नियात्रा: सेनोटाप स्मृतिसभाको

SHARE:

चिम्खोले काईला – बेलायत

प्रथम र दोस्रो विश्वयुद्ध लगायत मानव इतिहासका विभिन्न भयानक युद्धहरूमा वीरगति प्राप्त गरेका अमर योद्धाहरूको स्मृतिमा हरेक वर्ष नोभेम्बर महिनाको ११ तारिखको नजिकै पर्ने आइतबार बिहान ठीक ११ बजेर ११ मिनेटमा बेलायतमा विश्वकै सबैभन्दा ठूलो र भव्य स्मृतिसभाको आयोजना गरिन्छ। यो ऐतिहासिक एवं पवित्र स्मृतिसभा बेलायतको लन्डन सहरस्थित रक्षा मन्त्रालय भवन नजिकै अवस्थित प्रख्यात युद्ध स्मृति पार्क ‘सेनोटाप’ मा अत्यन्त श्रद्धा र गरिमाका साथ सम्पन्न हुन्छ।

ब्रिटिश आर्मीमा सेवारत रहेका ती स्वर्णिम दिनहरू मेरा आँखासामु अझै पनि ताजै छन्। जब म सैनिक सेवामा थिएँ, तब आफ्नो रेजिमेन्टको ब्याण्डको नेतृत्व गर्दै यसै पवित्र भूमिमा कयौँपटक मार्चपासमा सहभागी भएको गौरवशाली इतिहास मसँग छ। बेलायती सैन्य बाजाको धुनमा ती वीर सहिदहरूप्रति सलामी अर्पण गर्दाको क्षण सधैँ मेरा लागि मुटु छेड्ने र गर्वले छाती फुल्ने क्षण बन्ने गर्दछ। ब्रिटिश आर्मीबाट औपचारिक अवकाश प्राप्त गरिसकेपछि पनि मेरो यो कर्तव्य रोकिएको छैन। म निरन्तर रूपमा ‘ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी’ (बिजीडब्लुएस) का अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीको नेतृत्वमा प्रत्येक वर्ष सेनोटाप स्मृतिसभामा सहभागी हुँदै आएको छु। सहिदहरूको बलिदानप्रतिको यो सम्मान मेरो जीवनको एक अविभाज्य र पवित्र हिस्सा बनिसकेको छ।

यस वर्षको सेनोटाप स्मृतिसभा आगामी आइतबार, नोभेम्बर ८ का दिन आयोजना हुँदैछ। तर, यसपटक मेरो नियमित कार्यतालिकाले मलाई अप्ठ्यारोमा पारेको छ; ठीक सोही दिन मेरो कार्यक्षेत्रमा ड्युटी परेको छ। यस राष्ट्रिय तथा ऐतिहासिक महत्त्वको सार्वजनिक कर्तव्यमा सहभागी हुन मैले आफ्नो कार्यालयका म्यानेजरसमक्ष विशेष सशुल्क बिदाका लागि निवेदन अगाडि बढाउँछु। तर, नियम र औपचारिकताका कारण म्यानेजरले यसको ठोस औचित्य र प्रमाण माग्नुहुन्छ। यो औपचारिक सुनुवाइलाई सहज बनाउन र मेरो अनुपस्थितिलाई न्यायोचित प्रमाणित गर्न म तुरुन्तै मेरा आदरणीय मार्गदर्शक एवम् अध्यक्ष मेजर टिकेन्द्रदल देवानज्यूलाई आधिकारिक पत्र वा इमेल तयार गरिदिन विशेष अनुरोध गर्छु।

