नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कात्तिक २३ गते बिहान करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा विदुर–१३ निवासी ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।






