चिकित्सा शिक्षा विधेयकले विवाद

SHARE:

काठमाडौं । दुई तिहाई मतका साथ संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछि सडक र सदनमा चर्को विवाद मच्चिएको छ । सत्तापक्ष जनउपयोगी भन्दै विधेयकको पक्षपोषण गरिरहेका छन् भने प्रतिपक्ष दल कांग्रेस भने त्यसको चर्को विरोध गरिरहेका छन् । यो विवादले चिकित्सा शिक्षा विधेयकका विषयमा अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति भने गम्भीर बन्ने देखिएको छ ।

दुई हप्ताभन्दा लामो समयदेखि चिकित्सा शिक्षा विधेयक आफूले भनेको जस्तो हुनुपर्ने माग गर्दै अनसन बसेका डा केसीको स्वास्थ्य स्थिति दयनीय बन्दै आएको छ । तर, दुई तिहाई मतका साथ सक्षपक्षले चिकित्सा शिक्षा विधेयक पास गरेपछि डा केसीले विरोध जनाएका छन् । यो विधेयकप्रति पनि आफ्नो मागको सुनुवाई नभएको भन्दै विरोध नै जारी राख्ने र अनसन नतोड्ने बताइरहेका छन् । यस्तो स्थितिमा अबको कोर्ष कसरी अघि बढ्छ भन्ने विषय भने गम्भीर बनेको छ ।

विधेयकको पक्ष र विपक्षमा प्रदर्शन
चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ । अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले विधेयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा केसी एलाइन्सले दिनहुँ प्रदर्शन गर्दै संसद्बाट पारित विधेयक फिर्ता गर्न माग गरेका छन् भने थापाका समर्थकले सार्वभौम संसद्को सम्मान गदै विधेयक लागू गराउन माग गरेका छन् ।

संसद्ले शुक्रबार बहुमतबाट विधेयक पारित गरेको थियो । डा केसी समर्थकले ‘केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने’, ‘विधेयकबाट बनेको चिकित्सा शिक्षा आयोग चाहिँदैन’ जस्ता नारा लगाउँदै विरोध गरेका थिए । त्यसैगरी निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्तिः संयुक्त सङ्घर्ष समितिले ‘चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर’, ‘शिक्षा, स्वास्थ्य र रोजगारजस्ता मौलिक अधिकार सुनिश्चित गर’ भन्दै प्रदर्शन गरेका छन् । चिकित्सा सुधारको माग गर्दै डा केसी गत पुस २५ गतेदेखि अनशनरत रहेका छन् ।

बेल घेरेकै बेला विधेयक पास, सभामुखको गरिमा खोई ?
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकबाट प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भएपनि चिकित्सा शिक्षा विधेयक पारित भएपछि बैठकबाट बाहिरिने क्रममा उनले सो प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलबाट सदनको ‘वेल’ घेरिएका अवस्थामा सभामुखले विधेयक पारित प्रक्रिया अघि बढाएर पदको गरिमानुसारको आचरण नगरेको भनी दुःख व्यक्त गरे ।

“विपक्षी दल ‘वेल’मा भएको बेलामा कहीँ पनि विधेयक पारित हुँदैन, म प्रधानमन्त्री भएको बेला महाकाली सन्धिको विषयमा मनमोहनजीले ‘वेल’ घेर्दा मैले सदन बन्द गर्न आग्रह गरी वार्ता गरेर अघि बढेको थिएँ”, उनले भने, “ ‘वेल’ घेरेको बेलामा वार्ता गर्नुको सट्टा जबर्जस्ती विधेयक पारित भएको छ, एकलौटी ढङ्गले विधेयक पारित भएको छ ।”

प्रा.डा. केसीको अघिल्लो अनशन भएका बेला सम्झौता गरेर आफू नेतृत्वको सरकारले अध्यादेश जारी गरेपछि अनशन तोडेको स्मरण गर्दै सभापति देउवाले अहिले सरकारले जबर्जस्ती गरेको टिप्पणी गरे ।

उनले काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापना भएको श्वासप्रश्वास केन्द्र र अर्का नेता सुशील कोइरालाका नाममा बाँकेमा खुलेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई वर्तमान सरकारले विघटनको सङ्घारमा पु¥याएको आरोप लगाए ।

