आइतबार, २७ सेप्टेम्बर २०२६
“दि… अस्टिन स्टेसनमा नौ बजे है!” एकाबिहानै बालिका बहिनीको खरो मेसेज मोबाइलको स्क्रिनमा टल्किरहेको थियो।
बिनाकुनै औपचारिकता, बिनाकुनै सोधपुछ एक्कासि नौ बजे भेट्ने यो मेसेज अनुरोध हो कि आदेश? मैले जवाफ लेखेँ। उनले आफूजस्तै मुसुक्क मुस्कुराएको इमोजी पठाइन् र भनिन्, “सेवारो दि!” मैले पनि मायाको चिह्न (लभ साइन) भएको इमोजी पठाएर बाथरुम पसेँ। मन जितेर दिदीप्रति दर्शाएको अगाध प्रेमले व्यर्थै मन पग्लिहाल्यो।
मन पनि अचम्मको वस्तु, पग्लनु र जम्नुको सीमा नै नहुने! बेहिसाब बहकिने। अहो! ‘बहकिने मन’ भन्नेबित्तिकै एउटा कुरा याद आयो। ‘बहकिने मन’ नामको अद्भुत कार्यक्रम सञ्चालन गर्ने भाइको नाम मैले भुलेको होइन भने महावीर विश्वकर्मा हो जस्तो लाग्छ। अचानक त्यो कार्यक्रम रेडियोमा बज्न छाड्यो। पछि सुनेँ, भाइको सडक दुर्घटनामा परी दुःखद निधन भएछ। आजसम्म सम्झन्छु म त्यो कार्यक्रम र भाइलाई। महावीर भाइको जादुमय स्वरमा ‘बहकिने मन’ सुनेर बहकिनुको मजा नै बेग्लै हुन्थ्यो। मलाई असाध्यै मन पर्थ्यो त्यो कार्यक्रम।
जन्म र मृत्यु दुवै सत्य भए पनि स्वीकार गर्न धेरै गाह्रो हुने! मृत्युबाट भागेर जाने ठाउँ नभए पनि भागिरहनुपर्ने, कठै मान्छेको नियति!
हङकङमा स्थापित साहित्यिक ग्याङ्गको कुरा गर्दैछु। त्यो ग्याङ्गको म सबैभन्दा आज्ञाकारी वृद्ध बालक! साथीहरूले जे भन्यो त्यही मान्ने, जता जाऔँ भन्यो लुरुलुरु हिँड्ने। आज पनि हिँड्नु थियो, हिँडेँ। ‘गाँस छाड्नु, साथी नछाड्नु’ खोइ यो उखान कसले बनायो? त्यही उखानजस्तै ठ्याक्कै म अथवा हामी भएका छौँ। भेट भएपछि हामी हूल बाँधेर हिँडिरहन्छौँ, छुट्नै मन पर्दैन।
कार्यक्रम सकेर पनि छुट्ने मन नगर्ने साथी सुनिता गिरी, कार्यक्रम सक्नुअघि नै ब्याग भिरिसक्ने अरुणा शर्मा, हतार मात्र गरिरहने म र पूर्णिमाजी शाह, हामीलाई हेरेर हाँसिरहने सिला घमाल, जे गरे पनि हुन्छ भन्ने आज्ञाकारी जुनु राना र बालिका बान्तावा—हामी हाम्रो ग्याङ्गका मुख्य महिला पात्र हौँ। दाजुभाइहरूसँग त साहित्यिक विचारबाहेक अरू मिल्दै मिल्दैन।
उहाँहरूमा राजनीतिक विचार बढी हाबी हुन्छ। सदियौँदेखि चलिआएको पितृसत्तात्मकताले गाँजेको देश नेपालका साहित्यकार हामी जुनसुकै देश पुगे पनि अलिकति पुरुषप्रधानताको बाछिटा त मनमा टाँसिएकै हुन्छ। त्यो हुनु स्वाभाविक पनि हो। सदियौँदेखि चलिआएको चलन कपडामा लागेको मैलो हो र थोरै धुँदैमा जाने? समय लाग्छ नि!

