बेलायत — ब्रिटिस गोर्खा वेल्फेयर सोसाइटी (बिजिडब्ल्युएस) ले भोटेकोशी बाढीपीडितका लागि १६ लाख रुपैयाँभन्दा बढी (८,१०० पाउन्ड) राहत रकम बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीसमक्ष हस्तान्तरण गरेको छ। सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले यससम्बन्धी जानकारी दिएका हुन्।
सोमबार, २१ सेप्टेम्बर २०२६ का दिन लन्डनस्थित नेपाली राजदूतावासमा उक्त रकम हस्तान्तरण गरिएको हो। राहत हस्तान्तरण कार्यक्रममा अध्यक्ष मेजर टिकेन्द्रदल देवान, पब्लिक रिलेसन अफिसर (पीआरओ) प्रकाश गुरुङ, कोषाध्यक्ष डब्ल्युओटु टेक थापा मगर, गोर्खा वेल्फेयर प्रोपर्टी लिमिटेड (जिडब्ल्युपिएल) का डाइरेक्टर रामधन राई र सदस्य मीन गुरुङको सहभागिता रहेको थियो।
रकम हस्तान्तरण गर्नुअघि पीआर प्रकाश गुरुङले बिजिडब्ल्युएसको स्थापनाकालदेखि हालसम्मका गतिविधि र संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए। त्यसपछि अध्यक्ष देवानले उक्त राहत रकम नेपालको प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिदिन अनुरोध गर्दै राजदूत दुवाडीलाई हस्तान्तरण गरे।
राहत रकम हस्तान्तरणपश्चात् राजदूत र प्रतिनिधिमण्डलबीच झन्डै एक घण्टा विभिन्न समसामयिक विषयमा सौहार्दपूर्ण र अन्तरंग कुराकानी भएको थियो।





