८३ वर्षीय भूपूगोर्खा नेम्वाङ सम्झन्छन् – ‘पल्टन घरमा खुसी नै खुसी थियो’

SHARE:

आजभन्दा ८३ वर्षअघि पाँचथर जिल्लाको ईम्बुङ्गमा जन्मिएका कुवेर सिंह नेम्वाङ्ग पनि अरु भूतपूर्व गोर्खाजहरुजस्तै बेलायतमा बसोबास गर्छन् । सन् १९५४ सालमा ब्रिटिस गार्खा सैनिकमा भर्ती भएका नेम्वाङ्गले १९ वर्षको सेवापश्चात् स्टाफ सार्जन्टमा पेन्सन आए । ४० वर्ष पनि नपुग्दै युवावस्थामा पेन्सन आएका नेम्वाङ्गले गल्ला (भर्ती हुनेहरुलाई सुरुमा छान्ने) को ६ वर्षसम्म काम गरे ।

 

६ वर्षको गल्लावालको कामपश्चात् १/२ वर्ष घर बसाईपश्चात् फेरि वेलफेयर असिस्टेन्टको रुपमा गोर्खा वेलफेयर फिदिम, पाँचथरमा १० वर्षसम्म घर काम गरे । उमेरको हद्बन्दीका कारण ५६ वर्षको उमेरमा वेलफेयरबाट बिदा भए । तर, उनीमा अझै जोश र जाँगर ताजा नै थियो । उनलाई सहरी वातावरणले कति पनि छोएन । उनी गाउँमै फर्के, गाउँकै सेवामा समर्पित भए र गाउँको विकासमा एउटा इँट्टा थप्ने काम गरे ।

उनी भर्ती हुने रहरले ईम्बुङ्गबाट नजिकै रहेको भारतको दार्जलिङ्ग सहरमा पुगे । उनको शारीरिक बनोटबाट प्रभावित भएका गल्लाले उनलाई आवश्यक परीक्षा लिएपछि भर्ती गराए । उनी त्यो दिनलाई अहिले पनि स्मरण गर्दै भन्छन्, ‘दार्जलिङ्गबाट कोलकाता गइयो, कोलकाताबाट पानी जहाजमा मलेसिया पुगेर ९ महिनाको तालिम गरियो’ तालिमपश्चात् फेरि विभिन्न ट्रेडको तालिम गराएको स्मरण गर्दै आफू क्वीन्स गोर्खा सिग्नलमा परेको बताए ।
000
मलेसिया, हङकङ र युकेमा समेत ड्युटी परेको स्मरण गर्दै, ‘पल्टन घरमा १९ वर्ष कसरी बित्यो मलाई थाहा नै भएन’, बर्मासँगको लडाइँ भएको स्मरण गर्दै ‘म त्यो लडाइँमा फिल्डमा जान परेन’ । ‘असाध्यै राम्रोसँग बिताएँ’ भन्छन् । पेन्सन आउनु पर्दा दुःख लागेन ? भनी उनलाई सोध्दा भन्छन्, ‘घरमा श्रीमती, छोराछोरीलाई पनि समय दिनु पर्छ भन्ने लाग्यो र खुसीका साथ पेन्सन आएँ । पल्टन घरमा हुँदा सबभन्दा खुसीको क्षणबारे उनी भन्छन्, ‘खुसी नै खुसी थियो, त्यसमा पनि ४ वर्षसम्म जिटीआर, जिएमटीएसमा रहेर प्रशिक्षण गराउन पाउँदाको त्यो क्षण कहिल्यै पनि भुल्दिनँ ।’

सुरुमा मासिक ४० रुपैयाँ भारतीय रुपैयाँ तलब भएको स्मरण गर्दै भनी भन्छन्, ‘पेन्सन आउने बेलामा मासिक ५०० हङकङ डलर तलब थियो ।’ र, १९७३ मा पेन्सन आउँदा जम्मा मासिक ५० रुपैयाँ भारु पेन्सन भएको उनी त्यो दिन सम्झन्छन् । अहिले कति पेन्सन बुभ्mनु हुन्छ त भन्ने जिज्ञासामा उनी भन्छन्, ‘अहिले महिनाको नेपाली ६१/६२ हजार रुपैयाँ पाउँछु ।’ यो कसरी संभव भयो भनी सोध्दा थप्छन्, ‘यो पदमबहादुर गुरुङको कारणले पाएको हुँ, उनले आवाज उठाएपछि हाम्रो पेन्सन बढेको हो ।’ त्यो भन्दा पहिला तपाईलाई थोरै पेन्सन दिइरहेको छ भन्ने थाहा थियो कि थिएन भनी राखेको जिज्ञासामा उनी भन्छन्, ‘त्यो भन्दा पहिला मलाई केही थाहा थिएन, पदमबहादुरले नै आँखा खोलिदिएका हुन् ।’
000
पल्टन घरमा खुसीसाथ १९ वर्ष बिताएका नेम्वाङ्ग आर्मीबाट पेन्सन आएपछि ६ वर्षसम्म गल्लावालको काम गरे । भर्तीको पहिलो खुड्किला भनेकै गल्लावाल हो । गल्लाले पास दिएपछि मात्र यारोले छनौट गर्ने चलन थियो । अरु गल्लावालहरुझैं धरान क्याम्पले ताकिदिएको विभिन्न गाउँमा पुगेर युवाहरुको छनौट गरिएको उनी बताउँछन् । भर्ती हुन आउने युवाहरुले कोसेलीहरु कत्तिको ल्याउने गर्थे ? भनी उनलाई सोध्दा भने, ‘थुप्रैले ल्याउने गर्थे, तर मैले स्वीकार्ने थिइनँ, जोसँग भर्ती हुन सक्ने क्षमता देखिन्थ्यो, उसैलाई सिफारिस गरिन्थ्यो ।’ गल्लाले यारोको पास दिएन भनेर कुनै युवाहरुले असन्तुष्ट त व्यक्त गरेनन् ? मुसुक्क हाँस्दै, ‘मेरो पालोमा कसैले पनि विरोध जनाएनन्, किनभने मैले भर्ती हुन लायकका युवाहरुलाई मात्र छान्ने गर्थें, त्यसैले कसैको गुनासो आएको सुनिएन’ ।

