ब‍ेलायतमा कोभेन्ट्री नेपाली समाज र विश्व नेपाली साहित्य महासंघ मिडल्याण्डको श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम

SHARE:

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढी–पहिरोका कारण दिवंगत भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको १३औँ पुण्यतिथिको अवसरमा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायत र कोभेन्ट्री नेपाली समाज बेलायतको संयुक्त आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कोभेन्ट्रीस्थित एन्स्टी पार्कमा ७ सेप्टेम्बर २०२६ मा आयोजित कार्यक्रम कोभेन्ट्री नेपाली समाजका महासचिव सुवासचन्द्र अधिकारीले सञ्चालन गरेका थिए । शोक र संवेदनाले भरिएको सभामा कोभेन्ट्री नेपाली समाजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, निवर्तमान अध्यक्ष सन्तोष रेग्मी, समाजका निवर्तमान महासचिव एवं विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाका उपाध्यक्ष बाबुराम भुषाललगायत कोभेन्ट्रीमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायतका अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’ले बाढी–पहिरोमा ज्यान गुमाउने सम्पूर्ण आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विपद्को यस घडीमा सम्पूर्ण नेपालीहरू एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी कोभेन्ट्री नेपाली समाजका अध्यक्ष रमेश कँडेलले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै उनीहरुलाई धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरे । साथै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

दिवंगत आत्माहरूको स्वस्ति–शान्तिका लागि हेमलाल सापकोटाले वैदिक विधिअनुसार प्रार्थना गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीहरूले राष्ट्रिय गान सामूहिक रूपमा गाएपछि दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाल राष्ट्रको रेखाङ्कित नक्साभित्र दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्ति, सद्गति तथा स्वर्गारोहणको कामना गरिएको थियो। उपस्थित बुबाआमा, ज्येष्ठ नागरिक, युवा तथा बालबालिकासम्मले दीप प्रज्वलनमा सहभागी भई दुःखको यस घडीमा मातृभूमिप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको अनुपम उदाहरण प्रस्तुत गरेका आयोजकले जनाए ।

श्रद्धा, समवेदना र राष्ट्रिय एकताको भावनाले ओतप्रोत उक्त कार्यक्रमले विपत्तिमा ज्यान गुमाउने सम्पूर्ण नेपालीहरूप्रति सम्मान प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारहरूलाई नैतिक बल प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!