
वेम्ब्ली, लन्डन। तमु समाज यूकेले नेपाली मेला, “मर्कली चलचित्र” प्रदर्शन तथा समाजको १९औँ वार्षिकोत्सवको समीक्षा गर्दै आगामी ल्होछारसहित विभिन्न कार्यक्रमको तयारीबारे महत्त्वपूर्ण निर्णय गरेको छ। समाजकी अध्यक्ष बिन्दु कुमारी घले गुरुङको अध्यक्षतामा ३१ अक्टोबर २०२६, शनिबार वेम्ब्लीस्थित बारहम पार्कमा रहेको समाजको सामुदायिक भवनमा बैठक सम्पन्न भएको हो।बैठकमा समाजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, निवर्तमान अध्यक्ष, आमा समूहकी अध्यक्ष, सल्लाहकारहरू, आजीवन सदस्यहरू तथा आमा समूहका आमा–दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।
दिउँसो १:४५ बजे सुरु भएको बैठकमा महासचिव शुभ घलेले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराउनुभयो। उहाँले विभिन्न कारणले बैठकमा उपस्थित हुन नसक्ने कार्यसमिति सदस्यहरूबाट प्राप्त अनुपस्थितिको जानकारीसमेत प्रस्तुत गर्नुभयो। त्यसपछि अघिल्लो बैठकको कार्यवृत्त समीक्षा गर्दै निर्धारित कार्यसूचीअनुसार छलफल अघि बढाइएको थियो।
आर्थिक विवरण तथा बाढीपीडित राहत सहयोग
बैठकमा कोषाध्यक्ष चन्द्रकान्त गुरुङले नेपाली मेला, ‘मर्कली चलचित्र प्रदर्शन र समाजको १९औँ वार्षिकोत्सवको आय–व्यय विवरणका साथै समाजको हालको मौज्दातबारे जानकारी गराउनुभयो।
यसै क्रममा नेपालको रसुवा–भोटेकोशी क्षेत्रका बाढीपीडितको सहयोगार्थ समाजमार्फत सङ्कलित रु. २५,०१,१०० (पच्चीस लाख एक हजार एक सय रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको तथा उक्त रकमको साङ्केतिक चेक हस्तान्तरण गरिएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो। प्रतिवेदनअनुसार पूर्व आमा समूह अध्यक्ष माया गुरुङको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधिमण्डलले उक्त साङ्केतिक चेक माननीय गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेको थियो।

रिमेम्बरन्स डे, देउसी–भैलो तथा ल्होछार पूजा
बैठकले आगामी ८ नोभेम्बर २०२६, आइतबार ब्रेन्ट काउन्सिलद्वारा वेम्ब्लीको बारहम पार्कस्थित क्विन एलिजाबेथ गार्डेनमा आयोजना गरिने रिमेम्बरन्स डे परेडमा समाजको सहभागिता जनाउने निर्णय गरेको छ। सोही दिन समाजले ब्रेन्ट काउन्सिलका विशिष्ट अतिथिहरूको उपस्थितिमा “करी लन्च” समेत आयोजना गर्नेछ।
त्यसैगरी, १४ नोभेम्बर २०२६ मा समाजको सामुदायिक भवनमा भेला भई तिहार देउसी–भैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।
२७ डिसेम्बर २०२६, आइतबार सामूहिक ग्रहशान्ति तथा ल्होछार पूजा आयोजना गरिनेछ। पूजाका धार्मिक कार्य तथा धर्मगुरुहरूको व्यवस्थापनको संयोजन हरिमान गुरुङले गर्नुहुनेछ भने भोजन व्यवस्थापनको जिम्मेवारी आमा समूहले सम्हाल्नेछ। समाजले सम्पूर्ण आजीवन सदस्य तथा शुभचिन्तकहरूलाई उक्त पूजामा सहभागी हुन आग्रह गरेको छ।
ल्होछारको मुख्य समारोह २ जनवरीमा
