शिवकुमार गुरुङ
लन्डन । लन्डन बरो अफ ब्रेन्टले आइतबार वेम्बलीको बरहामपार्कस्थित क्विन एलिजाबेथ गार्डेनमा ८ नोभेम्बरमा आयोजना गरेको ‘ब्रेन्ट सिभिक रिमेम्ब्रेन्स सर्भिस २०२६’ मा तमु समाज यूकेका पूर्वगोर्खा सैनिकहरू सहभागी भए ।
युद्धमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित समारोहमा तमु समाज यूकेका तर्फबाट अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले युद्ध स्मारकमा पुष्पचक्र अर्पण गरिन्। दिउँसो १ बजेर ५० मिनेटमा सुरु भएको समारोहमा स्थल सेना, नौसेना, वायु सेना र प्रहरीका क्याडेटहरू, सेन्ट जोन एम्बुलेन्स, रोयल ब्रिटिश लिजनको वेम्बली तथा सडबरी शाखा, स्काउट, ब्रिटिश गोर्खा नेपाली एसोसिएसन (बीजीएनए) र रेजेन्ट ब्रास ब्यान्डलगायतको सहभागिता थियो।
समारोहमा प्रार्थना गरियो, ट्रम्पेटमा ‘लास्ट पोस्ट बजाइयो र मौनधारण गरी दिवङ्गत सैनिकहरूको स्मरण गरियो। मौनधारणपछि ‘रेभेली धुन र बेलायतको राष्ट्रिय गान बजाइयो। प्रमुख अतिथि तथा बेलायती राजाका प्रतिनिधि डेपुटी लेफ्टिनेन्ट जस्टिन पाकश MBE FRGS ले मन्तव्यपछि बरहाम पार्कस्थित युद्ध स्मारकमा पुष्पचक्र अर्पण गरे।
ब्रेन्टकी उपमेयर कान्ता मिस्ट्री, ब्रेन्ट काउन्सिलका नेता मोहम्मद बट्, सांसदद्वय डन बट्लर र बेरी गार्डिनर, स्थानीय काउन्सिलरहरू तथा बीजीएनएका अध्यक्ष सन्तबहादुर गुरुङसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि पुष्पचक्र अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे। रेजेन्ट ब्रास ब्यान्डको धुनमा सहभागी टोलीहरूले मार्चपास्ट गरेसँगै समारोह सम्पन्न भयो।
दिवाभोजमा गोर्खा सेवा, शान्ति र सामुदायिक सहकार्यको चर्चा
स्मरण समारोहपछि तमु समाज यूकेले अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेको अध्यक्षतामा बरहाम पार्कस्थित नेपाली सामुदायिक केन्द्रमा रिमेम्ब्रेन्स दिवाभोज आयोजना गर्यो। दिवाभोजमा प्रमुख अतिथि डेपुटी लेफ्टिनेन्ट जस्टिन पाकश, ब्रेन्टकी उपमेयर कान्ता मिस्ट्री, ब्रेन्ट काउन्सिलका नेता काउन्सिलर मोहम्मद बट्ट, सांसद बेरी गार्डिनर, स्थानीय काउन्सिलरहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। पूर्वगोर्खा सैनिकहरूसँगै समाजका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, पदाधिकारीहरु, सल्लाहकारहरु, आमा समूह र युवा समूहका अध्यक्ष तथा समाज र आमा समूहका सदस्यहरू पनि उपस्थित थिए।
दिउँसो करिब तीन बजे सुरु भएको कार्यक्रम समाजका निवर्तमान महासचिव धरम बल गुरुङले सञ्चालन गरे। उनले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी दिँदै अतिथिहरूलाई आसन ग्रहण गर्न आग्रह गरे। त्यसपछि निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले अतिथिहरूलाई स्वागत गर्दै तमु समाज यूकेको स्थापना, उद्देश्य र सामाजिक कार्यबारे परिचय दिए।
