चिप्लेढुङ्गा । हर्पन र खहरे खोलाले बगाएर ल्याएको ग्रेगान माटोले पुरिँदै गएको फेवातालको माटो पोखरा महानगरपालिकाले निकाल्न शुरु गरेको छ ।
महानगरपालिकाले आज डोजर लगाएर माटो निकाल्ने काम बङ्गलादी क्षेत्रबाट शुरु गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कार्यको शुरआत गरेका थिए । मुख्यमन्त्री गुरुङले फेवाताल नेपालको मात्र नभइ विश्वकै गहना भएकाले यसको सौन्दर्य जोगाउनु सबैको दायित्व भएको बताए । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेर तालको आकार बढाउन प्रदेश सरकार र स्थानीय सरकार लाग्नु पर्ने उनको भनाइ थियो ।
फेवा संरक्षणमा प्रदेश सरकारसँग समन्वय गरेर तालको सौन्दर्यसँगै आकार बढाउन महानगर अघि बढेको महानगरप्रमुख मानबहादुर जिसीले बताए । प्राकृतिक र मानवीय कारणले दिनदिनै खुम्चिदै गएको फेवाताल र जलाधार क्षेत्रको संरक्षणको लागि निकै आवाज उठेपनि कार्यान्वयन हुन सकेको थिएन ।
फेवाताललाई आफ्नै स्वरुपमा फर्काउन चेकड्याम बनाएर तालको क्षेत्रफल बढाउन महानगर लागि परेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । पौडेलले फेवाताल संरक्षणमा महानगरले चालू आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेको बताए ।
करीब चार रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन करीब दुई साता लाग्ने उनको भनाइ थियो । निकालिएको माटोलाई क्याम्पिङ चोकमा थुपारिने र कसैले त्यसलाई आफ्नै खर्चमा लान सक्ने पौडलले बताए ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को यही माघ ९ गते बसेको बैठकले फेवातालको चारकिल्ला तोक्ने र ताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । तालको संरक्षण, विकास र थप व्यवस्थित गर्नका लागि सकारले ताल संरक्षण प्राधिकरण गठन गर्दैछ ।
प्रदेश सरकारले फेवाताल संरक्षणका लागि चालू आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरेको छ ।






