लन्डन – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुख तथा सांसद मनीष झाले एनआरएन नागरिकता सम्बन्धी कानून छिट्टै बनाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
शनिबार सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) युकेद्वारा ‘इस्युज अफ नेपाली डायस्पोरा’ विषयमा प्लमस्टिडमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै सांसद झाले आफुले कानुन मंत्री सोविता गौतमसंग यस विषयमा छलफल गरेको र आगामी तीन महिना भित्रै एनआरएन नागरिकता सम्बन्धी कानून बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले वंशजको नेपाली नागरिकताको निरन्तरताको विषयमा पनि आफ्नो पार्टी प्रतिबद्ध रहेको तर सकभर एनआरएन नागरिकता सम्बन्धमा एउटै धारणा बनाएर आउन सुझाव पनि दिए। हाल बेलायतको भ्रमणमा रहेका सांसद झाले विभिन्न दलहरुले आश्वासन दिए पनि एनआरएन नागरिकता कार्यान्वयनमा आउन नसकेकाले आशंका बढेको बताउँदै यो विषयलाई समस्याको रुपमा नराखी चाडै टुंग्याउन सरकार प्रतिबद्ध रहेको जनाए। उनले नेपालको विकास र पुनर्निर्माणमा प्रवासी नेपालीको महत्वपूर्ण भूमिका रहने पनि जनाए।
अन्तरक्रियामा सामाजिक रेमिट्यान्स र सामाजिक वित्तको सम्भावनाबारे छलफल गरिनुका साथै परम्परागत आर्थिक रेमिट्यान्स भन्दा बाहिर गएर विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, सामाजिक सम्बन्ध तथा संस्थागत क्षमतालाई राष्ट्रिय विकासमा उपयोग गर्न सुझाव दिइएको थियो। त्यस्तै भारत, इजरायल, ताइवान, चीन, आयरल्याण्ड, अष्ट्रेलिया लगायतका मुलुकहरुको उदाहरण दिंदै नेपालले पनि डायस्पोरासंग सम्बन्धित अवसरहरुको प्रभावकारी उपयोग गर्नु पर्नेमा जोड दिइएको थियो।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्सका अध्यक्ष डा रामजी पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष डा बिदुर घिमिरेले सांसद झा लगायत सबै सहभागीहरुलाई स्वागत गर्दै संस्थाको गतिविधिबारे जानकारी गराएका थिए। अन्तरक्रियामा संस्थाका निवर्तमान अध्यक्ष गजेन कटुवाल, ड़ा हरिश ज्ञवाली, डा बिना पाण्डे, डा बिदुर घिमिरे, खगेन्द्र पाठक, भोज बराल, अर्जुन कटुवाल, पवन कडेल लगायतले तार्किक प्रश्नहरु गरेका थिए। छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै सांसद झाले प्रवासी नेपालीहरुसंग सम्बन्धित विषयमा नेपालका सम्बन्धित निकायहरुसंग निरन्तर संवाद गर्दै नीतिगत पैरवी गर्ने बताए । उनले पार्टी प्रवास विभाग प्रमुखको हैसियतले आफुले डायस्पोराको एड्भोकेसी गरिरहने प्रतिबध्दता पनि व्यक्त गरे।
संस्थाका अध्यक्ष डा रामजी पौडेलले छलफलको सार प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, अनुभव, सामाजिक सम्बन्ध तथा अन्तरराष्ट्रिय पहुँचलाई नेपालको दीर्घकालिन विकासमा जोड्नु पर्नेमा जोड दिएका थिए । उनले कार्यक्रमका सबै सहभागी तथा पाहुनाहरुलाई धन्यवाद पनि दिए।
कार्यक्रमको संचालन संस्थाका महासचिव पुष्प राज मोक्तानले गरेका थिए।