सन् २००७ को सेप्टेम्बरमा स्थापना भएको तमु समाज यूके सन् २०१२ को डिसेम्बरमा इङ्ल्यान्ड र वेल्समा परोपकारी संस्थाका रूपमा दर्ता भएको उनले बताए। समाजले तमु भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधिमार्फत विभिन्न पुस्तालाई जोड्दै आएको उनले उल्लेख गरे। ज्येष्ठ नागरिक र कठिनाइमा परेका परिवारलाई सहयोग गर्नुका साथै समाजले विपद् राहतका लागि पनि रकम जुटाउँदै आएको उनले बताए।
गुरुङले दुई शताब्दीभन्दा लामो गोर्खा सेवाले नेपाल र बेलायतबीचको सम्बन्धलाई बलियो बनाएको बताए। गोर्खा सेवाको इतिहास परिवारका कथा, तस्बिर, पदक र बिछोडका सम्झनामा जीवित रहेको उल्लेख गर्दै उनले परेडमा सहभागी पूर्वगोर्खा सैनिक र उनीहरूलाई साथ दिने परिवारप्रति आभार व्यक्त गरे। उनले युवाहरूलाई अग्रजहरुका अनुभव सुन्न र ती कथाहरू भावी पुस्ताका लागि जोगाउन आग्रह गरे।
एक्लोपन, भाषिक अवरोध वा आवश्यक सेवा लिन कठिनाइ भोगिरहेका ज्येष्ठ पूर्वसैनिक र उनीहरूका परिवारलाई सहयोग गर्न स्थानीय जनप्रतिनिधि र ब्रेन्ट काउन्सिलसँगको सहकार्यलाई निरन्तरता दिन चाहेको उनले बताए।
युवा वक्ता सुबिना घलेले नेपालका गोर्खासहित राष्ट्रमण्डलका विभिन्न देशका सैनिकहरूले बेलायती र मित्रराष्ट्रका सैनिकसँग काँधमा काँध मिलाएर सेवा गरेको स्मरण गरिन्। घरपरिवारबाट टाढा रहेर सेवा गरेका ती सैनिकमध्ये धेरै जना घर फर्कन नपाएको उल्लेख गर्दै उनले जुनसुकै देश वा समुदायका भए पनि सबैको बलिदानलाई समान सम्मानका साथ सम्झनुपर्ने बताइन्। गोर्खा सैनिकहरूको साहस र सेवाप्रति गर्व व्यक्त गर्दै उनले आफ्नो पुस्ताले विश्वयुद्ध प्रत्यक्ष भोग्न नपर्नुलाई सौभाग्य ठानिन् र आजको शान्तिको कदर गर्नुपर्नेमा जोड दिइन्।
डेपुटी लेफ्टिनेन्ट जस्टिन पाकशले आफ्नै सैनिक सेवाको अनुभव सुनाउँदै साहस, कर्तव्यनिष्ठा, निःस्वार्थता र सहयोद्धाबीचको आत्मीयता साझा अनुभवबाट विकसित हुने मूल्य भएको बताए। सगरमाथा (चोमोलुङ्मा) आरोहणको स्मरण गर्दै उनले नेपाल र नेपाली जनताप्रति सम्मान व्यक्त गरे। परेड र स्मरण समारोहको प्रशंसा गर्दै उनले दिवाभोजको आतिथ्यका लागि तमु समाज यूकेलाई धन्यवाद दिए।
सांसद बेरी गार्डिनरले स्वतन्त्रताका लागि देशको आह्वानमा सेवामा जुटेकाहरूलाई सम्झने यस अवसरमा नेपालमा प्राकृतिक विपद्बाट ज्यान गुमाएकाहरूलाई पनि स्मरण गर्नुपर्ने बताए। विपद्मा आफन्त र मित्र गुमाएका समुदायका सदस्यहरूप्रति उनले आफ्नो र कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूका तर्फबाट समवेदना व्यक्त गरे। नेपालको जलविद्युत् उत्पादनमा हिमाली जलस्रोतको महत्त्व उल्लेख गर्दै उनले हिमनदी भत्किँदा समुदायले भोगेको पीडाबारे चर्चा गरे। उनले यस घटनालाई जलवायु परिवर्तनको सन्दर्भमा उठाउँदै त्यसका असर सामना गर्नु साझा चुनौती भएको बताए। विपद्पछि नेपालमा राहत पुर्याउन बेलायतको नेपाली समुदायले गरेको पहलप्रति पनि उनले सम्मान व्यक्त गरे।
ब्रेन्ट काउन्सिलका नेता मोहम्मद बट्टले युद्धले व्यक्ति, परिवार र सिङ्गो समाजमा छोड्ने पीडा स्मरण गर्दै त्यस्तो त्रासदी दोहोरिन नदिन सबैको जिम्मेवारी रहेको बताए। मतभेद सुल्झाउन संवाद र सहकार्यमा जोड दिँदै उनले पृष्ठभूमि र आस्था जेसुकै भए पनि समुदायका हरेक व्यक्तिको योगदानको कदर गर्नुपर्ने धारणा राखे। समुदायका सदस्यहरूलाई आफ्ना भोगाइ र अनुभव सुनाउन आग्रह गर्दै उनले त्यस्ता कथाबाट युवा पुस्ताले विगत बुझ्न र शान्तिपूर्ण समाज बनाउन सिक्ने बताए।
