लन्डन । लमजुङ समाज यूकेले यही शनिबार, १४ नोभेम्बर २०२६ मा आफ्नो बहुप्रतीक्षित ‘विन्टर पार्टी २०२६’ आयोजना गर्ने भएको छ।
बेलायतमा रहेका लमजुङवासीहरूबीच आपसी भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष पूर्णराज गुरुङले जानकारी दिएका छन्। कार्यक्रम फार्नबोरोस्थित सामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा हुनेछ।
जन्मभूमि लमजुङ र कर्मभूमि बेलायत भए पनि आफ्नो मन, भावना, संस्कार र पहिचान लमजुङसँगै जोडिएको अनुभूति गराउँदै मौलिक संस्कृति र गौरवशाली विरासतको संरक्षण गर्ने उद्देश्य कार्यक्रमले राखेको छ।
कार्यक्रममा अतिथि तथा स्थानीय प्रतिभाशाली कलाकारहरूका सांगीतिक एवं सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै, बेलायतभरि रहेका लमजुङवासी दाजुभाइ, दिदीबहिनी, चेलीबेटी तथा ज्वाइँहरूलाई परिवार र इष्टमित्रसहित सहभागी हुन समाजले आग्रह गरेको छ। आफन्त तथा साथीभाइसँग भेटघाट गर्दै सुख-दुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा कार्यक्रमलाई लिइएको समाजले जनाएको छ।
समाजका अध्यक्ष पूर्णराज गुरुङले बेलायतभरि रहेका सम्पूर्ण लमजुङवासीलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्। कार्यक्रम दिउँसो १२:३० देखि राति ११ बजेसम्म तय गरिएको छ ।






