तामाङ समाज यूएईद्वारा शिक्षा, विद्यालय र बाढीपीडितलाई आर्थिक सहयोग

SHARE:

काठमाडौं । तामाङ समाज यूएईले जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति, विभिन्न विद्यालयलाई शैक्षिक सहयोग तथा बाढीपीडितका लागि राहत रकम हस्तान्तरण गरेको छ।

समाजद्वारा आयोजित ‘शैक्षिक सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रम’ शनिबार, ३१ अक्टोबर २०२६ मा काठमाडौंस्थित नेपाल तामाङ घेदुङको संघीय कार्यालय, चुच्चेपाटीमा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका मन्त्री ज्ञानबहादुर तामाङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा समाजले तीन जना विद्यार्थीलाई जनही २० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। छात्रवृत्ति प्राप्त गर्नेमा धादिङको थाक्रे गाउँपालिका–३, अमर्खुस्थित अमर्खु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अन्जु तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ निवासी जल्पदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बिबिसा थिङ तामाङ तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासस्थित श्री सेतीदेवी माध्यमिक विद्यालयका निर्मान तामाङ रहेका छन्।

यसैगरी, ओखलढुंगाको श्री भगवती आधारभूत विद्यालयलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको छ। विद्यालयको तर्फबाट प्रतिनिधि सन्दिप ग्याबाले सहयोग ग्रहण गरेका थिए।

सिन्धुली मरिण गाउँपालिकाको नवज्योति आधारभूत विद्यालयलाई पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

त्यस्तै, यसअघि घोषणा गरिएको रौतहटको हिलेश्वर सामुदायिक आधारभूत विद्यालयलाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरिएको जनाइएको छ।

कार्यक्रममार्फत बाढीपीडितका लागि १ लाख २० हजार ५ सय ५ रुपैयाँ पनि हस्तान्तरण गरिएको छ। उक्त रकममध्ये १ लाख रुपैयाँ तामाङ समाज यूएईको र बाँकी रकम तामाङ समाज यूएई सम्पर्क समितिको सहयोगबाट संकलन भएको बताइएको छ। उक्त रकम नेपाल तामाङ घेदुङले सञ्चालन गरेको बाढीपीडित सहयोग अभियानमार्फत हस्तान्तरण गरिएको हो।

कार्यक्रममा पत्रकार वीरमान बल तामाङ र गायक तथा संगीतकार फूलकुमार बम्जन तामाङलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। उनीहरुलाई दुवैलाई २५ हजार रुपैयाँ, सम्मानपत्र र मायाको चिनोसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

तामाङ समाज यूएईका संस्थापक अध्यक्ष छात्र लामा, पूर्वअध्यक्ष महेश मोक्तन, डिल्लीराम तामाङ तथा पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा समाजले शिक्षा, सामाजिक सेवा तथा तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि सञ्चालन गर्दै आएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो।

प्रमुख अतिथि मन्त्री ज्ञानबहादुर तामाङले शिक्षा नै समाज रूपान्तरणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै शिक्षाको पहुँचबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक विकासका लागि तामाङ समाज यूएईले गर्दै आएको कार्य सराहनीय रहेको बताए। उनले तामाङ समुदायको पहिचान, भाषा र संस्कृति संरक्षणसँगै शिक्षा क्षेत्रमा समाजले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अभियानले निरन्तर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

आयोजकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, सहयोगी तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेको छ। ‘शिक्षाका लागि समाज, समाजका लागि हामी’ भन्ने अभियानका साथ तामाङ समाज यूएईले सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पत्रकार, कलाकार, समाजसेवी लगायतको बाक्लो उपस्थिति थियो ।

्

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!