अक्टोबर १० मा १९औँ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता आयोजना हुने

SHARE:

महेन्द्र आले – बेलायत।

बेलायतको रेडिङमा वर्षैपिच्छे आयोजना हुँदै आएको लोकप्रिय ‘रेडिङ कप’ को १९औँ संस्करण आगामी अक्टोबर १० तारिखमा हुने भएको छ।

रेडिङस्थित पाल्मर पार्कमा तय गरिएको यस कार्यक्रममा बेलायतव्यापी फुटबल र भलिबल प्रतियोगिताका साथै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन्।

आयोजक ग्रेटर रेडिङ नेपाली कम्युनिटीले आइतबार बिहान एक पत्रकार सम्मेलनको आयोजना गरी १९औँ रेडिङ कपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। आयोजकले रेडिङ र आसपासका क्षेत्रलगायत बेलायतभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

पत्रकार सम्मेलनमा रेडिङ कप संयोजक मीनकुमार गुरुङले यसपटक युवा, भेट्रान र सुपर भेट्रान गरी तीन विधामा फुटबल प्रतिस्पर्धा गराइने जानकारी दिए। त्यस्तै, भलिबलतर्फ भेट्रान विधामा मात्र प्रतियोगिता सञ्चालन गरिनेछ।

संयोजक गुरुङका अनुसार फुटबलतर्फ युवा विधाका विजेतालाई £२,०२६ र उपविजेतालाई £१,०२६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, भेट्रानतर्फ विजेतालाई £१,०२६ र उपविजेतालाई £५२६ तथा सुपर भेट्रानतर्फ विजेतालाई £५२६ र उपविजेतालाई £३२६ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ।

भलिबल प्रतियोगिताका विजेताले £१,०२६ र उपविजेताले £६२६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले आउँदो अक्टोबर ६ तारिख सोमबारभित्र आफ्नो नाम दर्ता गर्नुपर्नेछ।

प्रतियोगितास्थलमा विभिन्न नेपाली खाना, लत्ताकपडा तथा अन्य सामग्रीका व्यापारिक स्टलहरू, सेवामूलक स्टलहरूसँगै निःशुल्क स्वास्थ्य शिविर (हेल्थ क्याम्प) पनि राखिनेछ। कार्यक्रममा मौलिक नौमती बाजाको विशेष प्रस्तुतिसहित विविध सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू रहनेछन्।

पत्रकार सम्मेलनमा कम्युनिटीका पूर्वअध्यक्ष महेश गुरुङले सन् २००६ मा आफ्नै संयोजकत्वमा रेडिङ कप सुरु गर्दाको सन्दर्भ स्मरण गर्दै संस्थाको सुरुवाती यात्राबारे प्रकाश पारेका थिए।

कम्युनिटीका अध्यक्ष भीमसेन खड्काले रेडिङ कप केवल खेलकुद महोत्सव मात्र नभई स्थानीय नेपाली समुदायबीचको एकता र आपसी सद्भावलाई बलियो बनाउने महत्त्वपूर्ण अवसर भएको बताए। यसपटकको प्रतियोगिता दसैँको केही दिनअघि मात्रै पर्ने भएकाले यसलाई उत्सवका रूपमा उल्लासमय ढङ्गले मनाउने योजना रहेको जनाउँदै उनले बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई परिवारसहित उपस्थित हुन आग्रह गरे।

१९औँ रेडिङ कपका आर्थिक संयोजक एवं संस्थाका उपाध्यक्ष बालकृष्ण दाहालले कार्यक्रमको आर्थिक पक्ष तथा कोष सङ्कलन अभियानबारे विस्तृत जानकारी गराएका थिए।

कम्युनिटीका सचिव सुवास चौलागाईंले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा फुटबल र भलिबल खेलका साथै खानपान, स्टलहरू, हेल्थ क्याम्प र मनोरञ्जनात्मक प्रस्तुतिहरूको आनन्द लिँदै यस दिनलाई ‘फेमिली डे आउट’ का रूपमा सदुपयोग गर्न सबैलाई आह्वान गरियो।

त्यस्तै, सल्लाहकार सुरेश थापाले आफू अपरेसन म्यानेजर रहेको ‘असम बुक’ (Assam Book) को तर्फबाट कार्यक्रमका लागि £४,००० को मुख्य प्रायोजन सम्झौता गरिएको जानकारी दिँदै आगामी वर्षहरूमा यसलाई अझै बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे। भलिबल प्रतियोगिता संयोजक प्रकाश सापकोटाले सहभागी हुने टिमहरूको व्यवस्थापन र खेल सञ्चालनको प्रक्रिया बारे जानकारी गराए।

पत्रकार सम्मेलनमा समाजका पूर्वअध्यक्षहरू, सल्लाहकारहरू एवं कार्यसमितिका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!