गुवाहाटी । पर्यावरणीय साहित्यका वर्तमान अवस्था, भविष्यका चुनौती र प्रकृति संरक्षणमा साहित्यको भूमिकाबारे विमर्श गर्दै गुवाहाटी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ।
नेपाली भाषा संस्कृति मञ्च (एनबीएसएम), गुवाहाटी र गुवाहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागको संयुक्त आयोजनामा २ नोभेम्बर २०२६ मा ‘पर्यावरणीय साहित्य : वर्तमान र भविष्यका सरोकार’ विषयक सङ्गोष्ठी भएको हो। कार्यक्रममा नेपाल पर्यासाहित्य प्रतिष्ठान, काठमाडौं तथा जनकवि केशरी धर्मराज थापा–सावित्री थापा प्रतिष्ठान, काठमाडौंले समेत सहकार्य गरेका थिए।
विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तन मानवजाति र पृथ्वीको अस्तित्वका लागि गम्भीर चुनौती बन्दै गएको सन्दर्भमा शिक्षा, विज्ञान, संस्कृति र साहित्यका माध्यमबाट पर्यावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले सङ्गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ। सङ्गोष्ठीमा अङ्ग्रेजी, असमिया र नेपालीलगायत विभिन्न भाषामा १६ वटा शोधपत्र प्रस्तुत गरिएका थिए। साथै, ‘पर्यावरणीय चेतना र प्रकृति संरक्षणमा साहित्यको भूमिका’ विषयमा परिसंवादसमेत आयोजना गरिएको थियो।
दुवै सत्रमा पर्यावरणीय साहित्यको अवधारणा, उद्देश्य, कार्यक्षेत्र र प्रकृति संरक्षणमा यसको भूमिकाबारे गहन छलफल भएको थियो। विशेषगरी प्रकृतिको वर्णन गर्नु र पर्यावरणीय साहित्य सिर्जना गर्नु एउटै कुरा हो वा होइन भन्ने विषयमा विमर्श गर्दै पर्यावरणीय साहित्यको विशिष्ट उद्देश्य, सामाजिक दायित्व र व्यावहारिक भूमिकामाथि विचार आदानप्रदान गरिएको थियो।
साहित्यलाई प्रकृतिको सौन्दर्य वर्णनमा मात्र सीमित नराखी पर्यावरणीय सङ्कटप्रति चेतना जगाउने, सामाजिक जिम्मेवारीबोध विकास गर्ने र प्रकृति संरक्षणका लागि प्रेरित गर्ने सशक्त माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
सङ्गोष्ठीको उद्घाटन समारोहमा पर्यावरणविद् प्राध्यापक हरिप्रसाद शर्मा, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त साहित्यकार डा. गोविन्दराज भट्टराई तथा प्राध्यापक दिलीप बराले प्रकृति र मानवजीवनबीचको अन्योन्याश्रित सम्बन्ध, परम्परागत ज्ञानमा निहित पर्यावरणीय चेतना तथा प्रकृति संरक्षणमा साहित्यको भूमिकाबारे विचार व्यक्त गरेका थिए।

