डिसपुर । भारतको उत्तर पूर्वी राज्य असममा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ८४ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार दुई सय जना बिरामी छन् । मृतक तथा बिरामीहरु सबै चिया मजदुर हुन् । मदिरा सेवनपछि बिरामी परेकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी अधिकारीहरुले मजदुरहरुको मदिरा सेवन गरेको केहीबेरमै निधन भएको हो । मृत्यु भएका र बिरामी भएकामध्ये धेरै महिला रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमले मृतकको संख्या बढ्न सक्ने उल्लेख गरेका छन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा दुई साताअघि विषाक्त मदिराका कारण करिब सय जनाको मृत्यु भएको थियो ।
‘हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार गोलाघाटमा गत बिहीबार रातिदेखि शनिबारसम्म मृत्यु हुनेको संख्या ८४ पुगेको छ,’ असमको गोलाघाट जिल्लाका उपआयुक्त धीरेन हजारिकले भने ।
अर्का सरकारी अधिकारीले छिमेकी जिल्ला जोर्हाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृत्यु भएका तथा बिरामी परेकाहरु गोलाघाट र जोरहट जिल्लाका विभिन्न चिया बगानमा काम गर्ने मजदुर हुन् । एक अपुष्ट समाचारअनुसार जोरहट जिल्लामा विषाक्त रक्सीका कारण अन्य १२ जनाको ज्यान गएको छ ।