गिरिजाप्रसादका नाममा स्थापना भएको श्वासप्रश्वास केन्द्रलाई आफ्नो भारत भ्रमणका बेला सहयोग गर्ने सहमतिसमेत भएको जानकारी दिँदै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकारले श्वासप्रश्वास र क्यान्सरजस्तो संवेदनशील अस्पताल पनि खत्तम गर्न खाजेको टिप्पणी गरे । सभापति देउवाले भने, “सरकारले काङ्ग्रेसका नेताको नाम मेट्न खोजेको छ, गिरिजाप्रसाद नभएको भए कहाँबाट गणतन्त्र आउँथ्यो, कहाँबाट संविधानसभाबाट संविधान आउँथ्यो, सुशील कोइराला नभएको भए कहाँबाट संविधान जारी हुन्थ्यो ?” दुई नेताको मानमर्दन हुने काम गरिएको भनी निन्दा गर्दै उनले यस विषयमा सदन र सडकमा काङ्ग्रेसको विरोध कायम रहने जानकारी दिए ।

सत्तापक्षको भनाइ : सभामुख संसदीय प्रक्रियामा
सदनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुलाई नेकपा पार्टीका तर्फबाट सम्मान गरिने जनाउँदै त्यो अधिकारको रक्षा प्रतिनिधिसभाले गरेको छ भने । सांसद भट्टराईले आधा दशकदेखि सहमति हुन नसकेको उक्त विधेयक विभिन्न सरकारले विभिन्न कालखण्डमा बनाएको आयोगका मर्म र भावनानुसार आएको उल्लेख गरे ।

उनले भने, “चिकित्सा शिक्षाको सुधारका लागि आन्दोलन गर्दै आउनुभएका डा केसीको भावनालाई पनि विधेयकले कदर गरेको छ, चिकित्सा शिक्षाको क्षेत्रमा यसले क्रान्तिकारी फड्को मारेको छ, पैसा भएर पनि स्वदेशमा पढ्न नपाएका विद्यार्थीका समस्याको अन्त्य भएको छ ।”
उनले गिरिजाप्रसाद र सुशील कोइरालाका नामबाट स्थापित अस्पताल सञ्चालन हुने र सरकार बजेटको व्यवस्था गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । प्रा डा केसीका शतप्रतिशत माग पूरा भएको जिकिर गर्दै उनले उनलाई अनशन तोड्न आग्रह गर्नुभयो । विधेयकमा दलबीच सहमति हुन नसकेपछि सभामुख संसदीय प्रक्रियाबाट अगाडि बढ्नुभएको उनको भनाइ थियो ।

काङ्ग्रेसका सांसद गगनकुमार थापाले प्रमुख प्रतिपक्षी दलले सदनमा लगातार यो विषय उठाइरहँदा पनि सभामुखबाट छलफलका प्रयत्न नभएको टिप्पणी गर्नुभयो । सांसद थापाले भने, “सरकारले आफूसँग दुई तिहाइ बहुमत छ भनेर निषेधको राजनीतिको गरेको पुष्टि भएको छ ।”

सभामुखबाट जालझेलपूर्ण व्यवहार भएको आरोप लगाउँदै उनले प्रतिनिधिसभा बैठक अघि सभामुखले ‘निकास निकाल्छु, विरोध भएमा सदनको कारवाही अगाडि बढाउँदिन” भनेको उल्लेख गर्दै थापाले अहिले जलझेलपूर्ण तरिकाले विधेयक पारित भएको बताए । उनले सरकारले नेपालमा चिकित्सा शिक्षामा सरकारी शिक्षा बलियो बनाउनुपर्छ भन्ने मागलाई कुल्चिएको आरोप लगाए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते अपराह्न १ बजे बस्नेछ ।

सरकारप्रति विश्वासमा ह्रास: काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले शुक्रबार प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भएपनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा काङ्ग्रेसले पत्रकार सम्मेलन गरी सरकारले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास कायमै राखेको आरोप लगाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्राडा केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा’ सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको टिप्पणी गरे । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको काङ्ग्रेसले आरोप लगाएको छ । काङ्ग्रेसले यस सम्बन्धमा चाँडै राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

विधि प्रक्रियाअनुसार नै
चिकित्सा विधेयक ः नेपाल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधि र प्रक्रियाअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताएको छ ।
प्रेस सङ्गठन नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाएकामा उनले विधिसम्मत प्रक्रियाको पालना सबैले गर्नुपर्दछ भने ।

नेता नेपालले भने, “केही नमिलेका विषय छन्, भने छलफल गरौँ, मिलाऔँ । अहिल्यै हतास हुनुपर्ने अवस्था छैन । चरणबद्ध आन्दोलनको बाटोमा नलागौँ ।” सरकारले आफ्ना सोच तथा योजनालाई, साकार पार्न राष्ट्रिय तथा बाह्य पूँजीलाई आमन्त्रण गरेर उत्पादनको क्षेत्रमा लगानी गर्दै जनतालाई सुखी बनाउनुपर्ने र त्यसमा प्रतिपक्षको पनि रचनात्मक भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!