तीन कृति विमोचन, डा. भट्टराईलाई सम्मान
सङ्गोष्ठीका अवसरमा तीनवटा साहित्यिक तथा प्राज्ञिक कृति विमोचन गरिएका थिए। डा. गोविन्दराज भट्टराईको करिब ९०० पृष्ठको नियात्राकृति ‘शिलाङ, तेजपुर, गुवाहाटी’ (२०२६), पेशल कुमार लुइँटेलद्वारा अङ्ग्रेजी भाषामा लेखिएको पर्यावरणीय साहित्यसम्बन्धी कृति ‘Waiting for a Waterfall’ तथा भट्टराईको अनुवाद अध्ययनसम्बन्धी कृति ‘An Introduction to Translation Studies’ को ज्ञानबहादुर क्षेत्रीद्वारा असमिया भाषामा अनूदित ‘अनुवाद अध्ययन परिचायिका’ (२०२६) विमोचन गरिएको थियो। विभिन्न भाषा र साहित्यबीचको अन्तरसम्बन्ध तथा ज्ञानको आदानप्रदानलाई प्रवर्द्धन गर्न यी प्रकाशनले योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यसै अवसरमा भारत तथा असमका साहित्यकारलाई निरन्तर प्रेरणा, मार्गदर्शन र अभिभावकीय सहयोग प्रदान गर्दै आएका डा. गोविन्दराज भट्टराईलाई नेपाली भाषा संस्कृति मञ्चले ‘नेपाली साहित्यका प्रज्ञापुरुष’ उपाधिबाट सम्मान गरेको थियो। नेपाली भाषा तथा साहित्यका क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।
जनकवि धर्मराज थापाको वृत्तचित्र प्रदर्शन
कार्यक्रमको अर्को महत्त्वपूर्ण चरणमा जनकवि केशरी धर्मराज थापा–सावित्री थापा प्रतिष्ठान, काठमाडौंका तर्फबाट मूर्धन्य लोकगायक जनकवि केशरी धर्मराज थापाको जीवन, व्यक्तित्व र कृतित्वसम्बन्धी वृत्तचित्र प्रदर्शन तथा व्याख्यान प्रस्तुत गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र मन्टु थापाले उक्त प्रस्तुति दिएका थिए। नेपाली भाषा संस्कृति मञ्चका कार्यकारी उपाध्यक्ष तथा असमका साहित्यकार पुरुषोत्तम उपाध्याय दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले नेपाली लोकसाहित्य, संस्कृति र सांस्कृतिक परम्पराको संरक्षण तथा नयाँ पुस्तामाझ तिनको परिचय विस्तार गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको थियो।

पर्यावरणीय चेतनामा साहित्यको भूमिका विषयक परिसंवाद
साहित्यकार रुद्र बरालको सभापतित्वमा आयोजित ‘The Role of Literature in Environmental Awareness and Nature Conservation’ अर्थात् ‘पर्यावरणीय चेतना र प्रकृति संरक्षणमा साहित्यको भूमिका’ विषयक परिसंवाद डा. देवेन सापकोटाले सञ्चालन गरेका थिए। परिसंवादमा डा. गोविन्दराज भट्टराई, विजय हितान, नवीन पौड्याल, डा. सुकराज दियाली, डा. दिलीप छेत्री, पुष्पधर शर्मा तथा नैना अधिकारीले आ–आफ्ना विचार, अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए।
वक्ताहरूले साहित्य र पर्यावरणबीचको अन्तर्सम्बन्ध, प्रकृतिप्रतिको मानवीय दायित्व तथा पर्यावरण संरक्षणमा साहित्यको चेतनामूलक भूमिकाबारे चर्चा गरेका थिए। उनीहरूले पर्या–साहित्यको अवधारणालाई थप व्यापक र सार्थक बनाउन साहित्यिक सिर्जना तथा सामाजिक अभियानबीच सहकार्य आवश्यक रहेको औँल्याएका थिए।

नेपाल र भारतका साहित्यकार तथा अनुसन्धानकर्ताको सहभागिता
सङ्गोष्ठीमा नेपालबाट १५ जना तथा भारतका विभिन्न प्रान्तबाट करिब १० जना साहित्यकार, शोधकर्ता र प्रतिनिधिसहित विश्वविद्यालयका करिब ५० जना विद्यार्थी तथा प्राध्यापकको सहभागिता रहेको थियो। असमका पर्यावरण, भाषा, साहित्य र संस्कृतिमा रुचि राख्ने विभिन्न संस्था तथा सङ्गठनसँग आबद्ध व्यक्तिहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
कार्बी आङ्लङबाट ईश्वर नेपालको नेतृत्वमा आठ सदस्यीय टोलीले सहभागिता जनाएको थियो। त्यसैगरी, सिलगढीबाट डा. सुकराज दियालीको नेतृत्वमा सात सदस्यीय टोली आएको थियो। उक्त टोलीमा देविका सुब्बा, मैतराज राणा, रिना राई, कृष्ण बा ठटाल, सरिता सिन्चुरी र बबिता दियाली सहभागी थिए। डा. दियालीले परिसंवादमा भाग लिएका थिए भने देविका सुब्बाले कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
दार्जिलिङबाट डा. राजकुमार छेत्री र नवीन पौड्यालको पनि उपस्थिति रहेको थियो। नेपाल र भारतका विभिन्न क्षेत्र तथा हैदराबादबाट आएका प्राज्ञिक व्यक्तित्व, साहित्यकार र अनुसन्धानकर्ताको सहभागिताले पर्यावरणीय साहित्यका विषयमा अन्तरदेशीय संवाद, अनुभव आदानप्रदान र सहकार्यको अवसर सिर्जना गरेको थियो।