नारी विचार नअटाउने पुरुष विचारलाई पनि सम्मान छ, पुरुष विचार नअटाउने नारी विचारलाई पनि सम्मानै छ। दुई भिन्न विचार अथवा विपरीत लिङ्गी मिलेर सृष्टिकालदेखि नै संसार चलाएकै छन्। कार्यक्रम सकेर एनआरएनएको कार्यक्रममा जानु छ, महासङ्घको बैठक छ अथवा जिल्लाको बैठक छ भन्ने कुराहरू पुरुष विचारमा आइरहँदा, “आज के तरकारी पकाउने होला? घरमा टमाटर छ कि छैन? निस्कने बेला फ्रिज हेर्न बिर्सेछु। अहो! भोलि काममा जानुपर्छ, आज सपिङ गर्न भ्याउने हो कि होइन?” जस्ता नारी विचार हाबी भइरहेका हुन्छन्!
खोइ कुन्नि किन? यस्ता विचार हामी चटपटे ग्याङ्गको मनमा मात्र आउँछन्। “आज प्रोग्राम सकेर चटपटे खान जाऊँ है!” भेट हुन नपाउँदै सल्लाह भइसकेको हुन्छ। “आज जिल्लावासीहरूको बैठक छ, त्यहाँ जाऊँ ल?” भन्ने सल्लाहचाहिँ कहिल्यै हुँदैन।
हुन पनि, सदियौँदेखि घरधन्दा र मरमसलाले मेमोरी फुल भइसकेको नारीमनमा राजनीतिक विचार अटाउने ठाउँ कहाँ हुन्छ र? आजको युगमा पनि यस्तो कुरा गर्ने हो? नारी–पुरुष एकै होइनन् र? लेख्दालेख्दै पाठकले सोध्ने यो प्रश्न म आफैँसँग सोधिसकेँ। तपाईंहरूको मनमा यो प्रश्न नउठ्ने त सवालै उठ्दैन नि, होइन र?
हो, हामी अचेल पढेलेखेका छौँ। साहित्य क्षेत्र, राजनीतिक क्षेत्रलगायत हरेक क्षेत्रमा हाम्रो उपस्थिति छ। तर हाम्रो धार बदलिएको छैन। हाम्रो मुटुभित्र चुलाचौकाले धड्कन छाडेको छैन।
अझै हाम्रो भाषामा, कवितामा तरकारीको बास्ना आउन छाडेको छैन। एकछिन बाहिर निस्कँदा पनि घरको चिन्ताले मन पिरोल्न छाडेको छैन। टमाटर, प्याज, लसुन, अदुवा, नुन, तेल र मरमसलाहरू दिमागमा घुम्न छाडेका छैनन्।
तत्कालीन समयमा बाजेहरू गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा बजैहरू घरधन्दा, वस्तुभाउ र पाहुनापात धानेर बसिरहेका थिए। अहिले श्रीमान्हरू ठूल्ठूला सङ्घसंस्था अथवा सरकार हाँकिरहेको समयमा पनि हामी टमाटर–प्याज किनिरहेका हुन्छौँ। देशका ठूल्ठूला नेता, मन्त्री आदिको नाम चर्चामा आउँदा उनीहरूका पछाडि रहेर साथ दिने श्रीमतीहरूको नाम खासै आउँदैन।
पञ्चायतकालमा बजैहरूको जीवन घरभित्रै थियो, घरभित्रै सकियो। बाजेहरू भने हप्तौँ, महिनौँ बाहिर बसेर घर फर्कंदा पनि कुनै प्रश्न सोधिँदैनथ्यो। मृत्युपश्चात् पनि उनीहरूको नाम समाजमा जिउँदै छ।
म उहिले “फलाना गाउँको फलाना प्रधानपञ्चको नातिनी हुँ” भन्दै हिँड्थेँ, तर “फलानी प्रधानपञ्चकी नातिनी” भनेर हिँड्ने अवसर पाइनँ।
मलाई सम्झना छ, भोट हाल्ने दिन बजैले बुहारीहरूलाई मेलोमेसो पठाएर विद्रोह गर्थिन्। भोट हाल्न जानै परे पनि बजै र आमा–काकीहरू सल्लाह गरेर अर्कैलाई भोट दिन्थे। बाजेले भोट जितेमा हरेक दिन घरमा पाहुना लाग्ने गर्थे। पाहुनापात बढी लाग्ने घरमा छोरीबुहारीलाई दुःख हुन्छ भनेर बाजेलाई भोटमा हराउने गोप्य राजनीति बजैको संयोजकत्वमा चल्थ्यो। बजैको यो गोप्य राजनीतिक सिद्धान्त आमाबाट सुन्थेँ।
यहीँबाट पत्ता लाग्छ, नारीहरूमा पनि राजनीतिक चेत त उहिलेदेखि नै रहेछ! तर पुरुषप्रधान समाजले सुगालाई “गोपीकृष्ण को हो?” भनेर रटाएजस्तो चुलाचौकाको कामबाहेक अरू केही रटाएन समाज र परिवारले।
अहिले समय बदलिएको छ। हरेक मानिसलाई स्वतन्त्र रूपमा जिउने अधिकार पनि छ। तर हामी नारीहरूको सोच बदलिएको छैन। त्यसैकारण नारीहरूको उपस्थिति पुरुषबराबर छैन र हुने पनि छैन। बजैलाई रोक्ने बाजेहरू, आमाहरूलाई रोक्ने बाबाहरू अथवा श्रीमतीलाई रोक्ने श्रीमान्हरूलाई मात्र पूर्ण दोष लगाउन मिल्दैन। अहिलेको समाजमा नारी अघि बढून् भनी समर्थन गर्ने पुरुषहरूको पनि कमी छैन। तर हामी नारीहरू नै अघि बढ्न चाहँदैनौँ!