६ वर्षसम्म सफलतापूर्वक गल्लावालको कार्यकाल पूरा गरी १/२ वर्ष घरायसी काममा व्यस्त भएका गल्लावाल नामले परिचित नेम्वाङ्गले आफ्नै गृहजिल्ला पाँचथरमा रहेको गोर्खा वेलफेयर सेन्टरमा वेलफेयर असिस्टेन्टको रुपमा लगातार १० वर्षसम्म काम गर्ने मौका पाए । अन्यन्त मिहेनती, इमान्दार र लगनशील नेम्वाङ्गले आफ्नो कार्यकाल सफलतापूर्वक बिताए । १० वर्षसम्म वेलफेयरमा काम गर्ने थोरै साथीहरु मात्र भएको उनको विश्वास छ ।
रिडेन्सी आएका पल्टने साथीहरुको आर्थिक अवस्था कस्तो छ ? उनीहरुलाई सहायताको खाँचो छ वा छैन ? उनीहरुको पारिवारिक अवस्थालाई बुझी वेलफेयर अफिसरलाई वास्तविकता जानकारी गराउने उनको मुख्य काम थियो । आफूले जानेबुझेसम्म जो असहाय छ, गरीब छ र जसलाई वास्तविक सहयोग चाहिने हो, त्यसलाई सहयोग गरिएको उनको भनाइ थियो । उनले थुप्रैजनाको पारिवारिक अवस्थाको रिपोर्ट गरिएको स्मरण गर्दै, ‘मैले कसैलाई काखा र कसैलाई पाखा लगाउने गरी कहिले पनि रिपोर्ट तयार पारिनँ । मैले वास्तविकतालाई बुझेर इमान्दारीताका साथ काम गरें’ । सहयोग पाउनु पर्ने व्यक्तिले सहयोग पाउँदा अत्यन्त खुसी हुने बताउने नेम्वाङ्गलाई तपाईले दिएको रिपोर्टबाट असन्तुष्टहरु पनि थिए होलान् नि ? भन्ने जिज्ञासामा, ‘मैले जानेबुझेअनुसार कुनै पनि साथीहरु असन्तुष्ट हुनुहुन्न, मैले वास्तविकतालाई केलाएर आफ्नो रिर्पोट तयार गर्ने थिएँ ।’ ‘यदि मैले गलत मानिसलाई सिफारिस गरिएको भए, सायद मैले लगातार १० वर्षसम्म काम गर्ने अवसर पाउने थिइनँ होला ।’

उमेरको हद्बन्दीका कारण उनले ५६ वर्षको उमेरमा वेलफेयर सेन्टरको काम छाड्न प¥यो । आफूसँग काम गर्ने जोश, जाँगर र विश्वास रहेकोले उनले आफूनो रिटायर्ड लाईफ समाजसेवामा बिताए । गाउँको विद्यालय भवन निर्माण, चर्पी जडान, खानेपानी विस्तारजस्ता सामाजिक काममा उनी व्यस्त रहे । गाउँको विकासमा आफू सरिक हुन पाउँदा अत्यन्त खुसी लागेको उनी बताउँछन् । पञ्चायतकालमा वडा सदस्य समेतको भूमिकामा रहेर थुप्रै सामाजिक काम गरेका नेम्वाङ्गले वेलफेयर सेन्टरको सहयोगमा २७ वटा खानेपानीको धारा, विद्यालय भवन निर्माण डेक्स वेन्च, घण्टी र चर्पीलगागत सामग्री उपलब्ध गराएको स्मरण गर्छन् ।

उनी आफ्नो परिवारका साथ गाउँको सेवामा समर्पित भइरहेको अवस्थामा भूतपूर्व गोर्खाहरुको हकअधिकारको बारेमा बेलायतमा बहस भइरहेको थियो । ‘कतिपय भूतपूर्व गोर्खाज्हरु बेलायत आइसकेका थिए । जेठो छोरा र छोरीज्वाइँहरु ब्रिटिस गोर्खामा कार्यरत भएकै कारण बेलायतमै थिए । सबै बेलायत छिरिरहेकोले आफूलाई पनि बेलायत आउन मन लाग्यो र सन् २००६ सालमा बेलायत आएँ ।’ उनी बेलायतको आवासीय भिसाका लागि आवश्यक कागजपत्र मिलाएपछि सपरिवार सन् २०१० देखि बेलायतमै बसोबास गर्दै आएका छन् ।

८३ बसन्त पारगरिसकेका नेम्वाङ्गसँग अझै पनि उत्तिकै जोस र जाँगर छ । अझै पनि उनलाई ब्लड प्रेसर र सुगरजस्ता रोगले छोएको छैन । मातृभूमि नेपालको असाध्यै याद आइरहने भए तापनि धेरैजसो आफ्ना सन्तान बेलायतमै रहेकाले पनि अहिले उनी बेलायतमै बस्न रुचाउँछन् । हाल उनी श्रीमती र छोरीहरुका साथ केन्टमा बसोबास गर्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!