श्रमिकका मुद्दा, सामाजिक सुरक्षा र नीतिगत बहसलाई प्राथमिकता, संस्थापक अध्यक्षदेखि पूर्वअध्यक्ष, सरकारी तथा राजनीतिक नेतृत्व र पत्रकारसम्मको उल्लेख्य सहभागिता रहन्छ-मध्यपुर्व संयोजक श्रेष्ठ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा, गैरआवासीय नेपालीका सरोकार तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको भूमिकालाई नीतिगत बहसको केन्द्रमा राख्दै आगामी डिसेम्बर ११ र १२ (मंसिर २६ र २७) मा कतारको राजधानी दोहामा सम्मेलन आयोजना हुन लागेको हो ।
एनआरएनएको महत्त्वपूर्ण केन्द्र तथा मध्यपूर्व अभियानको मुख्य हबका रूपमा परिचित कतारमा आयोजना हुन लागेको यस सम्मेलनलाई यसअघिका सम्मेलनभन्दा थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने लक्ष्यसहित तयारी तीव्र पारिएको छ । मध्यपूर्वमा रहेका नेपालीका समस्या र सम्भावनालाई एउटै मञ्चमा उठाउँदै सरकार, राजनीतिक नेतृत्व, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, अभियन्ता र सरोकारवालाबीच सार्थक संवाद स्थापित गर्ने उद्देश्य आयोजकले लिएको छ ।
मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा सम्मेलनको तयारीलाई तीव्रता पारिएको हो । सम्मेलनलाई औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नराखी विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकका वास्तविक समस्या समाधान र उनिहरुको कमाईलाई सहि ठाउमा लगानीका लागि नीतिगत बहस र ठोस निष्कर्ष निकाल्ने साझा मञ्चका रूपमा विकास गर्ने प्रयास भइरहेको श्रेष्ठले बताएका छन् ।
सम्मेलनको तयारीका सिलसिलामा श्रेष्ठ कतार पुगेर स्थानीय आयोजक, एनआरएनएका पदाधिकारी तथा विभिन्न सरोकारवालासँग आवश्यक समन्वय र छलफल गरेका थिए । कतारमा तयारीका विभिन्न पक्षलाई अघि बढाएर उनी पुनः नेपाल फर्किएका छन् । नेपाल फर्किएलगत्तै सरकारी निकाय, राजनीतिक नेतृत्व तथा सम्बन्धित संस्थाका प्रतिनिधिसँगको भेटघाट र समन्वयलाई तीव्रता दिँदै सम्मेलनमा उच्चस्तरीय सहभागिता सुनिश्चित गर्ने अभियानमा उनी जुटेका छन् ।
श्रेष्ठका अनुसार सम्मेलनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मकै उत्कृष्ट, व्यवस्थित र परिणाममुखी क्षेत्रीय सम्मेलन बनाउने उद्देश्यले आफूहरू निरन्तर सक्रिय रहेको उनले बताए । सम्मेलनमा सहभागिताको संख्याभन्दा पनि उठाइने विषय, हुने नीतिगत बहस र त्यसबाट प्राप्त हुने उपलब्धिलाई महत्त्व दिइएको उनको भनाइ छ ।
यसैक्रममा श्रेष्ठले नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग भेट गरी सम्मेलनमा सहभागिताका लागि औपचारिक निमन्त्रणा दिएका छन् । केही दिनअघि नै संघको सचिवालयमार्फत मन्त्री यादवलाई निमन्त्रणापत्र पठाइएको भए पनि सम्मेलनको उद्देश्य, तयारी र महत्त्वबारे प्रत्यक्ष जानकारी गराउँदै पुनः भेटघाट गरिएको हो ।
मन्त्रीसँगको भेटमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या, चुनौती, गुनासा, श्रम अधिकार, सुरक्षा तथा उनीहरूको हकहित संरक्षणका विषयमा छलफल भएको श्रेष्ठले बताएका छन् । विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, नेपाली कूटनीतिक नियोग र एनआरएनएबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापालाई सम्मेलनमा विशेष अतिथिका रूपमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ । श्रेष्ठले थापासँग भेट गरी औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । भेटका क्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहित, सुरक्षा, सामाजिक सुरक्षा कोषमा आबद्धता, श्रमिकका समस्या तथा गैरआवासीय नेपालीका सरोकारलाई नीतिगत तहमा सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।
यसअघि एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डीपी अर्याललाई समेत सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । यसरी सरकारका मन्त्री, संसद्का नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधिलाई सम्मेलनमा जोड्ने प्रयासले यसपटकको सम्मेलनलाई संस्थागत र नीतिगत दृष्टिले थप महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
सामाजिक सुरक्षा कोषसँगको सहकार्यलाई पनि सम्मेलनको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाइएको छ । श्रेष्ठले सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी तथा उनको टोलीसँग भेट गरी सम्मेलनमा समावेश गरिएको सामाजिक सुरक्षा कोषसम्बन्धी विशेष सत्रका विषयमा छलफल गरेका छन् ।
विदेशमा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया, त्यसबाट प्राप्त हुने सुविधा, सामाजिक सुरक्षाको दीर्घकालीन सुनिश्चितता तथा कोषसँग एनआरएनएको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको श्रेष्ठले बताएका छन् ।