चुलाचौकाको काम त हाम्रै हो भन्ने सोच संस्कारमै हाबी छ। ती परम्परालाई पूर्णरूपमा मनबाट हटाउन सकिन्न। सदनमा उभिएर बोलिरहँदा पनि “अहो! आज छोराछोरीले के खाए होलान्? स्कुल समयमा गए कि गएनन् होलान्?” भन्ने चिन्ता मनमा आइरहन्छ। यस्ता विचार आउँदा मन कमजोर हुन्छ, कवितामा भाव आउँदैन, भाषणमा दम हुँदैन अनि हामी समाजमा कमजोर ठहरिन्छौँ।
जे होस्, हामी कसरी आफूलाई बलियो बनाउने भन्ने सूत्र अझै पत्ता लगाउन सकेका छैनौँ अथवा समाजले नै निर्माण गर्न सकेको छैन या चाहेको छैन? थाहा छैन।
शृङ्खलाको कुरामा व्यर्थै बहकिएँ। अब मूल कुरा जोड्न चाहन्छु।
‘हङकङ साहित्यिक साझा शृङ्खला’ ले स्थापनाकालदेखि नै हरेक महिनाको अन्तिम आइतबारलाई साहित्यिक जमघटको ऐतिहासिक दिन बनाउँदै आइरहेको छ। सोही दिनलाई निरन्तरता दिन कतै टाढा जाने निर्णय अघिल्लो बैठकमा तय भएको थियो।
हरेक महिनाको अन्तिम आइतबार दसैँ आएजस्तो, तिहार आएजस्तो अथवा मेलोमेसो सकेर धान नाच्न बजार हिँडेजस्तो उल्लास र उमङ्गले मन नाच्न थाल्छ। मन ननाचेको दिन पनि भाइबहिनीहरूले “दि… कहाँ हो?” भन्दै मेसेज पठाइहाल्छन्। कुनै दिन फोन अफ गरेर सुतिदिन्छु! मेरो जिस्क्याउने वाक्य पूरा नहुँदै उनीहरू भन्छन्, “हामी घरमै आउँछौँ नि लिन!” यति भएपछि त लुरुलुरु हिँड्नुको विकल्प रह्यो त?
साहित्यकारहरूलाई छलफल र विचार–विमर्शको पनि उत्तिकै खाँचो हुन्छ, जुन काम ‘साझा शृङ्खला’ ले १२–१३ वर्षदेखि गर्दै आइरहेको छ। नयाँ लेखक तथा साहित्यकारहरूलाई अभिभावकत्व प्रदान गर्दै आएको उक्त शृङ्खलामा म पनि आबद्ध हुन पाउँदा अत्यन्तै कृतज्ञ छु।
बेलायतमा भौगोलिक दूरीका कारण एउटा कार्यक्रम गर्न पनि थुप्रै समय पर्खनुपर्थ्यो। हङकङ सानो भूगोल भएको ठाउँ भएकाले यहाँ भेटघाट र जमघट गर्न सजिलो छ। दुई–तीन घण्टाको कार्यक्रम त काम सकेर पनि भ्याइन्छ।
विदेशमा लेख्ने विषय र मन मात्र हुन्छ, समय हुँदैन। सपना देख्न पाइन्छ, तर पूरा गर्न सकिँदैन! समयको दासी हामी, उसैको दासतत्व स्वीकारेर उसकै पछि–पछि दगुरिरहन्छौँ।
पिँजडाको सुगालाई “गोपीकृष्ण को हो?” भनी एउटै प्रश्न बारम्बार रटाएजस्तो, ‘म व्यस्त छु’ भन्ने शब्द रट्दारट्दै रात पर्छ, दिन हुन्छ अनि फेरि रात पर्छ, दिन ढल्छ। तर लेख्न थालेको एउटा सिर्जना समयमा पूरा गर्न सकिँदैन। आधा–अधुरा सिर्जना सेभ गरेर राखेका फाइलहरू कम्प्युटरमै हराइजान्छन्। अक्षर बोल्न सक्ने भए भन्थे होलान्, “म यहाँ छु, मेरो उद्धार गर्नुस्!”
