तमुधिं युके, बेलायतमा सक्रिय नेपाली संघसंस्थाहरुमध्येको एक सामाजिक तथा परोपकारी संस्था हो । जसले आफ्नो भाषा, कला, संस्कृति संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तमुधिं युके नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिता, नेपाली मेला, गुरुङहरुको मौलिक पर्व ल्होछार, लाइफ मेम्बर डिनर नाइटलगायत थुप्रै कार्यक्रम गर्दै आएको छ । र, गत ३० डिसेम्बर २०१८ का दिन तमुधिं युकेले विविध कार्यक्रमका साथ ल्होछार कार्यक्रम आयोजना गरेको थियो । धार्मिक पूजापाठका साथ सम्पन्न कार्यक्रमका लागि नेपालका लोकप्रिय गायक टंक बुढाथोकी, गायक गोविन गुरुङ र गायिका अनु गुरुङलाई आमन्त्रण गरिएको थियो । गायक बुढाथोकी र गोविनले गत ३० डिसेम्बर २०१८ का दिन तमुधिं युकेद्वारा रेडिङ्गमा आयोजित ल्होछार कार्यक्रममा आ–आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् । त्यस्तै, गत ५ जनवरीका दिन लन्डनमा आयोजित सोंपाल समाज युकेको ल्होछार कार्यक्रम र गत १२ जनवरीका दिन तमुधिं युके लन्डन इकाईंले आयोजना गरेको ल्होछार कार्यक्रममा टंक, गोविन र अनु ले सांगीतिक प्रस्तुति दिए । तिनै चर्चित कलाकारहरुका बेलायत भ्रमणको अनुभव यसपटक मध्यान्तरमा ।
आमाबुवा, दाजुभाइ, दिदीबहिनीको अत्यन्तै माया पाएँ
गोविन गुरुङ, गायक
अत्यन्तै राम्रो लागिरहेको छ । तीन/चार वटा कार्यक्रम गरिसकेँ । यहाँ रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीको अत्यन्तै माया पाएको छु । एकदम खुसी लागेको छ । कलाकारलाई श्रोता/दर्शकले माया गर्ने त एउटै हो । तर, बेलायतमा नेपाली गीत, संगीतको बढी चाख भएको हुँदा नेपालमा भन्दा बढी माया गर्नु भा हो कि भन्ने फिल हुन्छ । अलि बढी नेपाली गीत, संगीतलाई माया गर्नुभएको हो कि भन्ने लाग्छ । नेपाल छोडेर आए त पनि हाम्रो भाषा, संस्कार, कला छोड्न नसक्नुभएरै उहाँहरुले माया गर्नु भएको हुनुपर्छ ।
म तमुधिं युकेको निमन्त्रणमा गत सन् २०१८ डिसेम्बर ३० को ल्होछार कार्यक्रमका लागि यहाँ आएको हुँ । त्यसपछि सोंपाल समाज युके, तमुधिं युके लन्डन इकाई लगायतका कार्यक्रममा सहभागी भएँ । २०१९ जनवरी १९ मा घोताने परिवार युकेको आयोजनामा हुने कार्यक्रममा सहभागी हुने छु । म बढी मात्रामा वियोगान्त आधुनिक गीत गाउन रुचाउँछु । यो माहोलमा त्यस्ता गीत गाउन उचित ठानिनँ । अलि फास्ट बिटको गीत प्रस्तुत गर्दै आएको छु । नाच्न मिल्ने गीत गाउँछु ।