मेजर देवानज्यूको तर्फबाट प्राप्त त्यो आधिकारिक र प्रभावकारी इमेलले मेरो कार्यालयको सम्पूर्ण प्रक्रियालाई सहज बनाइदिएको छ। सोही पत्र र औचित्यका आधारमा मेरो बिदा स्वीकृत हुन्छ र म यसपटक पनि लन्डनको सेनोटापमा पुगेर ती वीर अमर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न पूर्ण रूपमा सक्षम हुने भएको छु। मेजर देवानको समयमै प्राप्त सहयोग र मेरो अटल दृढताका कारण आज म फेरि एकपटक सेनोटापको प्राङ्गणमा उभिन सफल भएको छु। यो केवल एउटा बिदा मिलाउने बहाना वा सामान्य सहभागिता मात्र होइन, यो त गोर्खा सिपाहीको रगत र पसिनामा जोडिएको आत्मिक सम्मान हो, जसले मलाई आफ्नो इतिहासप्रति सधैँ उत्तरदायी र गर्ववानित बनाइरहन्छ।

शनिबारको कार्यक्षेत्रको काम सकेपछि सुक्खा र चिसो मौसममा म कार्यक्षेत्रको बासस्थानको कोठामा बसेर भोलिको यात्राको योजना बुन्छु। यदि घर गएको भए एक घण्टा र भोलि बिहान घरबाट फार्नबोरो गोर्खा भवन पुग्न एक घण्टा गर्दा दुई घण्टाभन्दा बढी समय र इन्धन खर्चिनुपर्थ्यो। समय र इन्धनको यो अनावश्यक बर्बादी रोक्न मैले बासस्थान मै रात काट्ने निर्णय गर्छु।

आइतबार, नोभेम्बर ८ को बिहान, घडीको सुईले बिहानको ठीक ५ बजेको सङ्केत गर्छ। चिसो शरद ऋतुको बिहानी छ, बाहिर बाक्लो कुहिरो र शीतले आकाश धुम्मिएको छ। विन्टरबर्न गनरको चिसो मौसममा नित्यकर्म सकेपछि युनिफर्म लगाएर म ठीक ५:३० बजे आफ्नो गाडी हुइँक्याउँछु। बेलायतका कालोपत्रे सडकहरूमा कुहिरो चिर्दै मेरो गाडी ए३०, ए३४३ र ए३०३ को बाटो पार गर्दै तीव्र गतिको मोटरवे एम३ तर्फ अगाडि बढ्छ। अन्ततः ए३२५ को रुट समात्दै म समयमै फार्नबोरो गोर्खा भवन आइपुग्छु। त्यहाँ पुग्दा बिहानीको चिसो हावालाई चिर्दै हाम्रो यात्राका लागि रिजर्भ गरिएको सुविधासम्पन्न कोच (बस) फार्नबोरो फुटबल क्लबको प्राङ्गणमा तयारी हालतमा उभिरहेको हुन्छ। बिजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान, महासचिव छत्र राई, मेजर कुल थापा, क्याप्टेन राजेन्द्रमान गुरुङ, लेफ्टिनेन्ट मुक्तिजंग गुरुङ, काउन्सिलर उत्तरबहादुर गुरुङ, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ दाजु लगायतका आदरणीय व्यक्तित्वहरू पहिले नै पुगिसक्नुभएको छ। पुराना पल्टने दिनहरूका सम्झना ताजा गर्दै हामीले एक-अर्कालाई न्यानो अभिवादन गर्छौं।

बिहानीको चिसो मौसम केही कम हुँदै जाँदा हाम्रो कोच लन्डन सहरतिर हुइँकिन्छ। ए३२५ र एम३ मोटरवेको चिल्लो सडकमा गाडी गुडिरहँदा बसभित्रको माहोल भने निकै तातो र उल्लासपूर्ण बनेको छ। पुराना पल्टने चुट्किला, हाँसो र ठट्टाले बस गुञ्जायमान छ। सडकका वरपर बेलायती झण्डा बोकेका क्याडेट बालबालिका, सेवारत तथा सेवानिवृत्त महिला र पुरुष गोर्खा सैनिकहरूको बाक्लो घुइँचो देखिन थाल्छ। साथीहरू महिला सैनिकहरूको उच्च प्रशंसा र जिस्क्याउने काम गरिरहेका छन् भने महासचिव छत्र राई र अध्यक्ष देवानबीच बेलाबेलामा रमाइलो व्यंगात्मक ठट्टा चलिरहन्छ।

