मौलिक लोकगीत ‘रामसाइँली’, आधुनिक गीत ‘पठाइदिनु है आमा गुन्द्रुक किनामा’जस्ता चर्चित सिर्जनाका गायक हुन्, रुपकुमार राई । डेढ दशकअघि तिनै मर्मस्पर्शी गीत पस्किएका गायक रुपकुमारको ‘कद’ फेरि अग्लिएको छ । उनी र गायिका मेनुका राईले स्वर भरेका ‘नौलाई शून्य नब्बे’ बोलको गीतले नेपाली संगीतप्रेमीको मन जितेर अवार्ड पाएपछि रुपकुमारको सफलता चुलिएको हो । सो गीत वर्षको उत्कृष्ट भइ भर्खरै विन्दवासिनी म्युजिक अवार्डको भागीदार बन्यो । जुन गीतले यसै वर्ष इमेज अवार्डसमेत जित्यो ।
काठमाडौंको मित्रपार्कस्थित एक क्याफेमा आइतबार भएको संक्षिप्त भेटमा गायक रुपकुमारको पछिल्ला गतिविधि र गीत, संगीतको अवस्थाबारे एभरेस्टकर्मीले खोतल्ने प्रयास गरेका छन् । सत्र /अठार वर्षदेखि सुगम संगीतको मूलधारलाई पछ्याउँदै आएका गायक रुपकुमार राई सातौं एल्बमको तयारीमा छन् । भने, ‘नयाँ वर्षमा सातौं एल्बम ल्याउने तयारी छ । अबको आधुनिक गीत व्यावसायिक टेनलाई मध्यनजर गरेर पस्कने सोचमा छु ।’ एल्बम वा गीत रेकर्डिङको अलावा अरुजस्तै रुपकुमार पनि मेला, महोत्सत्व, विभिन्न अवसरमा हुने सांगीतिक कार्यक्रहरुमा व्यस्त छन् ।
गीत, संगीतको उर्वरभूमि खोटाङमा जन्मिएका हुन्, रुपकुमार । गाउँकै स्कुलबाट एसएलसी सकाएर २०५५ सालमा काठमाडौं आएर शास्त्रीय गायन सिके । गुरुदेव कामतसँग डोरिमी संगीत पाठशालामा उनले संगीत प्रशिक्षण लिएका हुन् । सिक्दै गरेका रुपकुमारले ०५७ सालमै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेँ । उनले अधिराज्यव्यापी आधुनिक गायनमा टपटेनमा परेर स्वर परीक्षाको प्रमाण पत्र लिएका हुन् । त्यतिबेला रेडियो नेपालले गर्ने प्रतियोगितामा टपटेनमा परेकालाई स्वर परीक्षाको मान्यता दिन्थ्यो ।
५७ तिरै रेडियो नेपालमा ‘यादै मीठो भन्छन् सबैले । सम्झनामा बाँचिदिँदा, नझार्नु है आँसु मोरी केही दिनलाई टाढा हुँदा ।’ पहिलो गीत रेकर्ड गरे । त्यसपछि मनको देउराली, आधुनिक एल्बम साक्षी, त्यसपछि रामसाइँली लगायत चर्चित–चर्चित गीत निकाले ।
आधुनिक गायकका रुपमा स्थापित स्रष्टा रुपकुमार लोकगीत र गजल गायनमा पनि उत्रिकै सिपालु छन् । उनको स्वर र आमाको संकलनमा बजार पिटेको रामसाइँली एल्बम एक उदाहरण हो ।
रुपकुमारहरुले संगीत अँगाल्दाताका नाम र चाम रहे पनि अहिले गीत, संगीतमा चुनौती थपिएको छ । उनको अनुभवमा गीत, संगीत निर्माणमा नयाँ प्रविधिले सहजता भित्रिए पनि लगानी बढ्दो छ । स्रोता÷दर्शककहाँ पु¥याउन युट्युबजस्ता सूचना प्रविधिले सहज गराइदिएको छ । तर, नयाँ प्रविधिको सही व्यवस्थापन र सिस्टम बसाल्नुमा राज्यका निकाय निकम्मा बन्दा स्रष्टा सिर्जना मूल्यहीन भयो । ‘प्रविधिले सहजता भयो । सही सिस्टम राज्यले दिन सकेन । रोयल्टी पाउन सकिरहेका छैनौं’ गायक रुपकुमार भन्छन्, ‘गीत सुनेबापत, हेरेर मनोरन्जन लिन्छ, तर तिर्न चाहनेले पनि सिस्टम नहुँदा तिर्न सकेनन् । सिर्जना मूल्यहीनजस्तो भयो ।’ राजनीति, व्यापार, अरु क्षेत्रहरुमा जस्तै संगीत सिर्जनामा रोयल्टी विचौलियाको हातमा पुगिरहेको उनको ठम्याइ छ । गायक राईले यस्ता समस्यालाई व्यावसायिक ढंगले सिस्टम बसालेमात्र कलाकारको हितमा हुने आस व्यक्त गरे ।
गायक रुपकुमार गीत, संगीत मनोरञ्जनको साधन मात्र नभएको भन्दै राज्यको सान, पहिचान, गौरव र आम्दानीको स्रोत भएको बताउँछन् । तर, राज्यले उपभोग गर्न नसक्दा राजस्व गुमिरहेको र कलाकारहरु समस्यामा पिल्सिरहनु परिरहेको छ । अहिले कलाकार र सिर्जना बढिरहेको र गुणस्तरीयता भने नबढेकोमा उनको दुखेसो छ । नेपाली गीत, संगीतलाई गैरभाषिकसम्मले सुन्ने÷हेर्ने बनाउन सकेमा राज्यले संगीत क्षेत्रबाट ठूलो फाइदा लिन सक्थ्यो र ध्यान नदिइएकोले घाटा भइरहेको छ, गायक राई भन्छन् । उदाहरण दिँदै उनले भने–‘रेशम फिरीरी…गीत अन्तर्राष्ट्रियकरण भयो, त्यसले नेपाली गीत, संगीतको दायरा फराकिलो बनायो भने कलाकार र राज्यलाई फाइदा पुग्यो । अरु पनि त्यस्तै गर्न सकिन्छ ।’ त्यसका लागि राज्यले कलाकारलाई वातावरण बनाइदिनु पर्ने उनको मत छ ।
अधिकांश कलाकारहरु जति पुराना र खारिँदै जान्छ, उत्ति अर्थअभावले पीडित र समस्यामा पर्ने गरेका छन् । झन् रोगव्याधीले छोएका स्रष्टाहरुको खर्च नहुँदा उपचार नभएका कयौं घटना पनि सुनिने गर्छ । बिहान–बेलुका हातमुख जोड्न वैकल्पिक पेसा अँगाल्नुपर्ने र उब्रेको समय कलामा लगाउँदा सिर्जनाको स्तर घटेको कलाकारहरुको अनुभव छ । त्यस्तो समस्याबाट गायक रुपकुमार पनि टाढा छैनन् । दुई छोराको लालनपालन र शिक्षादीक्षाका लागि जीवनसाथीसँगको मिलेमतोमा काठमाडौं कोटेश्वरमा केही वर्षदेखि दिव्यज्योति पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन् । सानैदेखि संगीतमा नसा लागेका गायक रुपकुमार भन्छन्, ‘कलाकारितालाई निरन्तरता दिन र हातमुख जोर्न भने पनि यस्तो पेसा अँगाल्न बाध्य छु ।’ उनी साइड ‘जव’ गरे पनि संगीत यात्रालाई निरन्तरता दिनको विकल्प देख्दैनन् ।
– टीकाराम तामाङ






