लन्डन – नेपालको उत्तरी क्षेत्रमा गत महिना आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा बेलायतस्थित नेपाली समुदाय तथा शुभचिन्तकहरूले लन्डनको प्रसिद्ध ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जलि सभाको आयोजना गरेका छन्।
आइतबार आयोजित उक्त कार्यक्रममा गैरआवासीय नेपाली तथा नेपाली मित्रहरू ठूलो संख्यामा सहभागी भई बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। गत २६ अगस्टमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने झन्डै ६०० विदेशी नागरिकसहित ५, ५०० भन्दा बढी बेपत्ता रहेका छन्।
कार्यक्रममा बोल्दै बार्नेट बरोका पूर्व उपमेयर तथा काउन्सिलर लक्ष्य गुरुङले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरे । संकटको यस घडीमा बेलायत सरकार तथा ब्रिटिश जनताले दर्शाएको सहानुभूति र सहयोगका लागि धन्यवाद दिँदै उनले नेपालको पुनर्निर्माण कार्यमा थप सहयोग पुर्याउन बेलायत सरकारसँग आग्रह गरे ।
गैरआवासीय नेपाली संघ आइसिसीकी सचिव एवं एनएचएसमा कार्यरत वरिष्ठ नर्स प्रसुना कँडेलले सञ्चारमाध्यममा आएका समाचारभन्दा वास्तविक स्थिति झनै दर्दनाक र कठिन रहेको बताइन् । प्रभावित क्षेत्रमा मेडिकल क्याम्प सञ्चालन तथा राहत वितरण गरी भर्खरै लन्डन फर्किएकी कँडेलले नेपालको पुनर्निर्माण र पुन:स्थापनामा सहयोग गर्न सबैलाई अपिल पनि गरिन् ।
एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जलवायु परिवर्तन नेपाल एक्लैले समाधान गर्न सक्ने मुद्दा नभएको बताउँदै अन्तरराष्ट्रिय समुदाय, विशेष गरी पश्चिमी देशहरूले हिमाली राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए । “हामीले स्थानीय काउन्सिल, स्थानीय सांसदहरु र बेलायत सरकारसम्म आफ्ना आवाजहरू पुर्याउनुपर्छ,” पुडासैनीले भने । उनले एनआरएनए युकेको बाढी राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद दिए ।
लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव संजोक राईले दीपप्रज्वलन कार्यक्रमको आयोजना गरी प्रवासमा रहेका नेपाली र नेपालका मित्रहरूलाई एकजुट बनाएकोमा आयोजकलाई धन्यवाद दिँदै दूतावासको तर्फबाट यस्ता सामाजिक कार्यहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
नेप्लिज ब्रिटिश कम्युनिटी युकेका अध्यक्ष समीरनाथ प्याकुरेलले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै ‘ग्लोबल वार्मिंग’ मा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनको ठूलो मार खेप्नुपरेको बताए । “नेपालमा भएको यो दुःखद घटना केवल नेपालको मात्र समस्या होइन, विश्वव्यापी चेतावनी हो,” उनले भने , “औद्योगिक देशहरूले गरेको उत्सर्जनका कारण हिमाली क्षेत्रका पग्लिँदै गएका ग्लेशियरहरूले तल्लो भूभागमा बसोबास गर्ने करोडौं जनताको जीवन र जीविका माथि गम्भीर जोखिम उत्पन्न भएको छ। त्यसैले हिमाली क्षेत्रको रक्षा गर्नु भनेको नेपाल र समग्र पृथ्वीकै रक्षा गर्नु हो।”
कार्यक्रममा धादिङ-नुवाकोट समाजका अध्यक्ष बुद्धि तामाङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, युवा प्रतिनिधि सुशान्त चुडाल, नेप्लिज नर्सेस एसोसिएसन युकेकी पूर्व अध्यक्ष सुनिता गौतम, व्यवसायीहरू उत्तम नेपाल, मनिषा डंगोल, राजु पाण्डे लगायत समुदायका अगुवाहरूले बाढीपीडितका लागि ऐक्यबद्धता र सहयोगको आह्वान गरेका थिए ।
नेप्लिज ब्रिटिश कम्युनिटी युकेका सचिव दामोदर आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतस्थित नेपाली समुदायले विपद्को यो घडीमा अल्पकालीन राहत र दीर्घकालीन पुनर्निर्माण दुवैमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।