सङ्गोष्ठीको तयारीदेखि विभिन्न चरणमा जिम्मेवारी निर्वाह गर्ने तथा आवश्यक समन्वय र सहयोग पुर्याउने अनेकौँ विद्वान्, साहित्यकार र शुभेच्छुकहरूको योगदान रहेको थियो। विशेषगरी प्राध्यापक दिलीप कलिता, प्राध्यापक जयन्तकृष्ण शर्मा तथा साहित्यकार ज्ञानबहादुर क्षेत्री र पुष्पधर शर्माले आ–आफ्नो क्षेत्रबाट पुर्याएको सक्रिय सहकार्य र सहयोगले सङ्गोष्ठी सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
सङ्गोष्ठी सम्पन्न भएपछि डा. कमल छेत्री र कृष्ण छेत्रीले अतिथिहरूको सम्मानमा गुवाहाटीस्थित नेपाली मन्दिर परिसरको होटल सागर रत्नमा रात्रिभोज आयोजना गरेका थिए। रात्रिभोजमा सहभागी अतिथिहरूबीच आत्मीय भेटघाट तथा विचार आदानप्रदान भएको थियो।
सङ्गोष्ठीका प्राज्ञिक संयोजक डा. खगेन शर्माले विभिन्न संस्था, सङ्गठन, विद्वान्, साहित्यकार तथा सहभागीहरूको सहयोग र सहकार्यका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। उनले सहआयोजक तथा सहयोगी संस्था, विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापक, अतिथि, कार्यपत्र प्रस्तुतकर्ता, व्यवस्थापनमा संलग्न व्यक्ति र सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे।
उनले प्राज्ञिक तथा साहित्यिक सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै पर्यावरणीय चेतना अभिवृद्धिका लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

सङ्गोष्ठीमा प्रस्तुत शोधपत्रहरू केही महिनाभित्रै डा. खगेन शर्माको सम्पादनमा कार्यवाही ग्रन्थ (Proceedings) अथवा ISBN सहितको पुस्तकका रूपमा प्रकाशित गरिने घोषणा गरिएको थियो। उक्त ग्रन्थले पर्यावरणीय साहित्यसम्बन्धी सैद्धान्तिक विमर्श, अनुसन्धानका निष्कर्ष तथा प्रकृति संरक्षणमा साहित्यको भूमिकासम्बन्धी विचारलाई अभिलेखीकरण गर्दै भावी अनुसन्धानकर्ताका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सङ्गोष्ठीको निष्कर्षमा साहित्यका माध्यमबाट पर्यावरणीय चेतना र जनजागरण अभिवृद्धि गर्ने तथा प्रकृति संरक्षणलाई साझा सामाजिक दायित्वका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाज, नागरिक तथा साहित्यिक र सांस्कृतिक संस्थाहरूको साझा दायित्व भएको निष्कर्ष निकाल्दै साहित्यिक सिर्जना, अनुसन्धान, शैक्षिक विमर्श र सामाजिक अभियानबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।
समग्रमा, यस अन्तर्राष्ट्रिय सङ्गोष्ठीले विभिन्न भाषा, संस्कृति र देशका साहित्यिक तथा प्राज्ञिक समुदायलाई एउटै साझा उद्देश्यमा जोड्दै पर्यावरणीय साहित्यका सैद्धान्तिक र व्यावहारिक पक्षमाथि विमर्श गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। साहित्यलाई पर्यावरणीय चेतना, सामाजिक उत्तरदायित्व र प्रकृति संरक्षणको सशक्त माध्यम बनाउने दिशामा कार्यक्रमले योगदान पुर्याएको आयोजकको निष्कर्ष छ।











