चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा प्रहरी नागरिक साझेदारी संस्थामा संरक्षित ३० जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरी शैक्षिक सामग्री र प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत वितरण गरिएको छ ।
नेपाल प्रहरी स्थापनाको ७१ वर्ष पूरा भएको अवसरमा ७१ जनाबाट रक्तदान गराउने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, प्रहरी कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूले विद्यालय परिसरमै पुगेर रक्तदान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल रेडक्रस सोसाइटीका स्थानीय शाखासँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रहरी दिवसकै अवसरमा संरक्षित बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण र रगत परीक्षणसमेत गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
चितवन एभरेस्ट हस्पिटल र सगरमाथा ल्याबको सहकार्यमा बालबालिकाको सामान्य स्वास्थ्य जाँच गर्नुका साथै रगतका माध्यमबाट विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।
यसैगरी, विद्यालयले संरक्षित बालबालिकालाई विद्यालय जान आवश्यक पर्ने झोला र शैक्षिक सामग्री वितरण गरेको छ । यस वर्षको ७१ औं प्रहरी दिवस ‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।
कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, गोरेटो शैक्षिक परामर्श केन्द्र, रेडक्रसका स्थानीय शाखा तथा बालबालिकालाई प्राथमिक उपचारका लागि औषधि उपलब्ध गराउने आषिस मेडिकललगायत स्थानीय सामाजिक संघसंस्थालाई विद्यालयले सम्मानसमेत गरेको छ ।
विद्यालयमै विद्यार्थीलाई रक्तदानको महत्त्व र रगतबाट गरिने स्वास्थ्य परीक्षणबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समादेशक थापाले बताए ।
नेपाल पुलिस स्कुल चितवनमा अध्ययनरत करिब ७ सय विद्यार्थीलाई विद्यालयले विभिन्न समयमा वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सहयोगी भावनाको विकास, अनुशासन, स्वास्थ्य, शारीरिक तथा व्यक्तिगत सुरक्षासम्बन्धी प्रशिक्षणसमेत प्रदान गर्दै आएको छ ।