यता कोचको एउटै सिटमा म र क्याप्टेन राजेन्द्रमान साहेब सँगै बसिरहेका छौँ। बसभित्रको हुरुक्कै पार्ने होहल्ला र ठट्टाभन्दा अलि अलग भएर हामी दुईबीच पारिवारिक सुख-दुःख, पुराना पल्टने अनुभव र जीवनका गम्भीर अन्तरंग कुराहरू हुन्छन्। तिनै मिठा र आत्मीय कुराकानीमा डुब्दै हाम्रो कोच लन्डनको ऐतिहासिक गन्तव्यतिर अविराम अगाडि बढिरहेको छ।

हामी रक्षा मन्त्रालयको अगाडि प्राङ्गणको सुरक्षा जाँच गर्दै छौँ। यो सुरक्षा जाँचमा महासचिवले पठाएको क्यूआर कोड र आइडी देखाउनुपर्ने भएको छ। सुरक्षा जाँच अत्यन्तै कडा पारिएको छ। सुरक्षा जाँच पार गरेपछि बिजीडब्लुएसका अन्य स्थानहरूबाट आएका सदस्यहरूसँग भेट भएको छ। हाम्रो लाइन बि २३७ हो, त्यसको नजिक गएर बसेका छौँ। समय निकै रहेको कारणले शौचालय गएपछि बिजीडब्लुएसका अध्यक्ष देवान, सदस्यहरू लगायत अन्य सहभागीहरूको भिडिओ क्लिप लिन्छ एभरेष्ट टाइम्स युकेको फेसबुक पेजमा लाइभ फाल्छु।

निर्धारित समय भएपछि हाम्रो समूह परेड कमान्डर पूर्व वारेन्ट अफिसर क्लास टु (डब्लुओटु) दुर्गानारायण राईको अन्डरमा,  हर्सगार्ड  परेड ग्राउन्डबाट अगाडि बढ्छ र सेनोटापको प्राङ्गणमा श्रद्धापूर्वक लाइनअप हुन्छ। लाइनमा उभिएर सेनोटापको ऐतिहासिक शालिकतर्फ हेर्दै गर्दा मेरो मनमा अनगिन्ती भावनाहरूको ज्वारभाटा उठ्न थाल्छ। एक गोर्खा सिपाहीको रूपमा बन्दुकको नालमा जीवन र मृत्युको खेल खेल्दै हामीले भोगेका ती कठोर दिनहरू मेरो आँखासामु चलचित्रझैँ घुम्न थाल्छन्। देश, माटो र जनताका लागि आफ्ना प्राणको आहुति दिने अमर सहिद साथीहरूको बलिदान र तिनै वीरहरूको न्यानो सानिध्यले मेरो मानसपटललाई पूर्ण रूपमा झक्झकाउँछ।

जब घडीको सुईले ठीक ११ बजेर ११ मिनेटको सङ्केत गर्छ, तब लन्डनको विशाल आकाशमा बज्ने ती सुसज्जित साइरनको धुनसँगै सम्पूर्ण सहर एकाएक थामिन्छ। त्यो क्षण समय नै रोकिएजस्तो, धर्ती नै सुस्ताएजस्तो अनौठो महसुस हुन्छ। त्यो गहिरो मौनताको पलमा म मेरो आफ्नै विगत, गोर्खा फौजको सान र गौरवशाली इतिहास, तथा ती वीर सहिदहरूप्रति हाम्रो जीवनभरको ऋण प्रस्ट रूपमा अनुभव गर्छु।

त्यो मौनता र श्रद्धाको घडीमा मेरा पाइलाहरू र विचारहरू आफ्नै पुर्खा र परिवारतर्फ मोडिन्छन्। मेरो आफ्नै घरका सानो कान्छा बाजेले दोस्रो विश्वयुद्धको भीषण रणभूमिमा विश्वमा शान्ति ल्याउन आफ्नो अमूल्य ज्यानको आहुति दिनुभएको थियो। त्यस्तै हाम्रो गाउँ चिमखोलावाट मात्रै ७ जनाले ज्यानको आहुति दिनुभएको थियो । आजको यो पवित्र दिनमा युद्धमै वीरगति प्राप्त गर्नुहुने तिनै सानो कान्छा बाजे (जसको नाम इतिहासको पानामा अझै स्पष्ट फेला परेको छैन) प्रति मेरो शिर श्रद्धाले निहुरिन्छ।