यसअघि म सांगीतिक प्रस्तुतिका लागि हङकङ गएको थिएँ । त्यहाँ र यहाँ (बेलायत)मा दर्शक, श्रोताको माया उत्तिकै पाएँ । म २० जनवरीमा नेपाल फर्कंदै छु । सर्वप्रथम त तमुधिं युकेलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहरुकै पहलको कारण मलाई युके आउने अवसर मिल्यो । तमुधिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, वर्तमान अध्यक्ष नन्दजंग गुरुङ दाइलगायत सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिन चाहन्छु ।
कोल्मा बहाकोट समाज युकेका अध्यक्ष सुरेश तमु, मलाई यहाँसम्म ल्याउन अथक् प्रयास गर्नुहुने मेरो आदरणीय सोल्टी क्रिस गुरुङलाई विशेष धन्यवाद दिन चाहन्छु । यहाँ जति पनि कार्यक्रमहरु गरेँ, मेरा आफन्त, इष्टमित्रहरु सबैले माया गरिदिनुभयो । यहाँहरु सबैप्रति आभारी छु ।
एकदमै राम्रो वातावरण लाग्यो
टंक बुढाथोकी, गायक
सबैभन्दा पहिलो निमन्त्रणाको लागि तमुधिं युकेको टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । यो मेरो दोस्रो बेलायत भ्रमण र कार्यक्रमका लागि । पहिलेचोटी सयपत्री कल्चर गु्रपको निमन्त्रणामा ‘सयपत्री साँझ’का लागि आएको थिएँ । यसपालि यहाँ तीनवटा अफिसियल प्रोग्राम रह्यो । बीचमा भेटघाट, स्वागत, सम्मानमा व्यस्त भएँ । अघिल्लोचोटी आउँदा पनि एकदमै रमाइलो भएको थियो । तर, छोटो समयमात्रै बसेको थिएँ । हप्ता दिनमै फर्किहाँले । यसपटकचाहिँ १५ दिनको बसाइ । मलाई आशा पनि थियो तमुधिं टिमप्रति । उहाँहरुले कार्यक्रमको सेडुयल पनि दिनुभएको थियो । सोहीअनुसार कार्यक्रम पनि भयो । बसाइ पनि एकदमै रमाइलो । सबै दाइहरुले राम्रो रेस्पोन्स गर्नुभयो । घुमाउन पनि लग्नु भयो, डेभिड दाइले । अरुहरुसँग पनि भेटघाटको माहोल मिलाइदिनुभयो । यसचोटीको बसाइ अघिल्लोभन्दा धेरै रमाइलो ।
अरु राष्ट्रभन्दा युकेमा नेपाली कल्चर, गीत, संगीतको अवस्था फरक देखेँ । कारण मैले बुझ्दै गएँ किन यस्तो भयो ? जापान, दुबई, मलेसिया, कतारलगायत म गएजति अरु कन्ट्रिहरुमा त्यस्तो थिएन । युकेमा फ्यामिलीहरु बसेको पाएँ । दाइभाउजु, उहाँहरुका छोराछोरी, हजुरआमा, हजुरबुवा, सानासाना बच्चाबच्ची पनि । त्यसलाई हेर्दा नेपाली कल्चर बचाउनका लागि उहाँहरुले घरैदेखि सुरुआत गर्नु भा छ । साना बच्चाहरुलाई नेपाली बोल्न सिकाउने, मन्दिरमा पूजा गर्ने, घण्टी बजाउने, उस्तै परे आरती प्ले गर्ने, गाडीहरुमा नेपाली कलाकारकै गीत, संगीत बजाउने, घरमा टेलिभिजन, युट्युमा नेपाली गीत, संगीत, न्यूज नै बजेको देख्दा युकेमा एकदमै राम्रो वातावरण लाग्यो कलाकारका लागि । सम्मान पनि उत्तिकै पाएँ ।
