काठमाडौं । ताम्सालिङ संयुक्त सङ्घर्ष समितिको संयोजकमा मिङमार तामाङ सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा शनिबार भएको सङ्घर्ष समितिको राष्ट्रिय भेलाले मिङ्मारलाई संयोजकमा चयन गरेको नेपाल तामाङ घेदुङका महासचिव लिलाबहादुर ग्लान तामाङले जानकारी दिएका छन् । भेलाले आगामी कार्यदिशा र योजनालाई अगाडि बढाउने निर्णय गरेको पूर्वसांसद सूर्यमान दोङ तामाङले बताए । उनले ताम्सालिङ पहिचान, अधिकार, स्वायत्तता र न्यायपूर्ण समाज निर्माणको आन्दोलनलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धतासहित सम्पन्न यस भेलाले नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास लिएको बताए ।