उहाँसँगै युद्धको त्यो भयानक खतराबाट बाँचेर घर फर्कनुहुने मेरा परिवारका अन्य बाजेहरूलाई पनि म गहिरो सम्मानका साथ सम्झन्छु। युद्धका अनगिन्ती खतरा अनुभव बोकेर फर्कनुहुने साइला बाजे स्वर्गीय हबिल्दार गमबहादुर गर्बुजा पुन मगर, थाइला बाजे स्वर्गीय सुबेदार नरबहादुर गर्बुजा पुन मगर, र ठूलो कान्छा बाजे स्वर्गीय दमबहादुर गर्बुजा पुन मगर। उहाँहरूको त्यो संघर्ष, त्याग र बहादुरी नै आज हाम्रो अस्तित्वको बलियो आधार हो। लन्डनको यो चिसो मुटुमा उभिएर ती अमर आत्माहरूप्रति माला अर्पण गरिरहँदा, मेरो छाती गर्व र भावुकताले सँगसँगै फुल्छ।

सेनोटापको पवित्र प्राङ्गणमा निर्धारित विधि र विधान अनुसार मास ब्याण्डको लास्ट पोस्ट र रिभालीसंगै श्रद्धाञ्जलि अर्पणको भव्य समारोह जारी छ। यस ऐतिहासिक परेडमा बेलायतका राजा चार्ल्स तृतीय, प्रधानमन्त्री, मन्त्रीगण, हाउस अफ लर्ड्सका सदस्यहरू, विभिन्न देशका राजदूतावास तथा विशिष्ट प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू लगायत विश्वभरका प्रबुद्ध व्यक्तित्वहरूबाट अमर सहिदहरूप्रति पुष्पहार (रिथ) चढाउने कार्य भव्यताका साथ सम्पन्न हुन्छ। विशिष्ट महानुभावहरूबाट श्रद्धासुमन अर्पणको यो गरिमामय कार्य पूरा हुनासाथै सम्पूर्ण परेडको ध्यान तान्दै मार्चपासको रोमाञ्चक चरण सुरु हुन्छ।

ब्रिटिश गोर्खाको गौरवशाली इतिहास र परम्परालाई प्रतिनिधित्व गर्दै हाम्रो बिजीडब्लुएसको समूहले पनि उच्च अनुशासन, कडा तालिम र पल्टने शानका साथ मार्चपास र सलामी अर्पण गर्दै अगाडि बढ्छ। हाम्रो त्यो दुरुस्त पाइला, छाती फुलाएर गरिएको सलामी, र गोर्खाली पल्टनको विशिष्ट गोर्खा हेटले त्यहाँ उपस्थित हजारौँ बेलायती तथा अन्तर्राष्ट्रिय दर्शकहरूको ध्यान खिन्छ। सडकको दुवै किनारमा उभिएका हजारौँ दर्शकहरूले गर्व र ता,लीको गड्गडाहटसहित हामी गोर्खाली योद्धाहरूलाई अभूतपूर्व हौसला र सम्मान प्रदान गर्छन्।

दर्शकहरूको त्यो न्यानो माया, तालीको ध्वनि र ऐतिहासिक सांगीतिक धुनको बीचबाट मार्चपास गर्दै हामी अन्ततः हाम्रो सुरुवाती र गन्तव्य विन्दु तथा ऐतिहासिक हर्स गार्ड्स परेड ग्राउण्डमा आइपुग्छौँ। गोर्खा फौजको वीरता र अनुशासनलाई विश्वमञ्चमा फेरि एकपटक उचाइमा पुर्‍याउन पाउँदाको त्यो क्षण मेरो जीवनको सबैभन्दा गर्विलो र भावनात्मक पल बनेर मुटुमा सधैँका लागि कुँदिएको छ।

