लन्डन । नेपालमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) यूकेले आईसीसीको कोषमा ५३ लाख ४३ हजारभन्दा बढी रकम पठाएको छ ।
राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले १ करोड राहत रकम घोषणा गरेकोमा बुधबार पहिलो चरणमा ५३ लाख ४३ हजार २४४.२५ रकम पठाएको हो । यूकेबाट पठाएको रकमसहित एनआरएनए आईसीसीको सहयोग अभियानमा बुधबारसम्म ४ करोड २८ लाख ६९ हजार २७१ रुपैयाँ ३३ पैसा संकलन भएको जनाइएको छ।
एनआरएनएका पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), विदेशस्थित संघसंस्था तथा नेपालीहरूको व्यक्तिगत सहयोगबाट उक्त रकम संकलन भएको संघले जनाएको छ । पूर्वप्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको संघले जनाएको छ।
संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेको भन्दै बाँकी प्रतिबद्धता रकमसमेत क्रमशः केन्द्रीय कोषमा जम्मा हुने क्रममा रहेको बताइएको छ।
हालसम्म विभिन्न राष्ट्रिय समन्वय परिषद् तथा संस्थामार्फत केन्द्रीय कोषमा जम्मा भएको सहयोग रकममध्ये:
एनसीसी यूके (पहिलो चरण) — रू. ५३,४३,२४४.२५.
एनसीसी बहराइन — रु. २५,७९,३२८
एनसीसी नर्वे —रु. १७,८९,८४२.९६
एनसीसी ओमान — रु. १३,१५,०००
Stichting Nepal Fonds, Netherlands — रु. १०,५५,१९३.६०
एनसीसी लग्जम्बर्ग — रु. १०,४६,५४८.८६
एनसीसी साउदी अरेबिया — रु. १०,००,०००
एनसीसी टर्की — रु. ७,५०,३३७
एनसीसी म्यानमार — रु. ६,०१,०००
इजरायल — रु. ५,०४,३८५
एनआरएनए सचिवालय, बालुवाटारका अनुसार भोटेकोशी बाढी प्रभावितका लागि प्राप्त प्रतिबद्धता रकमलाई वास्तविक संकलनमा रूपान्तरण गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ। एनआरएनए टोली प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिरहेको छ ।
रसुवाको उत्तरगयाको डाँडागाउँमा स्वास्थ्य शिविर सञ्चालन
भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रसुवाको उत्तरगया गाउँपालिका–३, डाँडागाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बाढी तथा विपद्बाट प्रभावित स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। एनआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको संयोजकत्वमा गएको स्वास्थ्य टोलीले डाँडागाउँका प्रभावित स्थानीयको स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरेको थियो।
स्वास्थ्य शिविर सञ्चालनका लागि एनआरएनएले नेपाल रेडक्रस सोसाइटी, रसुवासँग समन्वय गरेको थियो। त्यस्तै, स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज कृष्णप्रसाद भण्डारीको समेत सहजीकरण र समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
स्वास्थ्य टोलीमा डा. कावेरी कार्की, डा. शोभित गुरुङ र हरि कोजु सहभागी हुनुहुन्थ्यो । शिविरमा दीर्घरोग, एलर्जी, श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकीलगायतका स्वास्थ्य समस्या भएका स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो। आवश्यकताअनुसार मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइएको थियो। बुधबार शिविरबाट कुल ८३ जना स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार औषधि तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ ।
रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडित परिवारसँग भेट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिइएको छ। भेटका क्रममा उनीहरूलाई तत्काल आवश्यकता पहिचान गरिएको छ।
यसैबीच,रसुवा र नुवाकोटबाट विस्थापित भई हाल काठमाडौंमा बसिरहेका प्रभावितहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिन सम्बन्धित स्थानीय जनप्रतिनिधिसँग परामर्श गर्ने तयारी गरिएको एनआरएनए सचिवालयले जनाएको छ।
एनआरएनएले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू बुधबार २१ औँ दिन पुगेको छ ।