यसपटकको सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्षदेखि पूर्वअध्यक्षहरू, नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा मध्यपूर्वमा रहेर लामो समयदेखि नेपाली समुदाय र श्रमिकका विषयमा पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहने क्षेत्रीय संयोजक श्रेष्ठले बताएका छन् ।
उनका अनुसार सम्मेलनलाई संस्थाको आन्तरिक गतिविधिमा मात्र सीमित नराखी प्रवासी नेपालीका साझा मुद्दामा राष्ट्रिय सहमति निर्माण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा अघि बढाउन खोजिएको छ । विभिन्न पुस्ताका एनआरएनए नेतृत्व, सरकारी प्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र पत्रकार एकै ठाउँमा उपस्थित हुँदा मध्यपूर्वका नेपालीका समस्या र सम्भावनाबारे व्यापक छलफल हुने विश्वास गरिएको छ ।
विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, मर्यादित रोजगारी, श्रम अधिकार, सामाजिक सुरक्षा, वैदेशिक रोजगारीका क्रममा उत्पन्न हुने कानुनी तथा प्रशासनिक समस्या, उद्धार तथा पुनःस्थापना र विदेशमा रहेका नेपालीको सम्मानजनक जीवनयापनका विषय सम्मेलनका प्राथमिकतामा रहनेछन् ।
मध्यपूर्वका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, ओमान,इराक
लगायतका मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । उनीहरूले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । तर, देशको अर्थतन्त्रमा यति ठूलो योगदान गर्ने श्रमिकको सामाजिक सुरक्षा, रोजगारीको स्थायित्व, अधिकार संरक्षण र भविष्यको सुनिश्चितता अझै चुनौतीपूर्ण विषयका रूपमा रहेका छन् ।
विदेशमा श्रम गरेर आर्जन गरेको सीप, अनुभव र पुँजीलाई नेपालको उत्पादन, उद्यमशीलता, लगानी तथा रोजगारी सिर्जनासँग जोड्ने विषयलाई पनि सम्मेलनले महत्त्वका साथ उठाउने तयारी गरेको छ । विदेशमा रहेका नेपालीलाई रेमिट्यान्स पठाउने स्रोतका रूपमा मात्र नहेरी ज्ञान, सीप, प्रविधि र लगानी भित्र्याउने विकास साझेदारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सम्मेलनको तयारीका लागि मध्यपूर्व क्षेत्रीय संयोजक श्रेष्ठको नेतृत्वमा विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार, यातायात, भिसा तथा दर्ता, स्वयंसेवक परिचालन, सञ्चार, सांस्कृतिक कार्यक्रम, लगानी प्रवर्द्धन र घोषणापत्र तयारीलगायतका कामलाई व्यवस्थित रूपमा अघि बढाइएको छ । अहिले ती समितिहरूको कामलाई अन्तिम रूप दिने, अतिथि तथा प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने र सम्मेलनका विषयवस्तुलाई परिणाममुखी बनाउने काम भइरहेको छ ।
सम्मेलनबाट प्राप्त हुने सुझाव, छलफल र निष्कर्षलाई संस्थागत रूपमा समेटेर घोषणापत्रमार्फत सम्बन्धित सरकारी निकायसमक्ष प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ । यसले सम्मेलनमा उठेका विषयलाई कार्यक्रम सम्पन्न भएपछि बिर्सिने अवस्था अन्त्य गर्दै नीतिगत सुधार र कार्यान्वयनका लागि दबाब तथा सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
कतारलाई एनआरएनए अभियानको प्रमुख केन्द्रका रूपमा लिइने भएकाले पनि दोहामा हुन लागेको यस सम्मेलनलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ । मध्यपूर्वमा एनआरएनए अभियानको विकास, श्रमिकका मुद्दाको उठान र विभिन्न राष्ट्रिय समन्वय परिषद्बीचको सहकार्यमा कतारको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । त्यसैले यसपटकको सम्मेलनले मध्यपूर्व क्षेत्रका नेपाली समुदायलाई थप एकताबद्ध बनाउने र उनीहरूका साझा सरोकारलाई राष्ट्रिय नीतिसँग जोड्ने अपेक्षा गरिएको छ ।
श्रेष्ठले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यसलाई सफल बनाउन नेपाल सरकार, एनआरएनएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्व, मध्यपूर्वका सबै राष्ट्रिय समन्वय परिषद्, नेपाली समुदाय, व्यवसायी, अभियन्ता र सञ्चारकर्मीको सहयोग आवश्यक रहेको बताएका छन् । सम्मेलनलाई अहिलेसम्मकै उत्कृष्ट र उपलब्धिमूलक बनाउन आफूहरू कुनै कसर बाँकी नराखी सक्रिय रहेको उनको भनाइ छ ।
दुई दिनसम्म चल्ने सम्मेलनको वास्तविक सफलता सहभागीको उपस्थिति र औपचारिक कार्यक्रमले मात्र निर्धारण गर्ने छैन । मध्यपूर्वमा पसिना बगाउने नेपाली श्रमिकका समस्या समाधानका लागि सरकारको प्रतिबद्धता, सामाजिक सुरक्षा कोषमा आबद्धता विस्तार, सुरक्षित श्रम आप्रवासनको सुनिश्चितता र प्रवासी नेपालीको ज्ञान तथा पुँजीलाई नेपालको समृद्धिसँग जोड्ने ठोस निष्कर्षले नै यसको उपलब्धि मापन गर्नेछ । त्यसैले दोहामा हुन लागेको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई एनआरएनएको नियमित क्षेत्रीय कार्यक्रमभन्दा माथि उठेर प्रवासी नेपालीका मुद्दालाई राष्ट्रिय नीतिमा स्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।