हाम्रो यो समूह अहिले मार्च पास गर्दै हर्स गार्ड्स परेड ग्राउण्डदेखि बेलायती रक्षा मन्त्रालय नजिकै रहेको ऐतिहासिक गोर्खा स्मारकतर्फ श्रद्धा र सम्मानको भारी बोकेर अघि बढिरहेको छ। अग्रपंक्तिमा हाम्रा पूर्व पाइप मेजर कृष्ण राई आफ्नो पाइपको मर्मस्पर्शी धुन खेल्दै पाइला चालिरहेका छन्। उहाँको सङ्गीतको प्रत्येक सुरमा इतिहासको धड्कन प्रतिध्वनित भइरहेको छ। ठीक पछाडि, बिजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपी र ओम थापा गौरवशाली स्ट्यान्डर्ड ब्यारियर लिएर उच्चो शिर बनाएर मार्चिङ गरिरहेका छन्। उहाँहरूको यो अनुशासन र गर्विलो मुद्राले हामी सबैको छाती गर्वले फुलेको छ। उहाँहरूसँगै हाम्रा अन्य सदस्यहरू पनि अनुशासनबद्ध दुई लाइनमा तादम्यता मिलाउँदै अघि बढिरहेका छन्। यस मार्चिङमा पूर्व वारेन्ट अफिसर क्लास टु (डब्लुओटु) दुर्गा नारायण राईले परेड कमान्डर गर्नुभएको छ। हाम्रो मार्चिङमा सडकका दायाँबायाँ उभिएर शुभचिन्तकहरूले ताली र न्यानो मुस्कानसहित हामी गोर्खालीहरूलाई निरन्तर हौसला प्रदान गरिरहेका छन्।

यसैबीच, हाम्रो यो भावनाले ओतप्रोत भएको समूह गोर्खा स्मारकमा आइपुगेको छ। यहाँको यो पवित्र र ऐतिहासिक भूमिमा उभिएर अध्यक्ष देवानले हाम्रा अमर वीर पुर्खाहरूको अमूल्य बलिदान र शौर्यको स्मरण गर्दै स्मारकमा श्रद्धाका साथ पुष्पगुच्छा अर्पण गर्नुहुन्छ। उहाँको यो श्रद्धाञ्जली अर्पणसँगै हामी सबैले ब्यागपाइपको धुनसँगै दुई मिनेट मौनधारण गरेर ती वीर सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै नतमस्तक भएर नमन गर्दछौँ। इतिहासका साक्षी बनेका ती गौरवशाली वीरहरूको पदचिन्हलाई पछ्याउँदै, उनीहरूको गाथालाई मुटुमा सजाएर हामी सबैले सामूहिक तस्बिर खिच्दछौँ र यो ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गरेर आत्मीय खुसीसहित कोच नजिक आइपुग्दछौँ।

हामी सबै आ–आफ्नो सिटमा बसिसकेका छौँ, तर सेनोटाप स्मृतिसभा कार्यक्रमका संयोजक तथा महासचिव छत्र राईको सिट अझै खाली छ। कोचभित्रका सबै आँखाहरू उनैको व्यग्र पर्खाइमा छन्। केही क्षणमै उनी र तारा थापा मगर हातमा तातो कफी समातेर मुस्कुराउँदै कोचभित्र पस्छन्। उनीहरूको प्रवेशसँगै कोचभित्र एकाएक रमाइलो होहल्ला र हाँसोको फोहोरा छुट्छ। बिहान पनि अर्का साथी गजबीर थापा मगर यसैगरी अलि ढिला भएका थिए र त्यतिबेला पनि यस्तै मीठो हल्ला र ठट्यौली व्यङ्ग्य प्रहार भएको थियो। अहिले फेरि त्यही रमाइलो दृश्य दोहोरिएको छ। यो निश्छल ठट्टा, व्यङ्ग्य र आत्मीय होहल्लाले हामीलाई वर्षौँअघिको पल्टनघरमा बिताएका ती अविस्मरणीय र स्वर्णिम दिनहरूको झल्को दिइरहेको भान हुन्छ, मानौँ समय फेरि फर्किएर उही पल्टनको आँगनमा आइपुगेको छ।

