तमु धीं युकेले नेपालका कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख १ सय ११ रुपैयाँ हस्तान्तरण गर्ने भएको छ।
मंगलबार, २२ सेप्टेम्बर २०२६ का दिन उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिएका छन्। उक्त सहयोग रकम सोझै नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गरिनेछ।
राहत रकम हस्तान्तरणका लागि तमु धीं युकेको एक प्रतिनिधिमण्डल गत आइतवार, २० सेप्टेम्बर २०२६ का दिन नेपाल प्रस्थान गरिसकेको छ। राहत हस्तान्तरण तथा वितरण टोलीमा अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङको सहभागिता रहेको छ।
कार्यतालिका अनुसार उक्त टोलीले बिहान ११ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेटवार्ता गर्नेछ भने अपराह्न ५ बजे कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी राहत रकम हस्तान्तरण गर्नेछ।
साथै, सङ्कलित रकममध्ये बाँकी रहेको २० लाख रुपैयाँ प्रत्यक्ष रूपमा बाढीप्रभावित क्षेत्र रसुवामै पुगेर वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन्।
प्रतिनिधिमण्डलले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी नागरिकता सम्बन्धी ज्ञापनपत्र पनि बुझाइसकेको छ।