तमु जातिको महान् पर्व ल्होछारको अवसरमा तमु समाज यूकेले २ जनवरी २०२७, शनिबार ह्यारो लेजर सेन्टर (Harrow Leisure Centre) मा विशेष समारोह आयोजना गर्ने भएको छ। कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष केदारबहादुर गुरुङले गर्नुहुनेछ। कार्यक्रममा नेपालका दुई जना राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिनुहुनेछ।
मौलिक पहिचान र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गुरुङ सांस्कृतिक पोसाकमा उपस्थित महिला तथा पुरुषमध्ये उत्कृष्ट एक–एक जनालाई पुरस्कृत गरिनेछ। समाजले सहभागी सबैलाई सम्भव भएसम्म आफ्नो सांस्कृतिक पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। कार्यक्रममा विभिन्न आकर्षक उपहारसहितको राफल ड्रसमेत सञ्चालन गरिनेछ। साथै, युवा समूहले साना नानीबाबुहरूका लागि ल्होछारको उपहारस्वरूप “गिफ्ट ह्याम्पर” को व्यवस्था गर्ने भएको छ।
प्रमुख तथा विशेष अतिथिहरूको नामावली तय भइसकेको र उहाँहरूको उपस्थिति निश्चित भएपछि उक्त नामावली सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने जानकारी बैठकमा दिइएको थियो।
विगत दुई वर्ष आजीवन सदस्यहरूलाई भाइबर तथा इमेलमार्फत ल्होछार शुभकामना ई–कार्ड पठाइएकोमा यस वर्ष शुभकामना कार्ड र निमन्त्रणापत्र हुलाकमार्फत पठाइने भएको छ। यसका लागि ठेगाना परिवर्तन भएका आजीवन सदस्यहरूलाई यथाशीघ्र महासचिव वा कार्यसमितिमार्फत आफ्नो नयाँ ठेगाना अद्यावधिक गराउन अनुरोध गरिएको छ।
कार्यक्रमको प्रवेश शुल्क प्रतिव्यक्ति £३० र पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि £१५ कायम गरिएको छ। यस वर्ष समाजको आजीवन सदस्यता लिनुभएका नयाँ सदस्यहरूका लागि निःशुल्क प्रवेशको सुविधा रहनेछ।
ल्होछार विशेष भोजको व्यवस्थापन दरबार रेस्टुरेन्टका सञ्चालक तथा समाजका सक्रिय सदस्य धन बहादुर गुरुङले गर्नुहुनेछ। पेय पदार्थ, डिजे तथा साउन्ड सिस्टम व्यवस्थापनको जिम्मेवारी युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङलाई दिइएको छ।
कार्यक्रमको खर्च व्यवस्थापनमा सहयोग पुर्याउन समाजले आजीवन सदस्य तथा शुभचिन्तकहरूलाई प्रायोजनका लागि आह्वान गरेको छ। ल्होछारको अन्तिम तयारी बैठक ५ डिसेम्बर २०२६ मा बस्ने निर्णयसमेत गरिएको छ।
त्रैवार्षिक मुखपत्र “सली ट (सुनाखरी) विमोचन गरिने
समाजको त्रैवार्षिक मुखपत्र “ सली ट ” (सुनाखरी) आगामी ल्होछार समारोहमा विमोचन गरिने भएको छ। पत्रिकाका लागि लेख, कविता, मुक्तक, गीतलगायतका रचनाहरू १५ नोभेम्बर २०२६ भित्र पत्रिका संयोजक नारायणसिंह गुरुङलाई उपलब्ध गराउन लेखक तथा साहित्यप्रेमीहरूलाई अनुरोध गरिएको छ।
त्यसैगरी, शुभकामना सन्देश तथा विज्ञापन प्रकाशन गर्न इच्छुक महानुभावहरूलाई आवश्यक विवरण र तस्बिरसहित संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङसँग सम्पर्क गर्न आह्वान गरिएको छ।
सहयोगीहरूप्रति आभार
बैठकको अन्त्यमा अध्यक्ष बिन्दु कुमारी घले गुरुङले समाजका विगतका कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावप्रति धन्यवाद व्यक्त गर्नुभयो।