रमाइला गफगाफ र पुराना स्मृतिहरू साट्दै हाम्रो कोच मोटरवे एम४, एम२५ र ए३२५ को बाटो हुँदै गोर्खालीहरूको बाक्लो बस्ती र इतिहास बोकेको तथा मिनी नेपाल अल्डरसट सहरको प्रिन्सेस गार्डेनमा आइपुग्छ। यहाँ अवस्थित गोर्खालीका प्रथम भिक्टोरिया क्रस विजेता वीर कुलबीर थापा मगरको स्मारकसामु उभिँदा मन स्वतः भावुक र गर्वले भरिन्छ। अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले ती महान सपूतको अदम्य साहस र बलिदानको स्मरण गर्दै स्मारकमा श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गर्नुहुन्छ। हामी सबैले ब्यागपाइपको धुनसँगै शिर झुकाएर दुई मिनेट मौनधारण गर्दै ती वीर पुर्खाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। इतिहासको त्यो गौरवशाली गाथालाई हृदयमा सँगाल्दै अन्ततः हामी फार्नबोरोमा रहेको हाम्रो आफ्नै आत्मीय थलो गोर्खा भवनमा आइपुग्दछौँ।

गोर्खा भवनभित्र पस्नेबित्तिकै घरकै जस्तो न्यानो आतिथ्यले मन प्रफुल्लित हुन्छ। त्यहाँ स्वादिष्ट ‘मेसिङ’ (खाना) तयारी अवस्थामा छ। अर्कोतिर, मनकारी सुरेन्द्र लिम्बुज्यूले निःशुल्क बियरको ब्यारल जोडिदिनुभएको छ भने नारायण गुरुङज्यूले निःशुल्क ह्विस्की, पानी र हाम्रो मौलिक स्वाद कोदोको ‘तीनपाने’ प्रायोजन गरेर कार्यक्रममा अझै आत्मीयता थपिदिनुभएको छ।

दिनभरिको थकान र भोकले गलित भएका हामी सबैले पल्टनघरको पुरानो तिर्सना मेटाउँदै आफ्नै पारामा हातैले मीठो मानेर भात खान्छौँ। यही रमाइलो माहोलबीच आजको स्मृतिसभाको प्रमुख जिम्मेवारी सफलतापूर्वक निभाउनुहुने परेड कमान्डर डब्लुओटु दुर्गानारायण राई, पूर्व पाइप मेजर कृष्णकुमार राई र स्ट्यान्डर्ड ब्यारियर संयोजक ओम थापा काउचा मगरलाई अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले उच्च सम्मान र कृतज्ञतास्वरूप पेय पदार्थ प्रदान गर्नुहुन्छ।

आत्मीय खानपिनको क्रम समाप्त भएपछि वातावरण अब गम्भीर र जिम्मेवार विमर्शतिर मोडिन्छ। महासचिव छत्र राई र जनसम्पर्क समितिका प्रमुख प्रकाश गुरुङले संस्थाका वर्तमान गतिविधि तथा आगामी योजनाहरूबारे प्रकाश पार्नुहुन्छ। त्यसैगरी, अध्यक्ष देवानले भूतपूर्व गोर्खाहरूको वर्षौँदेखिको न्यायपूर्ण माग तथा जी१०, नेपाल सरकार र बेलायती सरकारबीच भइरहेको त्रिपक्षीय वार्ताको पछिल्लो अवस्थाबारे अत्यन्तै गम्भीरतापूर्वक विस्तृत जानकारी गराउनुहुन्छ। पुर्खाको सम्मानसँगै आफ्ना हकअधिकार र भविष्यको चिन्तन गर्दै यो अर्थपूर्ण जमघट अझै जीवन्त बन्दछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!