि पीडा सकिँदैन भन्ने कटु यथार्थ यस कृतिको केन्द्रीय सन्देशका रूपमा उदाउँछ ।

उपन्यासको प्रमुख पात्र खाम्योक स्वयं द्वन्द्वपीडित पुस्ताको प्रतिनिधि पात्र हो । नेपाली सेनामा कार्यरत रहँदा एम्बुसमा घाइते भई जागिर गुमाउनुपरेको खाम्योकको बेल्जियमसम्मको यात्रा व्यक्तिगत नियतिभन्दा पनि समग्र पुस्ताको साझा पीडाको कथा बनेर उपन्यासमा फैलिन्छ । अझ महत्त्वपूर्ण पक्ष के छ भने, उपन्यासले द्वन्द्वकालका दुई विपरीत ध्रुव—राज्यपक्ष र माओवादी विद्रोही कट्टर शत्रु रहेका खाम्योक र सुरेशबीचको सम्बन्धलाई प्रवासको साझा पीडाभित्र समय र बाध्यताले सहयात्री बन्न पुग्नु उपन्यासको वैचारिक परिपक्वताको द्योतक हो ।

‘खाम्योक’ लाई विशिष्ट बनाउने अर्को सशक्त पक्ष यसको याक्थुङ सांस्कृतिक चेतना हो । भाषा, संस्कार, स्मृति र सामाजिक यथार्थलाई लेखिकाले कलात्मक र सचेत ढङ्गले कथामा समाहित गरेकी छन । पछिल्ला समयहरूमा विशेषगरी याक्थुङ स्रष्टाहरू जाँठा शब्द प्रयोग गर्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढ्दो छ ।

काम्बाङको यो उपन्यासमा एक दर्जनभन्दा बढी जाँठा शब्दलाई सशक्त रूपमा प्रयोग गरिनु नयाँ कीर्तिमानकै रूपमा लिन सकिन्छ । सन्दर्भविहीन प्रयोगमा अश्लिल देखिन सक्ने सम्भावना भए पनि यहाँ ती शब्दहरू पात्रको मनोविज्ञान र याक्थुङ सामाजिक यथार्थसँग गहिरोसँग गाँसिएका छन । यस्ता शब्दहरू याक्थुङ माङपान मानकको रुपमा सांस्कृतिक सन्दर्भभित्र, समय र परिस्थितिअनुसार प्रयोग गरिएकाले दैविक वाणझैँ प्रभावशाली देखिन्छन । त्यसैले, ती प्रयोगहरूले कथ्यलाई अझ जीवन्त र प्रामाणिक बनाएका छन ।

विदेशको माटोमा उभिएर पसिना बगाउँदै पैसा कमाउनु सजिलो कर्म होइन । जातीय विभेदको तीतो अनुभव, मालिकको निर्दयी शोषण र कठोर श्रमका बीच नेपालीहरू बासी भातले पेट भरेर रात–दिन संघर्ष गर्छन । आफ्नो पेट काटेर कमाएको यही पैसाले नेपालीहरूले ठूला–ठूला राजनीतिक परिवर्तनका आन्दोलनलाई टेवा दिएका छन । पार्टी–पौवा निर्माणदेखि बिरामी परेकाहरूको उपचारसम्म, अनेक सामाजिक कार्यमा उनीहरूको आर्थिक योगदान अतुलनीय छ । तर दुःखको कुरा, यसरी नेपाल पठाइएका रकमहरू सधैं सही ठाउँमा पारदर्शी रूपमा प्रयोग भएका छैनन । यही विकृति र विसङ्गतिमाथि लेखकले उपन्यासमार्फत गहिरो सल्यक्रिया गर्न सफल देखिन्छन् ।

उपन्यासको उत्तरार्धमा खाम्योक पात्र निर्णायक पहिचानी आन्दोलनको घडीमा अपेक्षित भूमिकामा नउभिनु केवल पात्रगत कमजोरी नभई समग्र आन्दोलनको वैचारिक स्खलनको प्रतीकका रूपमा लिन सकिन्छ । सधैं लिम्बुवानको पक्षमा उभिने, चिन्तनशील र सचेत प्रतिनिधि पात्रका रूपमा चित्रित खाम्योक निर्णायक घडीमा नेतृत्वकर्ता वा शहीदका रूपमा उदाउन नसक्नु प्रश्नयोग्य देखिन्छ । सम्भवतः लेखिका कुनै एक पात्रलाई ‘महानायक’ बनाएर आन्दोलनलाई सरलीकृत गर्न चाहँदिनन, बरु आन्दोलन स्वयं कमजोर हुँदा सचेत पात्र पनि निरीह बन्न बाध्य हुन्छ भन्ने यथार्थ प्रस्तुत गर्न खोज्छिन्। यही आलोचनात्मक यथार्थवादले ‘खाम्योक’ लाई आदर्शवादी कथनभन्दा माथि उठाएको छ ।

