एटा संवाददाता
अल्डरसट । अन्तर्राष्ट्रिय मेगा रियालिटी शो दि भ्वाइसको नेपाली संस्करण द भ्वाइस अफ नेपालका विजेताहरुले बेलायतमा सांगीतिक प्रस्तुति दिने भएका छन् । उनीहरुले विश्व सांगीतिक यात्राको सुरुआत बेलायतबाट गर्न लागेका हुन् ।
शुक्रबार क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले अल्डरसटस्थित क्लब टेम्पटेसनमा एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो । सांगीतिक यात्राको क्रममा भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फाइनलका प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य र सप्तक दूतराजको साथमा विवेक वाइबा लामा, सुरेखा क्षेत्री र श्रेया राई बेलायत आउने भएका छन् । त्यस्तै, भ्वाइस अफ नेपालका होस्ट सुशील नेपालसमेत कार्यक्रमको होस्टका लागि बेलायत आउने भएका छन् ।
प्रोडक्सन टिमका सदस्यसहित कुल ११ जनाको समूहले आउँदो फेब्रुअरी १६ देखि मार्च ९ सम्म बेलायतका विभिन्न सहरमा ‘द भ्वाइस अफ नेपाल यूके कन्सर्ट’मा आ–आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । आयोजक क्याडेन्जाकाअनुसार सो समूहले आउँदो १६ फेब्रुअरी साँझ फोक्सटन, १७ फार्नबोरो, १८ बर्मिङहम, २३ फेल्थाम, २४ प्लमस्टिड, ३ मार्च रेडिङमा र ९ मार्चमा स्वीन्डन सहरमा सांगीतिक प्रस्तुति दिनेछ ।
बेलायतस्थित नेपाली पत्रकारहरुको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलनमा क्याडेन्जा यूकेका मार्केटिङ तथा पिआर निर्देशक धिरज राईले भ्वाइस अफ नेपालजस्तो लोकप्रिय कार्यक्रम बेलायतमा ल्याउन पाउँदा खुसी लागेको बताउँदै कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरे । उनले अनलाइनबाट पनि टिकट लिन सकिने बताउँदै अनलाइनमा १५ पाउन्ड, अग्रिम बुकिङ्ग गरेमा २० पाउन्ड र प्रवेशद्वारमा २५ पाउन्ड प्रवेश शुल्क तोकिएको जनाए । टिकटले बर्मिङहमबाहेक अरु ६ वटा सहर जुनसुकै स्थानमा प्रयोग गर्न सकिने बताए ।
दर्शकहरुको सुविधालाई ध्यानमा राखि बेलायतका विभिन्न सहरमा अवस्थित नेपाली पसल, रेस्टुरेन्ट र क्याडेन्जा यूकेका सदस्यहरुबाट टिकट लिन सकिने जनाए । साथै, दर्शकहरुले लिएको टिकटको आधारमा १ जनालाई लक्की ड्र मार्फत २ जनाको लागि डिनर कुपन प्रदान गरिने आयोजकले बताए । लाइभ संगीतसहित आयोजना गर्न लागेको कन्सर्टमा विभिन्न नेपाली चर्चित गीतहरु प्रस्तुत् हुने प्रोजेक्ट म्यानेजर आवेश राईले बताए ।
नेपाली युवाहरु आबद्ध रहेको क्याडेन्जा यूकेले पहिलोपटक बेलायतमा आयोजना गर्न लागिएको कन्सर्टमा उपस्थित दर्शकलाई आफ्ना लोकप्रिय कलाकारसँगै तस्बिर लिन र कुराकनी गर्नसमेत अवसर दिने योजना बनाइएको आयोजकले जनायो । पत्रकार सम्मेलनमा एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर, युवा संयोजक कुमार थापा, सहकोषाध्यक्ष गजेन्द्रद्रगुरुङ र कार्यसमिति सदस्य पवन राई, नेपाली युवा समूह यूकेका उपाध्यक्ष केशव गुरुङ, सदस्यहरु मिनुष थापा र एन्डी राई, सुरज पौडेल, प्रकाश कँडेलका साथै आयोजक क्याडेन्जा यूकेको महिला संयोजक अञ्जु श्रेष्ठ, युथ कोअर्डिनेटर अमृता गिरी गजुरेल, कल्चरल सेक्रेटरी गीता बस्नेत पाण्डेलगायत उपस्थित थिए । उनीहरुले पत्रकारले राखेका विभिन्न जिज्ञासा
मेटाएका थिए ।






