बेलायत – ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले नेसनल लोटरीद्वारा ५ लाख पाउण्ड फण्ड प्राप्त गरेको उपलक्ष्यमा उत्सव मनाइएको छ।
आइतबार, १ नोभेम्बर २०२६ का दिन बेलायतको अल्डरसट सहरस्थित आफ्नै कार्यालयमा केक काटेर खुशीयाली मनाइएको हो । उक्त नेसनल लोटरी फण्डको बारेमा जिआरएनसीका अध्यक्ष लिला सेलिङ माबो र सिनियर प्रोजेक्ट म्यानेजर सुशीला थापा मगरले चौमासिक बैठकमा जानकारी दिएका थिए ।
बैठकमा संस्थाको प्रतिवेदन महासचिव सुनिल राना मगरले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिलन रोकाले प्रस्तुत गरेका थिए । संस्थाले सञ्चालन गरिरहेका तथा भविष्यमा सञ्चालन गरिने विभिन्न विषयहरूमा बैठकमा व्यापक छलफल भएको अध्यक्ष माबो बताएकी छन् ।
जिआरएनसीले यस वर्ष पनि रिमेम्बरेन्स सर्भिस आगामी शनिबार, ७ नोभेम्बर २०२६ का दिन प्रिन्सेस गार्डेनमा मनाउने तयारी गरेको छ। उक्त रिमेम्बरेन्स सर्भिसमा बेलायती सांसदहरू, नेपाल सरकारका प्रतिनिधिसभा सांसदहरू, रसमर बोरो काउन्सिलका मेयर, डेपुटी मेयर, काउन्सिलरहरू, बेलायतका लागि नेपाली कार्यवाहक राजदूत, सैनिक सहचारी, कर्नेल बिजी, अल्डरसट ग्यारिजन कमान्डर, जीएसएम, क्यूओजीएलआरका सीओ, गोर्खा मेजर, आरएसएम, भिसी कुलबीर थापा मगर र गजे घलेका परिवारजनलगायत बेलायतमा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
साथै बैठकमा कुकुर तिहार मनाउने, वेल्स्ली गार्डेन उद्घाटन, रसमर १० किलोमिटर रन, बाढीपीडित राहत, चिनारी पत्रिका, वार्षिक साधारणसभा, नेपाली कक्षा, नृत्य कक्षा, निर्वाचन समिति गठन लगायतका विषयहरूमा व्यापक छलफल भएको छ। कुकुर तिहारको दिन कुकुर तिहार मनाइनेछ भने वेल्स्ली गार्डेनको उद्घाटन १४ नोभेम्बरमा गरिने भएको छ।
त्यस्तै संस्थाको अधिवेशन (वार्षिक साधारणसभा) आगामी ५ डिसेम्बरमा एम्पायर हलको टप फ्लोरमा हुने भएको छ भने प्रि-एजीएम २८ नोभेम्बरमा जिआरएनसी कार्यालयमा बस्नेछ। निर्वाचन समितिको प्रमुख आयुक्तमा सल्लाहकार क्याप्टेन राजेन्द्र गुरुङलाई जिम्मेवारी सुम्पिएको छ भने सचिबमा सल्लाहकार प्रमिला लाबुङ राईलाई मनोनीत गरिएको छ।
जिआरएनसीका अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा सम्पन्न बैठकलाई महासचिव सुनिल राना मगरले सञ्चालन गरेका थिए । बैठकमा संस्थाका ट्रष्टी, पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारीलगायत कार्यसमितिको बाक्लो उपस्थिति रहेको थियो। अध्यक्ष माबोले उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरेकी छन् ।

















