लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले बेलायतको अल्डरसटमा पहिलोपटक नेपाली मौलिक पर्व कुकुर तिहार भव्य रूपमा मनाएको छ।
शनिबार ७ नोभेम्बर २०२६ मा आयोजित कार्यक्रममा नेपाली संस्कृति र परम्पराअनुसार कुकुरलाई माला र टीका लगाएर सम्मान गरिएको थियो। नेपाली संस्कृतिमा कुकुरलाई माया, विश्वास, इमानदारी र मित्रताको प्रतीकका रूपमा लिने गरिन्छ। कुकुर तिहारका दिन कुकुरलाई माला र टीका लगाएर पूजा गर्ने परम्परा छ।
कार्यक्रमको औपचारिक उद्घाटन बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले कुकुरलाई माला लगाइदिएर गरेका थिए ।
कार्यक्रममा फर्नबरो तथा अल्डरसटका सांसद एलेक्स बेकर, रश्मोर बरो काउन्सिलका मेयर पिटर कलम, उपमेयर जिब बेल्वासे, काउन्सिलका नेता ग्यारेथ विलियम्स, उपनेता सोफी पोर्टर तथा काउन्सिलर धनबहादुर सार्कीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
स्थानीय बेलायती बासिन्दाहरूको समेत उत्साहजनक सहभागिता रहेको कार्यक्रममा उनीहरूले कुकुरलाई टीका र माला लगाइदिँदै नेपाली संस्कृति र परम्पराको अनुभव गरेका थिए। जीआरएनसी अध्यक्ष लिला सेलिङ माबोले कार्यक्रममा सहभागी विशिष्ट अतिथि, पण्डित गुरुहरू, स्थानीय बासिन्दा तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेकी छन् ।
कार्यक्रम सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने सिनियर प्रोजेक्ट म्यानेजर सुशीला थापा मगर, सहायक परियोजना व्यवस्थापक सञ्जय राई, सिमा श्रेष्ठ, ज्ञान गुरुङ तथा जीआरएनसीको सम्पूर्ण टोलीलाई उनले विशेष धन्यवाद दिएकी छन् ।
त्यस्तै, स्ट्रीट सोल, चेलीबेटी क्लब तथा रश्मोर बरो काउन्सिलले पुर्याएको सहयोगप्रति पनि संस्थाले आभार व्यक्त गरेको छ। कार्यक्रमका क्षणहरू तस्बिरमा कैद गरिदिने इयान र मिलन तामुलाई समेत धन्यवाद दिइएको छ।
नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानलाई बेलायतको स्थानीय समुदायमाझ परिचित गराउन पाउँदा खुसी र गर्व लागेको अध्यक्ष माबोले बताएकी छन् । विभिन्न भाषा, संस्कृति र पृष्ठभूमिका मानिसहरू एकै ठाउँमा भेला भई एकअर्काको संस्कृति बुझ्ने, सिक्ने र सम्मान गर्ने अवसर प्रदान गर्ने बेलायतको बहुसांस्कृतिक समाज प्रशंसनीय रहेको उनको भनाइ छ।
जीआरएनसीले पहिलोपटक आयोजना गरेको कुकुर तिहार कार्यक्रमलाई नेपाली संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।















