वासिङ्टन । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लु बीच सिरियाको बारेमा फोनवार्ता भएको । समाचारमा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री पोम्पेओ र कावुसोग्लुबीच सिरियामा जारी द्धन्द्धको बारेमा छलफल हुनुको साथै आगामी दिनमा सिरियामा शान्ति स्थापनाका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।
सोमबार सो फोनवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा उहाँहरुबीच सिरियाको जारी द्धन्द्धका साथै पछिल्लो समयमा सिरियामा अमेरिकी संलग्नताको विषयमा पनि कुराकानी भएको थियो ।
सिरियामा विगतका वर्षहरुदेखि अमेरिकाले सेना पठाएको छ । अमेरिकी सेनालाई त्यहाँबाट फिर्ता गर्ने बारेमा पछिल्लो समयमा अमेरिका र विश्वका अरु देशहरुबीच कुराकानी जारी रहेको छ ।
सिरियामा अमेरिकी सेनाको पक्षमा लड्दै गरेका कुर्दिस लडाकूको संरक्षण र त्यसका साथै सिरिया र टर्कीको सीमा क्षेत्रमा आइएस आतंकवादीहरुको घुसपैठ तथा संलग्नताको विषयमा पनि त्यस वार्ताका क्रममा कुराकानी भएको अमेरिकी विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सिरियामा आइएसले कुर्दिस् विद्रोहीहरुलाई तारो बनाउने गरेका छन् । साथै त्यहाँको सत्तापक्षीय सेनाले पनि कुर्दिस्का विरुद्धमा काम गरेको बताइन्छ । तर अमेरिकाले सिरियामा सेना पठाएर उनीहरुको समन्वयमा तथा टर्किस् सेनासँग मिलेर काम गरिरहेको छ । ती कुर्दिस् विद्रोहीहरुको पक्षमा अमेरिकी सेनाले काम गरेको सिरियाली राष्ट्रपति बसर अल असद पक्षले विरोध गर्ने गरेको छ ।
तर ती कुर्दिस विद्रोहीहरुलाई टर्कीको सीमा क्षेत्रमा काम गर्न दिएको र त्यसको संरक्षण अमेरिकी सेनाले गरेकोमा टर्की र अमेरिकाको बीचमा पछिल्लो समयमा असमझदारी बढेको पाइएको छ । तर त्यस विषयमा अमेरिकाले पछिल्लो समयमा सिरिया र टर्कीको सीमा क्षेत्रमा सुरक्षित क्षेत्रको स्थापना गर्ने प्रस्ताव राखेको छ ।
दुवै देशको सीमा क्षेत्रको करिब ३२ किलोमीटर क्षेत्रलाई सुरक्षित क्षेत्रका रुपमा घोषणा गर्ने र त्यस क्षेत्रमा कुनै पनि किसिमको सैन्य गतिविधिहरु हुन नदिने भनी यस्तो प्रस्ताव अमेरिकाले गरेको छ ।






