बेलायत – तमु समाज युकेले आफ्नो १९औं स्थापना दिवस तथा सम्मान कार्यक्रम शनिबार, ३ अक्टोबर २०२६ का दिन आफ्नै तमु समाज युकेको सामुदायिक भवन, लन्डनमा आयोजना गर्ने भएको छ।
“हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र “समुदायको सुदृढीकरणका लागि एकजुट” भन्ने मूल नारा बोकेको, सन् २००७ मा स्थापित भई स्थापनाको २० वर्षको यात्रामा रहेको यस संस्थाका महासचिव सुब घलेले यो जानकारी दिएका छन्।
उक्त स्थापना दिवसमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले स्थापनाकालदेखि वर्तमानसम्म संस्थाले खेलेको भूमिका र गतिविधिको बारेमा प्रस्तुति गर्नुहुनेछ भने समाजमा अनुकरणीय कार्य गरेका व्यक्तित्वहरू, शिक्षा क्षेत्रमा उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान र नयाँ आजीवन सदस्यहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।
यस विशेष उत्सव तथा स्थापना दिवसमा मनोरन्जनका लागि नेपालबाट पाल्नुहुने सुप्रसिद्ध लोक तथा दोहोरी गायिका एवं तमु कलाकार संघ नेपालकी निवर्तमान अध्यक्ष शर्मिला गुरुङ, प्रसिद्ध लोक तथा दोहोरी गायक श्री दुर्गा गुरुङ र नवप्रतिभाशाली लोक तथा दोहोरी गायिका शर्मिला गुरुङको विशेष सांगीतिक प्रस्तुति तथा उपस्थिति रहनेछ।






