बेलायत – बेलायतमा ‘दोस्रो आदिवासी चलचित्र महोत्सव’ आइतबार, २७ सेप्टेम्बर २०२६ का दिन अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ।
उक्त चलचित्र महोत्सवमा भारतको सिक्किम राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागका सम्माननीय मन्त्री गे छिरिङ ढुङ्गेल लगायत नेपाल र सिक्किमबाट ठूलो सङ्ख्यामा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
महोत्सवको पहिलो चरणमा आदिवासी डकुमेन्ट्री तथा चलचित्रहरू प्रदर्शन गरिएका थिए भने दोस्रो चरणमा औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो।
औपचारिक कार्यक्रमअन्तर्गत सुरक्षासम्बन्धी जानकारी, आसनग्रहण, दीप प्रज्वलन, नेपाल र बेलायतको राष्ट्रिय धुन र आदिवासी गीत प्रस्तुत गरेपछि दिवंगत आत्माहरुको चिरशान्तिको लागि एक मिनेट मौनधारण गरिएको थियो।
महोत्सवमा आदिवासी झाँकीसहित नेवारी, लिम्बू, मगर र सुनुवार समुदायका नृत्य प्रस्तुत गरिएका थिए भने चर्चित तथा लोकप्रिय कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। साथै, उदाहरणीय कार्य गर्ने आदिवासी पुरुष तथा महिलाहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
त्यस्तै, महोत्सवमा नेपाल, भारतको सिक्किम र बेलायतका चलचित्र निर्माता, निर्देशक, नायक, नायिकासहित विभिन्न विधाका चलचित्रकर्मीहरूलाई अवार्ड, प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न उक्त महोत्सवमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि रहेका थिए भने सिक्किम, भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री श्री गे छिरिङ ढुङ्गेल र बेलायतका सांसद एलेक्स बेकर विशिष्ट अतिथिका रूपमा आमन्त्रित थिए।
कार्यक्रममा उपमेयर जितबहादुर बेलबासे, सिक्किम संगीत, नाटक, नृत्य तथा चलचित्र बोर्डका अध्यक्ष तासी छिरिङ भुटिया, सिक्किम कला, संस्कृति र सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय राई, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, जातिय संस्थाका अध्यक्षहरू, काउन्सिलर धनबहादुर सार्की, एनआरएन युकेका प्रमुख संरक्षक डेबिट गुरुङ, पूर्व डीएसपी सञ्जीव श्रेष्ठ, सिक्किम बोर्डका सदस्य थुपदेन रिन्जिङ भुटिया, फिल्म निर्देशक समाज नेपालका महासचिव समुद्र भट्टा (निर्देशक: गुन्यु चोलो), सोही समाजका सचिव राजबहादुर साने (निर्देशक: सिटामोल, लज्जावती, पाठशाला, डोली, वृन्दावन, वीराङ्गना, सिल्ल्तै फो, लाटी), राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री मिरुना मगर, निर्देशक उषा तामाङ (गान्तोक, सिक्किम; मन्त्री गे छिरिङ ढुङ्गेलकी धर्मपत्नी), नेपाल चलचित्र प्राविधिक संघका पूर्वअध्यक्ष मनोज के.सी., निर्देशक दीपकप्रसाद आचार्य, निर्माताहरू संगीता प्रधान र आकाश बुढाथोकी, अभिनेत्री उमा कार्की, सिक्किमकी अभिनेत्री श्यामा श्री शेर्पा, अभिनेत्री जानुका विश्वकर्मा, निर्माता/निर्देशक तथा निफ २०२६ फेस्टिभल म्यानेजर (नेपाल) सबिनकुमार तोलाङ्गी, गायिका आशू लामा, निर्माता सौरभ ओली, गायक शक्ति कप चन्द र मोडल आशा विश्वकर्मा लगायत थुप्रै चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
चलचित्र महोत्सवको औपचारिक सत्र नेफिन युकेका सचिव फ्रम बहादुर दुरा र नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेनले सञ्चालन गरेका थिए भने अवार्ड वितरण कार्यक्रम रोजिना राई र आकाश सुनुवारले सञ्चालन गरेका थिए।
महोत्सवमा सल्लाहकार एकिन्द्र गुरुङ, अध्यक्ष सञ्जय राई, मन्त्री गे छिरिङ ढुङ्गेल, उपमेयर जितबहादुर बेलबासे र कार्यवाहक राजदूत विपिन दुवाडीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष गंगामाया दुराले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमको अन्तमा नेफिन युकेका अध्यक्ष तथा चलचित्र महोत्सवका सभापति मेजर योगेश कोयी राईले प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिहरू तथा उपस्थित सम्पूर्ण कलाप्रेमी, प्रायोजकहरु र कलाकारहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।