भौगोलिक रूपमा नेपालदेखि बेल्जियमसम्म फैलिएको कथाले भूगोल पार गरे पनि यसको आत्मा, चेतना र सांस्कृतिक नसा आरम्भदेखि अन्त्यसम्म लिम्बुवान माटोमै धड्किरहन्छ । विदेशी भूमिमा गुञ्जिने याक्थुङ पालाम, पात्रहरूको स्मृतिमा बाँचिरहने माटो र पहिचानको तिर्सना—यी सबैले उपन्यासलाई स्मरणीय बनाएका छन् ।
…….
इक्सादिङ्ग खाम्बेक थोखाङ्ग मेम्बी,
मिक्वानु सोरिक पोखाङ्ग मेम्बी ।
कालक्रमका अगाडि–पछाडिका स–साना घटनाहरूलाई आपसमा जोड्दै लेखिकाले कथात्मक निरन्तरता कुशलतापूर्वक कायम गरेकी छन् । साथै, विदेशमा बसोबास गर्ने पात्रहरूको चेतनामा समेत लिम्बुवान माटोको स्मृति र ऊर्जा निरन्तर प्रवाहित रहनु उपन्यासको पहिचानमूलक चेतनालाई सशक्त बनाउने अर्को महत्त्वपूर्ण पक्ष हो । यसले उपन्यासलाई भूगोलभन्दा पर गएर पनि आफ्नो सांस्कृतिक जरा नछोड्ने सन्देश दिएको छ ।

उपन्यास पढ्दै जाँदा नबुझिने वा नचाहिने कुनै विषय भेटिँदैन । जति पढ्दै गयो, पाठकमा उति नै ऊर्जा र उत्साह पलाउँदै जान्छ । जति पढ्यो, उति नै “अझ पढौँ” भन्ने चाहना जाग्छ । उपन्यासको कथा ठूलो नदीझैँ निश्चल, शान्त र एकोहोरो सलल बगिरहन्छ । न कतै तिव्र मोड, न कतै भंगालो छुट्टिने अवस्था, न त छाल–तरङ्गको उतारचढाव ।

समग्रमा, ‘खाम्योक’ माओवादी द्वन्द्व, प्रवास, शरणार्थी जीवन र लिम्बुवान सांस्कृतिक चेतनालाई एकै सूत्रमा बाँध्न सफल उपन्यास हो । यसले नेपाली डायस्पोरिक साहित्यलाई नयाँ विषयवस्तु, नयाँ दृष्टिकोण र गहिरो संवेदना प्रदान गरेको छ । जानु काम्बाङको यो कृति द्वन्द्वपीडित इतिहासको साहित्यिक साक्ष्य मात्र होइन, पहिचान र अस्तित्वको खोजीमा रहेका पाठकका लागि पनि अर्थपूर्ण र स्मरणीय बन्ने सामर्थ्य राख्दछ ।

मौलिक सांस्कृतिक चेतना, लिम्बुवान माटोसँगको गहिरो सम्बन्ध र प्रवासजन्य पीडालाई साहित्यिक संवेदनामा रूपान्तरण गर्ने क्षमताले सर्जकलाई समकालीन नेपाली साहित्यमा विशिष्ट बनाएको छ । माथि इम्बिरियाङधाङमा जन्मेर कोक्रोमै पालाम र सामुदायिक गीत–संगीतबाट साहित्यिक चेतना आर्जन गरेकी काम्बाङले विद्यालय जीवनदेखि नै नेपाली कविता र गीतमा रमाउँदै साहित्यिक यात्राको प्रारम्भ गरेकी हुन् । रहरमै प्रकाशित कविता सङ्ग्रहबाट सुरु भएको यो यात्रा गीत, कथा हुँदै अन्ततः साहित्यको सबैभन्दा जटिल र जोखिमपूर्ण विधा—उपन्यास—सम्म आइपुग्नु लेखकको आत्मविश्वास र साहित्यप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण हो । ‘खाम्योक’ यही यात्राको परिपक्व परिणाम हो ।

लिम्बू भाषामा ुखाम्योकु शब्दले माटोलाई जनाउँदै मानव र भूमिको अटूट सम्बन्धलाई प्रतिनिधित्व गर्छ । उपन्यासको प्रमुख पात्र खाम्योकको शब्दिक अर्थ मात्र होइन, याक्थुङ पहिचान र सांस्कृतिक दायित्वको प्रतीक बनेको छ । खाम्योकको चरित्र विस्थापनको यथार्थ र सांस्कृतिक अस्मिताको संघर्षको मर्मस्पर्शी चित्रण हो खाम्योक । विदेशी भूमिमा बस्दा पनि उनी आफ्नो याक्थुङ लाजे याक्थुङ समुदायको सामाजिक९सांस्कृतिक पद्धतिप्रति गहिरो जिम्मेवारी अनुभव गर्छन । यो जिम्मेवारी केवल सैद्धान्तिक होइन, व्यवहारिक रूपमा उनको जीवनशैली, सोच र कर्ममा अभिव्यक्त हुन्छ। उपन्यासले देखाएको सत्य हो कि भौगोलिक दूरीले मानवको मातृभूमिप्रतिको अनुरागलाई क्षीण बनाउन सक्दैन, बरु त्यसले त्यो भावनालाई र्स्वाधिक तीव्र र गहिरो बनाउँछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!