दीपावलीको शुभकामनासहित मन्तव्य सुरु गरेकी ब्रेन्टकी उपमेयर कान्ता मिस्ट्रीले विगतका युद्धमा विभिन्न देश र समुदायका सैनिकहरूले सँगै सेवा गरेको स्मरण गर्दै विशेष गरी गोर्खा सैनिकहरूको योगदान र बलिदानप्रति सम्मान व्यक्त गरिन्। आफ्ना दुई नातिनातिनालाई पनि समारोहमा ल्याएको उल्लेख गर्दै उनले युवा पुस्ताले युद्धको इतिहास र त्यसले निम्त्याएको पीडा बुझ्नुपर्ने तथा स्मरणको परम्परालाई अघि बढाउनुपर्नेमा जोड दिइन्।
पूर्वी अफ्रिकामा जन्मिएको र आफ्नो परिवारको जरा भारतको गुजरातमा रहेको प्रसङ्ग सुनाउँदै मिस्ट्रीले विभिन्न संस्कृतिका मानिसहरू घुलमिल भएर बस्नु ब्रेन्टको बल भएको बताइन्। एकअर्काको ख्याल राख्दै मिलेर काम गर्नु सैनिक जीवनबाट सिक्न सकिने महत्त्वपूर्ण पाठ भएको उल्लेख गर्दै उनले छिमेकी समुदायबीच सम्पर्क र सहकार्य बढाउन आग्रह गरिन्। नेपाली समुदायलाई आवश्यक पर्दा आफूलाई सम्पर्क गर्न आग्रह गर्दै उनले समुदायको मित्रका रूपमा सहयोग गर्न तयार रहेको बताइन्।
काउन्सिलर पल लोर्बरले स्मरणको परम्परालाई निरन्तरता दिन रोयल ब्रिटिश लिजनका स्वयंसेवकहरूले पुर्याएको योगदानको प्रशंसा गरे। स्थानीय गोर्खा समुदायलाई रिमेम्ब्रेन्स कार्यक्रममा सहभागी गराउन लिजनकी प्रतिनिधि जेराल्डिनले महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे। तमु समाज यूकेको नेपाली सामुदायिक केन्द्रले विभिन्न समुदायलाई कार्यक्रम आयोजना गर्ने ठाउँ उपलब्ध गराएर स्थानीय समाजमा योगदान पुर्याएको बताउँदै उनले बारहम भेटरन्स क्लब, तमु समाज यूके र सामुदायिक पुस्तकालयलाई ब्रेन्ट काउन्सिलले ठोस सहयोग गर्नुपर्ने धारणा राखे। उनले सन् २०३१ को नोभेम्बरमा पनि यही केन्द्रमा रिमेम्ब्रेन्स दिवाभोज आयोजना गर्न पाइने आशा व्यक्त गरे।
तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले शान्ति र स्वतन्त्रताका लागि सेवा गरेका तथा जीवन बलिदान दिएका महिला र पुरुषहरूप्रति श्रद्धा व्यक्त गरिन्। स्मरणको यस अवसरले ब्रेन्टका विभिन्न समुदायबीच मित्रता र आपसी समझदारी अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले स्थानीय जनप्रतिनिधि र संघसंस्थाको निरन्तर साथप्रति आभार जनाइन्। उनले दिवाभोजको तयारीमा सहयोग गर्ने आमा समूह, कार्यसमिति र स्वयंसेवकहरूलाई धन्यवाद दिइन्। आफ्नो उपस्थितिले समारोहलाई गरिमामय बनाउने सबै अतिथि, पूर्वसैनिक तथा सहभागीप्रति पनि उनले कृतज्ञता व्यक्त गरिन्।
कार्यक्रममा युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङले ध्वनि प्रणाली र प्रोजेक्टरको व्यवस्थापन गर्नुका साथै समाजका गतिविधि समेटिएका स्लाइडहरू प्रस्तुत गरे। मन्तव्य सकिएपछि आमा समूहको व्यवस्थापनमा सहभागीहरूले दरबार रेस्टुरेन्टले तयार पारेको दिवाभोज ग्रहण गरे। कार्यक्रम साँझ ६ बजे सम्पन्न भयो।















