एटा संवाददाता
अल्डरसट । गण्डकी प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीका लागि ‘पैसा नेपालमै छ’ भन्दै नेपाललाई सीप, क्षमता र नयाँ प्रविधि आवश्यक रहेको बताएका छन् । उनले एनआरएनए यूकेद्वारा गत बुधबार २ जनवरी २०१९ का दिन अल्डसटस्थित भेटघाट रेस्टुरेन्टमा आयोजित स्वागत तथा अन्तक्रियामा सो कुरा राखेका हुन् । उनले आफूले सिकेको सीप र क्षमतालाई नेपालमा लगानी गर्न अनुरोध गर्दै नेपालमा लोडसेडिङ्ग मुक्त भइसकेको र स्थायी सरकारसमेत रहेकोले देशलाई आवश्यक पर्ने प्रविधि र प्रोजेक्ट लिएर आउन आह्वान गरे ।
त्यस्तै, बेलायत भ्रमणमा रहेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं पूर्वसभासद नगेन्द्रकुमार कुमालले देशविदेशमा रहेका नेपालीहरुले नेपाललाई सुन्दर, शान्त र समृद्ध देख्न चाहन्छ भन्दै त्यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिए । कार्यक्रम एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले मन्त्री गुरुङलाई नागरिकता विधेयक संशोधनका लागि ज्ञापनपत्रसमेत बुझाएका थिए । मन्त्री गुरुङले ज्ञापनपत्रमा समेटिएका र अन्य मागहरु सम्बन्धित निकायमा पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजकसमेत रहेकी एनआरएनए यूकेकी उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्यको क्रममा नेपालमा लगानीको संभावना कत्तिको छ ? गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन प्रदेश सरकारले के कस्ता योजना तर्जुमा गरेको छ ?, भन्दै आफूसँग भएको सीप र क्षमतालाई कसरी नेपालमा पुर्याउन सकिन्छ भन्ने बारेमा गाइडलाइन दिन अनुरोध गरिन् ।
नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता लिन गृह मन्त्रालयबाट मात्र होइन सबै नियोग, प्रदेश र जिल्लाबाट लिन पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै हाल दिन लागिएको नागरिकतामा रहेको ३ पुस्ताको प्रावधान हटाउन अनुरोध गरे ।
त्यस्तै, एनआरएनए यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, आईसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ, आईसीसी सदस्य रामशरण सिम्खडा, काउन्सिलर लक्ष्य गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ र शालिकराम पौडेललगायतले बोलेका थिए । कार्यक्रममा एनआरएनए रोड सेप्mटी कोर्डिनेटर थर्क सेनले मन्त्री गुरुङलाई रोड सेफ्टी पुस्तक प्रदान गरेका थिए । त्यस्तै, मन्त्री गुरुङ लगायत नेपालबाट आएका अतिथिहरुलाई एनआरएनए यूकेले मायाको चिनो प्रदान गरे । सो अवसरमा बेलायत भ्रमणमा रहेका गायक टंक बुढाथोकी, गायिका आँचल लामा र रुबी गौलीलगायत कलाकारलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो ।
नेपालमा लगानी गर्ने विषयमा केन्द्रित अन्तत्र्रिmयामा एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार, प्रेम गाहामगर, उपमहासचिव विनय अधिकारी, सदस्य होमनाथ पौडेल, एनआरएनए यूकेका पूर्वमहासचिव भक्त गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, मगर संघ यूकेका अध्यक्ष नेम थापा, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष नरेश गुरुङ, तमु फोरम यूकेका डाइरेक्टर क्या. राजु गुरुङ, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, थाउजेन गुम्बाका अध्यक्ष मेजर समुन्द्र गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्यमी, व्यवसायी र युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेका थिए । मन्त्री गुरुङ तमुधिं युकेको निमन्त्रणामा ल्होछार कार्यक्रमका लागि बेलायत आएका हुन् ।






