काठमाडौं । नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले पञ्चासे हर्पनडाँडा समाज यूकेले सञ्चालन गरेको सहयोग अभियानमा शुक्रबारसम्म ९ लाख ६ हजार ४ सय १२ रुपैयाँ संकलन भएको छ।
समाजका तर्फबाट पीआर प्रकाश गुरुङले शुक्रबारसम्म उक्त रकम संकलन भएको जानकारी दिएका हुन्। बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।
अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सहयोगी मनहरूप्रति समाजले आभार व्यक्त गरेको छ। संकलित रकम बाढी तथा विपद्बाट प्रभावितहरूका लागि आवश्यक राहत तथा सहयोगमा उपयोग गरिने जनाइएको छ।
२६ अगस्टमा चीनतर्फ बाट भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । जसको खोज, उद्धार, राहत वितरण, पुनःस्थापनालगायत काम जारी छ भने देशविदेशबाट सहयोग संकलन भइरहेको छ ।






