ललितपुर । याक्थुङ (लिम्बू) जातिको धार्मिक ग्रन्थमा रहेका विशिष्ट शब्दलाई लिएर निर्माण गरिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ । डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको संकलन तथा लेखनमा मुन्धुम एकाडेमीले प्रकाशन गरेको शब्दकोश लिम्बू–नेपाली र अंग्रेजी भाषामा रहेको छ । सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले शुक्रबार ललितपुरमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको हो । याक्थुङ जातिको मालिक ज्ञानको प्रमुख स्रोत मुन्धुम हो । मुन्धुम धार्मिक अनुष्ठान, कर्मकाण्डीय वाचन, पुर्खाहरूको ऐतिहासिक अनुभव, सामाजिक स्मृति, प्रकृतिसम्बन्धी ज्ञान, जीवनदर्श तथा सांस्कृतिक अभ्यासहरू समग्र संग्रहहो । उक्त कृतिभित्र मौखिक तथा लिखित ज्ञानशास्त्र ‘याक्थुङ साम्जिक मुन्धुम’मा प्रयोग हुने विशिष्ट शब्दवली, अर्थ पहिचान र परिभाषा दिइएका छन् । यसमा मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने दुईपदीय मुन्धुमी शब्दहरूको दुवै पदको अर्थ तथा सन्दर्भ व्याख्या गरिएको छ ।
याक्थुङ (लिम्बू) भाषा हालैमात्र प्रदेश–१ को सरकारी कामकाजको भाषा कायम भएको छ । याक्थुङ लिम्बू भाषाको गीत, संगीत, पालाम, हाक्पारे साम्लो, साहित्य, मुन्धुम लेखन कार्यहरू भइरहँदा मुन्धुम शब्दकोशको आवश्यकता खड्किएकाले मुन्धुमी शब्दकोश प्रकाशन गर्नुपरेको लेखकद्वयको दावी छ । विमोचित कृति ४ सय २० पृष्ठको रहेको छ, जसमा १ हजार ५ सयभन्दा बढी शब्द प्रविष्टी गरिएका छन् । पुस्तकको मूल्य दुई हजार रुपैयाँ राखिएको छ ।
याक्थुङ भाषामा यसअघि समग्र विषयलाई लिएर ‘लिम्बू शब्दकोश’ प्रकाशित छन् । विदेशी अन्वेषकले लिम्बू भाषाबारे सन् १८११ देखि शब्द संकलन गरेको पाइन्छ । स्वदेशका स्वभाषी काजीमान कन्दङ्वाले विसं.२०१० सालमा लिम्बू शब्दकोश संकलन गरेका थिए । इमानसिंह चेम्जोङको संकलन तथा लेखनमा ‘लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश’ २०१८ सालमा प्रकाशित छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित उक्त शब्दकोशलाई बैरागी काइँलाको अगुवाइमा संशोधनसहित ४० हजार शब्द समेटिएका छन् ।
लेखकद्वय डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको यसअघि ‘लिम्बू नामकोश’ संयुक्त अनुसन्धान कृति प्रकाशित छ । याक्थुङ भाषा, साहित्य, इतिहास, संस्कृति तथा मौलिक ज्ञानप्रणालीको अध्ययन, अनुसन्धान, संरक्षणमार्फत् भावी पुस्तामा ऐतिहासिक चेतना र सांस्कृतिक निरन्तरता कायम राख्ने क्रम जारी रहेको मुन्धुम एकाडेमीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।






