भरतकुमार श्रेष्ठ ‘विवश’
कोभेन्ट्री, बेलायत – सनिबार ७ नोभेम्बर २०२६ क दिन विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम), मिडल्यान्ड शाखा बेलायतको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती कार्यक्रम बेलायतको कोभेन्ट्रीमा भव्य, सभ्य एवं काव्यमय वातावरणमा सम्पन्न भएको छ।
शाखा अध्यक्ष श्री भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मिडल्यान्ड क्षेत्रका ज्येष्ठ नागरिक (बुबाआमाहरू) प्रमुख अतिथि रहनुभएको थियो भने विभिन्न सङ्घसंस्थाका पदाधिकारी तथा साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
महासङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’ तथा प्रमुख अतिथि बुबाआमाहरूको संयुक्त हातबाट दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। नेपाल र बेलायतको राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै देश र लोकतन्त्रका लागि प्राण आहुति दिने ज्ञात-अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रम सञ्चालन महासङ्घकी सक्रिय सदस्य श्रीमती सीता पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा श्री शशाङ्क शर्मा – महासचिव, शान्ति समाज बेलायत, श्री निसेन्टमान ब्रह्मचारी – अध्यक्ष, पशुपति गुठी मिडल्यान्ड बेलायत, श्री साजन डङ्गोल – दुईवटा गिनिज वर्ल्ड रेकर्ड धनी एवं सगरमाथा आरोही, श्री रमेश कँडेल – अध्यक्ष, कोभेन्ट्री नेपाली समाज, श्री सन्तोष रेग्मी – निवर्तमान अध्यक्ष, कोभेन्ट्री नेपाली समाज, श्री सुवासचन्द्र अधिकारी – महासचिव, कोभेन्ट्री नेपाली समाज, श्री गोविन्द सापकोटा – अध्यक्ष, कोभेन्ट्री नेपाली लायन्स क्लब लगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
महासङ्घकी सदस्य श्रीमती ज्ञानु दाहालले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
महासङ्घका सचिव एवं प्राज्ञिक व्यक्तित्व डा. प्रदीप लामिछानेले महाकवि देवकोटाको जीवनयात्रा, व्यक्तित्व तथा नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानबारे विस्तृत प्रकाश पार्नुभयो। उहाँले आफ्ना मर्मस्पर्शी कवितासमेत वाचन गर्नुभएको थियो।
कार्यक्रममा प्रस्तोता सीता पौडेलले बीचबीचमा महाकवि देवकोटाका कालजयी रचनाहरू सुमधुर लय र छन्दमा प्रस्तुत गर्दा सिङ्गो हल काव्यमय बनेको थियो।
कार्यक्रमको विशेष आकर्षण डायस्पोरामा हुर्किरहेका बालस्रष्टाहरूको प्रस्तुति थियो। साना बालप्रतिभाहरू लुनिभा श्रेष्ठ, आदित्य रेग्मी, प्रथा वाग्ले, इभा वाग्ले र अनुप कँडेलले अङ्ग्रेजी भाषामा आफ्ना मौलिक साहित्यिक सिर्जना वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। यसले प्रवासमा पनि नेपाली नयाँ पुस्तामा सिर्जनशील चेतना सुरक्षित रहेको सुखद सन्देश दिएको थियो।
त्यस्तै, साहित्यिक स्रष्टाहरू मोहन आचार्य ‘जलद’, अलिना सङ्ग्रौला, मनोज आचार्य, विज्ञान पौडेल, शशाङ्क शर्मा, केशव भट्टराई तथा महासङ्घकी कोषाध्यक्ष कल्पना दाहालले आफ्ना रचना वाचन गर्नुभएको थियो।
गिनिज वर्ल्ड रेकर्ड धनी तथा सगरमाथा आरोही साजन डङ्गोलले आफ्नो जीवनानुभव बाँड्दै इच्छाशक्ति र साहस कायम राख्न उपस्थित सबैलाई प्रेरित गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’ले देवकोटाका सिर्जनाहरू केवल साहित्यिक सम्पदा मात्र नभई मानवता, स्वतन्त्र चेतना र समानताका अमूल्य निधि भएको उल्लेख गर्नुभयो। उहाँले सम्पूर्ण अतिथि, स्रष्टा तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो।
भौगोलिक दूरीले टाढा भए पनि भाषा, साहित्य र संस्कृतिप्रतिको आत्मीयता सदैव अमर रहन्छ भन्ने सन्देशका साथ देवकोटा जयन्ती भव्य रूपमा सम्पन्न भयो।







