लन्डन । बेलायतको अल्डरशटमा तमू लम परिवार यूकेको प्रथम वार्षिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
अल्डरशटस्थित एम्पायर हलमा अक्टोबर १० मा आयोजित कार्यक्रममा परिवारका सदस्यबीच भेटघाट, भलाकुसारी, शुभकामना आदानप्रदान तथा सांगीतिक प्रस्तुति गरिएको थियो।
तमू लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, चेलीबेटी प्रमुख विनु गुरुङ र कार्यक्रम संयोजक क्या. सूर्यप्रकाश गुरुङलगायतले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा अध्यक्ष रामचन्द्र गुरुङले परिवारका सदस्यबीच भेटघाट गराउने, सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले दाजुभाइ, दिदीबहिनी तथा चेलीबेटीबीच आत्मीयता बढाउन र आपसी शुभकामना आदानप्रदान गर्न कार्यक्रमले सहयोग पुर्याएको उल्लेख गरे।
कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका लम परिवारका सदस्यलाई सम्मान गरिएको थियो। गायिका पवित्रा गुरुङ र प्रिया गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा सल्लाहकार एकेन्द्र गुरुङ, काउन्सिलर उत्तरबहादुर गुरुङ, तमू धीं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, तमू धीं यूके आमा समूहकी पूर्वअध्यक्ष पवित्रा गुरुङ, तमू धीं यूकेका सल्लाहकार दिलरास गुरुङ, तमू लम परिवारकी अगुवा एवं तमू धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङ, तमू धीं यूकेका महासचिव डा. विशाल गुरुङ र हेलिशा गुरुङलगायतको उपस्थिति थियो।
कार्यक्रममा तमू लम परिवार यूकेका आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, छोरीचेली, ज्वाइँ तथा छोराछोरीलगायत परिवारका सदस्यको सहभागिता रहेको थियो। औपचारिक कार्यक्रमको सञ्चालन तमू लम परिवार यूकेका महासचिव एसके गुरुङले गरेका थिए।