मेरो नयाँ उपन्यास ‘खाम्योक’ का तीन प्रति झोलामा हालेर निस्किएँ। खुब साहित्यकार पल्टेर झोलामा किताब बोकी हिँड्ने? भनेर गाली गर्ने पनि कोही छैनन्। कहाँ हिँड्न लागेको भनेर सोध्ने पनि कोही छैनन्। आज चाँडो घर आएर खाना बनाउनु भन्ने पनि कोही छैनन्। एक प्रकारले बिन्दास छ लाइफ हङकङमा। तर यो अस्थायी हो। आलु, टमाटर, प्याज आदि सोच्ने मन त संस्कारले भरिदिएको रगतमा छँदै छ।
हामी नाम्चुङ पुग्दा सहसंयोजक कवि रोशन यक्सो भाइ पनि आइसक्नुभएको रहेछ। राजकुमार राई दाइ र धर्म गुरुङ भाइ अगाडि नै नाम्चुङ पुगेर पर्खिरहनुभएको थियो। सिला घमाल, दाजु गुरुङ, बालिका र म सँगै थियौँ। पूर्णिमा मात्र आइपुग्न बाँकी थियो। सुनिता गिरी नेपालमा भएकाले उहाँको अभाव महसुस भइरहेको थियो।
केही क्षणको पर्खाइपछि पूर्णिमाजी आइपुग्नुभयो।
“धन्न बसको ढोका बन्द हुनुअघि आइपुग्नुभो!” हामीले जिस्क्याउँदै भन्यौँ।
त्यै त, एकजना बहिनीले “म पनि जान्छु दि” भनिन् र यत्रोबेर पर्खें। अन्त्यमा “नजाने भएँ दिदी, भ्याइनँ” भनिन्। अनि रिसाउँदै हतार–हतार दौडिएर आएको भन्दै बढेको सास नियन्त्रण गर्न लामो–लामो सास फेरिरहिन्।
कवि–समालोचक बज्र थुलुङजी पनि उतै आउने कुरा थियो। हामी ४५ मिनेटपछि अन्तिम बस स्टपमा ओर्लियौँ। फोटो पत्रकार जगत अम्बु दाइ र संयोजक जुनु राना अघिनै पुगेर पर्खिरहनुभएको थियो। साथमा अम्बु दाइका कान्छा छोरा पनि थिए, जो पछिल्लो पुस्ताका अत्यन्तै सक्रिय युवा हुन्।
एकदम सुन्दर र शान्त ठाउँ। पछाडि फेनलिङ क्षेत्रमा पर्ने केही अग्ला पहाड अनि पहाडको फेदमा थुप्रै अग्ला–होचा भवनहरू।
“कृष्ण लावती दाइ यहीँ त बस्नुहुन्छ,” बालिकाले भनिन्।
“ए, त्यही भएर दाइले आफ्नो सजिलोका लागि हामीलाई यहाँ बोलाउनुभएको?” मैले भनेँ।
“होइन दि, पुरानो गोर्खा मन्दिर भिजिट गर्दै आजको शृङ्खला मनाउनु भनेर बोलाउनुभएको हो दाइले,” उनले भनिन्।
हङकङ एउटा यस्तो सहर हो, जहाँ सानो भूगोलभित्र संसारकै तीव्र गति र आधुनिकता एकसाथ अटाएको छ। यही माटोमा हाम्रा पुर्खाले रगत–पसिना चुहाएका छन्। गोर्खालीहरूको नामले चिनिने एउटा ऐतिहासिक भूमि पनि हो हङकङ। हाम्रा तिनै वीर गोर्खाली पुर्खाहरूको योगदानले हामी आज यहाँ छौँ।
उचाइ र घनत्वको हिसाबले हेर्दा अग्ला–अग्ला गगनचुम्बी भवनहरू, चम्किला बत्तीहरू र अत्याधुनिक प्रविधिले भरिभराउ छ हङकङ। भिक्टोरिया हार्बर, स्काई टावर र आईएफसी टावरजस्ता कैयौँ अद्भुत गगनचुम्बी संरचनाहरू यहाँ छन्। हङकङको क्षेत्रफल सानो भए पनि यसको करिब ७० प्रतिशत भाग पहाड, जङ्गल, सामुद्रिक तट र राष्ट्रिय निकुञ्जहरूले ओगटेको छ।