बेलायतवासी नेपालीहरुलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु । किनभने नेपाली कला, संस्कृति, गीत, संगीतलाई यत्ति धेरै समय दिइराख्नु भएको रहेछ, बिजी सेड्युलमा पनि । हरेक कलाकारले गीत गाउँदा, नाच्दा टोपी लगाउने प्रचलन रहेछ । त्यो भनेको सपोर्ट हो । लाखौं, करोडौं होइन तर त्यो एकदम ठूलो सपोर्ट हो । आफूले काम गरेको, मेहनत गरेको फल पाएको फिल गराउने कल्चर छ, बेलायती नेपालीहरुको । एकदमै राम्रो लाग्यो । यसैगरी सबै कलाकारलाई माया गर्दै जानु होला भन्न चाहन्छु ।
बेलायत आइपुग्दा भाग्यमानी ठानेकी छु
अनु गुरुङ, गायिका

तमुधिं युकेले ३० डिसेम्बर २०१८ मा रिडिङमा आयोजना गरेको कार्यक्रममा आइपुग्नु पर्ने तर कारणवश अलि ढिला भएँ । म सन् २०१९ जनवरी ३ मा लन्डनको हिथ्रो इन्टरनेसनल एयरपोर्टमा ओर्लेकी हुँ । नेपालको क्राउडमा बसेर युकेको शान्त ठाउँमा आउँदा छुट्टै आनन्द फिल भएको छ । ३ तारिखमा आइपुगेपछि ४ सम्म रेस्ट गरेर ५ मा सोंपाल समाज युके र तमुधिं युके लन्डन इकाईको कार्यक्रममा सहभागी भएँ । अझै केही कार्यक्रम छन्, तिनमा पनि सहभागी हुन्छु । ३० तारिखको प्रोग्राम छुटे पनि म दुःखी छैन । म भाग्यमानी जस्तो लाग्छ । आइपुगेँ । जेहोस् खुसी छु ।
मैले नेपालमा रहँदा पनि नेपालीहरु र युकेमा आएर पनि नेपालीहरुसँग नै स्टेज लिने हो । उहाँहरुलाई नै पफमेन्स देखाउने हो । तर, कति भिन्न हुन्छ भने, नेपालमा चाहिँ एउटा गाउँमा गएर कार्यक्रम गर्नु र कुनै ठूलो महोत्सवमा, सहरमा गर्नु अलि फरक हुन्छ । विदेशमा रहेर आफ्नो संस्कार, संस्कृति, आफ्नोपनलाई बिर्सिनु भएको छैन । आफ्नो समयलाई म्यानेज गरेर । आफ्नो अफिस टाइम, फ्यामिलीलाई टाइम दिएर पनि अझै संघसंस्था खोलेर यसरी नेपालीको पहिचान जोगाइराख्नु भएकोले यहाँ अझ बढी माया भएको फिल हुन्छ । अलि बढी आकर्षित भएको जस्तो लाग्छ । कार्यक्रममा प्रस्तुति दिन नेपाल र बेलायतमा सहज नै हुन्छ । सबैजनाले फ्यामिलिएर भएर आफ्नो सम्झिनु हुन्छ र मैले पनि त्यस्तै वातावरण पाएँ । जस्तै, आफ्नै चेली हुँ, आफ्नै घरको सदस्य हुँ । ठाउँ फेरिए पनि दर्शक फेरिएन, आखिर नेपाली नै हौं ।
तमुधिं युकेको कारणले गर्दा आज म युकेमा छु । तमुधिंका अध्यक्ष, पूर्वअध्यक्षलगायत सबैजना समान हुनुहुन्छ मेरो हृदयमा । मिलन दाइले एभरेस्ट टाइम्समा स्थान दिनुभएको थियो, थ्यांक्यु सो मच । हित काजी दाइले बैठकमा मेरो नाम लिनुभयो । त्यसपछि तमुधिं युकेका सबैजनाले मलाई बेलायत ल्याउने विषय पास गर्नुभयो । मलाई युकेमा ल्याउन धेरै कष्ट गर्नुहुने सबैलाई थ्यांक्यु सो मच । आगामी कार्यक्रममा आइदिनु हुन मेरा आफन्त, मलाई माया गर्नुहुने दर्शकसहित सबैलाई भन्न चाहन्छु । तपाईंहरुको साथ, सहयोग र मायाको खाँचो छ । कोपिला नै छ अनु गुरुङ, अझै फुल्न चाहन्छु । भविष्यमा अभैm अनु गुरुङ भएर देखाउन प्रोत्साहन गर्ने जिम्मा तपाईंहरुको हातमा छ ।






