बेलायत । ईलमपोखरी समाज यूकेको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार ७ नोभेम्बर २०२६ का दिन अल्डरसटस्थित डेलाउण्ज रेष्टुरेन्ट एन्ड बारमा समाजको वार्षिक साधारणसभा राम्रो वातावरणमा सम्पन्न भएको अध्यक्ष परशु गुरुङले जानकारी दिएका हुन् ।
समाजका सचिव कुमार गुरुङले संचालन गरेको बैठक दिउँसो ठिक १ बजे सुरु भई ५:४५ बजे समापन भएको थियो । बैठकको प्रारम्भमा सचिवले सुरक्षासम्बन्धी जानकारी गराएका थिए ।
अध्यक्षता र आसनग्रहणपश्चात् औपचारिकताका लागि अध्यक्ष परशु गुरुङ, संस्थापक अध्यक्ष मोहनसिंग गुरुङ र समाजका निवर्तमान अध्यक्ष तथा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङले दिप प्रज्वलन गरी बैठकलाई समुद्घाटन गरेका थिए ।
उपाध्यक्ष प्रकाश गुरुङले उपस्थित भएका सम्पूर्णलाई धन्यवाद दिँदै स्वागत मन्तव्य दिएका थिए । बैठकमा समाजका सदस्यहरुको भलाइका लागि धेरै महत्त्वपूर्ण विषयहरुमा छलफल भई अनुमोदन गरिएको अध्यक्ष परशु गुरुङले जनाए । उनका अनुसार बैठकमा ज्येष्ठ सदस्यहरु, महिलाहरुको साथ बाक्लो उपस्थिति थियो ।
साधारणसभामा सचिव कुमार गुरुङले राखेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिवराम गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सबैजना सन्तुष्ट देखिएका थिए ।
साधारणसभाको अन्तमा शनिबार १९ डिसेम्बरमा हुन गइरहेको ल्होछार कार्यक्रमका लागि पनि समन्वय छलफल भएको अध्यक्ष गुरुङले बताए । बैठकमा सहभागीलाई चियाकफी, पानी र खानाको व्यवस्था गरिएको थियो ।
अन्त्यमा अध्यक्ष परशु गुरुङले सबैजनालाई हार्दिक आभार व्यक्त गर्दै सभा बिसर्जन गरेका थिए ।


















तस्बिर : परशु गुरुङ