सहरको कोलाहलबाट आधा घण्टामै शान्त हाइकिङ ट्रेल वा समुद्री तटमा पुग्न सक्नु यसको मुख्य विशेषता हो। लामो समयसम्म बेलायतले शासन गरेको देश भएकाले यसलाई पूर्वीय र पश्चिमी संस्कृतिको सङ्गम पनि मानिन्छ। परम्परागत चिनियाँ संस्कृति र आधुनिक पाश्चात्य जीवनशैलीको मिश्रणले यसलाई छुट्टै पहिचान दिलाएको छ।
यहाँ पुराना गुम्बा, परम्परागत चिया पसल र आधुनिक व्यापारिक भवनहरू सबै आफ्नै अस्तित्व बोकेर उभिएका छन्। तिनै पुराना मन्दिरहरूमध्ये ‘गोर्खा मन्दिर’ पनि एक हो।
सन् १९९७ जुलाई १ मा बेलायतले हङकङ छाडेको थियो। त्यसपछि गोर्खालीहरूका सम्पूर्ण ब्यारेक, क्याम्प आदि क्षेत्र चीन सरकारको अधीनमा आए। पुराना गोर्खा फेमिली क्वार्टर रहेका ठाउँहरूमा हङकङ सरकारले ठूल्ठूला भवन निर्माण गरेर कम आम्दानी भएका, अशक्त र साना बालबच्चा भएका परिवारलाई कम भाडामा बस्ने व्यवस्था गर्दै आएको छ।
तत्कालीन समयमा गोर्खा मन्दिर रहेको क्षेत्रलाई ‘बर्मा लाइन’ भनिन्थ्यो रे। यहाँ गोर्खाली पल्टनेहरूका परिवार बस्ने गरेको जानकारहरू बताउँछन्।
हामी पुग्दा त्यहाँ एकजना नेपाली दाइ मन्दिर सरसफाइ गरिरहनुभएको थियो। वरिपरि सफा गरिए पनि मुख्य मन्दिर रहेको तीनचुच्चे भवन भने जीर्ण हुँदै गइरहेको अवस्थामा थियो। पुरानो रङरोगन खुइलिएर कतै–कतै मात्र हरियो रङ देखिन्थ्यो। भित्रको भुइँ सफा थियो। उत्तर–पूर्वतिर तत्कालीन समयमा स्थापना गरिएको दुर्गामाताको पुरानो मूर्ति जस्ताको तस्तै थियो। बेलाबखत मानिस आएर पूजा गर्ने गरेको त्यहाँ रहेका धूपका टुक्राहरूले बताउँथे।
मन्दिरबाहिर तत्कालीन समयमा दसैँको नवमीमा माड काट्न प्रयोग हुने ठाउँ, मौलो आदि अझै थिए। मुख्य मन्दिरअगाडि अर्को टिनको छाना हालेर आउने–जानेलाई पूजा गर्न सजिलो होस् भनी छुट्टै सानो मन्दिर स्थापना गरिएको जस्तो देखिन्थ्यो। हामी पुग्दा त्यहाँ दुईजना महिलाहरू पूजा गर्दै थिए। पछि थाहा भयो, मुख्य मन्दिर रहेको भवन जीर्ण हुँदै गएकाले भित्र पूजा गर्न सुरक्षित नहुने देखेर बाहिर यो मन्दिर स्थापना गरिएको रहेछ।
मन्दिर रहेको उक्त स्थानमा उभिएर मैले थुप्रै आफन्तहरूलाई सम्झेँ, जसले तत्कालीन समयमा यहाँ परिवारसहित बस्न पाएका थिए, पूजा गर्न र दसैँ मनाउन पाएका थिए। छेमा काकीहरू ‘गेलिपुल्ली क्याम्प’ मा बसेको कुरा गर्नुहुन्थ्यो, जुन यहीँ नजिकै थियो। हङकङमा तीन वर्ष परिवारसँग बसेर फर्केका आफन्तहरूमार्फत ‘बर्मा लाइन’ को पनि खुब चर्चा सुनिन्थ्यो।
हामी त्यही ऐतिहासिक माटोमा गोर्खालीहरूको सम्झना गर्दै कविता वाचन गरिरहेका थियौँ।
पालैपालो केही थान कविता वाचन गरेपछि हामीले मन्दिर परिसर वरिपरि घुम्यौँ। मन्दिर र त्यसको संरक्षणबारे सरकार तथा स्थानीय समुदायबाट के–कस्ता पहल भइरहेका छन् भन्ने विषयमा आदरणीय समाजसेवी दाजु कृष्ण लावतीबाट केही जानकारीमूलक कुरा सुन्यौँ।
उहाँको भनाइअनुसार हाल त्यस मन्दिरलाई हिन्दु मन्दिर बनाउने हङकङवासी भारतीय समुदायको चाहना रहेछ। तर ऐतिहासिक हिसाबले यो मन्दिर गोर्खालीहरूको रहेको र भविष्यमा पनि गोर्खा मन्दिरकै रूपमा रहनुपर्छ भन्ने अडान नेपाली समुदायको रहेछ।
त्यही कारण पनि मन्दिरको मर्मतसम्भारमा ढिलासुस्ती भएको देखियो। अर्को समस्या भनेको, यहाँको सरकारले मन्दिर रहेको भवन पुरानो भएको र यसलाई मर्मत गर्न पनि सुरक्षाको हिसाबले उपयुक्त नरहेको प्रमाणित गरिदिएको रहेछ। त्यसैले लेबर डिपार्टमेन्टले रङरोगन तथा मर्मतको अनुमति नदिएको भन्ने कुरा पनि जानकारी पाइयो।
कृष्ण लावती दाइबाट सबै कुरा सुनिसकेपछि एकछिन हामी सबै स्तब्ध भयौँ। पुराना चिजहरू यसरी नै जीर्ण र लोप हुँदै जाने रहेछन्। संरक्षण गर्छु भन्दा पनि सरकारले अनुमति नदिने अवस्थामा पुगेको रहेछ पुरानो गोर्खा मन्दिर।
गोर्खाली भान्जाभान्जी यहाँ जन्मिएर आईडी पाई हङकङमा बसोबास गर्न थालेको पनि ३०–३१ वर्ष भइसकेको छ। सायद, अलि पहिल्यै यो मन्दिरको महत्त्व बुझेर स्याहारसुसार गरेको भए यति चाँडो जीर्ण हुने थिएन होला।
अघिल्लो पुस्ता बेलायततिर लाग्यो। हामी पछिल्लो पुस्ता जन्मको हिसाबले यहाँ बस्ने अधिकार पाएर यतैका बासिन्दा (सिभिलियन) भएर बस्यौँ।
पुर्खाले छाडेर गएका अथवा हामी हुर्किएका तिनै क्याम्प र मन्दिरहरू समेत बिर्सिएछौँ। गोर्खाली पहिचान बोकेर हिँड्यौँ र हिँडिरहेका छौँ, तर हाम्रो जन्मसँग जोडिएको अथवा हामीले तातेताते हिँड्न सिकेको घरआँगन नै भुलेछौँ। आफ्नै इतिहास बिर्सेर कमाएको पैसाले घरघडेरी त जोड्यौँ, तर बाबुबाजेको चिनो र उहाँहरूको इतिहास बचाउन सकेनौँ।
मन्दिर भ्रमण सकेर हामी पुनः बस स्टपमा ओर्लियौँ। त्यसपछि समाजसेवी तथा व्यवसायी दिदी माया राई र बज्र थुलुङजीको आग्रहमा किरात राई यायोक्खा हङकङको संयुक्त तीन चुला पूजामा सहभागी हुन भोकले कुईँ…कुईँ कराइरहेको पेट अठ्याउँदै यायोक्खाले किनेको जग्गा रहेको ठाउँ ताइतोङतिर लाग्यौँ।
किरात राईहरूको विशेष परिकार तीनपाने, सेलरोटी र वाचिप्पा (कुखुराको तिते) सम्झँदै हाम्रो यात्रा अघि बढ्यो।






