शोकमा स्वदेश

SHARE:

काठमाडौं । उर्जावान मन्त्रीसहित देशले विशिष्ट व्यक्तिलाई गुमाउन पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यो मृत्युसँगै नेपाल नै एकपटक स्तव्ध बन्यो । मुलुकले आशालाग्दो नेता गुमाउनुको पीडा सबैले भोग्न पुगेको छ ।

हेलिकोप्टर दुर्घटना कसरी भयो ?
करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो ।
पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् ।
पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ र हुरि बतास चल्यो”, मन्दिरका पुजारीको भनाइ उद्धृत गर्र्दै व्यवस्थापन समितिका अध्यक्ष तारा घिमिरेले भने । पूजा गरेर फर्कने बेला हिउँको चिसो छल्न मन्त्रीलगायतको टोली हेलिकप्टरमै बसेर मौसम खुल्ने प्रतीक्षामा चियासमेत पिएको थियो ।
“उहाँ हतारहतारमा हुनुहुन्थ्यो, फेरि मौसम थप बिग्रेला भन्ने डर पनि थियो, त्यसैले हतारिनुभएको हो”, घिमिरेले भने । स्वर्गद्वारीबाट आएका एक फलारी बाबालेसमेत मौसम खराब भएको उल्लेख गरेको घिमिरेले सुनाए ।
केही समयको प्रतीक्षामा पाथीभराको ठीक पश्चिममा पर्ने ताप्लेजुङ क्षेत्र (सिधा देखिन्छ) केही मौसम खुलेको भन्ने सूचना आएपछि चालकले हेलिकप्टर उडाएका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, “मौसम चाहिँ खराब थियो तर दुर्घटना कसरी भयो भनेर भन्न सकिदैन ।”
हेलिकप्टर उडेको निकैपछि दुर्घटना भयो भन्ने सुन्दा विश्वास नै नलागेको पुजारी आचार्यले सुनाए । यता सुकेटार विमानस्थलमा पनि मन्त्री चढेको हेलिकप्टर पाथीभरा आउँदै छ भन्ने जानकारी आएको थिएन । तर थाहा पाएपछि विमानस्थलबाटै फोन गरेर जानकारी लिइएको एक कर्मचारीले बताए ।
दुर्घटनास्थल पाथीभरा मन्दिरको पश्चिम ताप्लेजुङ बजार पाखोको भिरमा पर्छ । मन्दिर क्षेत्र १२ हजार फिट उचाईमा पर्छ । तर दुर्घटना करीब १० हजार ३९८ फिटको उचाइमा भएको थियो ।
सुकेटार विमानस्थलबाट दुर्घटनास्थलको खोँच प्रष्ट देखिए पनि घटनास्थल आँखाले ठम्याउन सक्दैन । विमानस्थलबाट करीब छ/ सात किलोमिटर दूरीमा पर्ने सिस्ने खोलाको शिरमा घटना घटेको जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष गमबहादुर लिम्बूले बताए । घटनास्लथको माथि र दायाँबायाँ ढुङ्गो छ । तल्लो क्षेत्रमा थोरै भाग जमीन छ । घटनास्थलको वरिपरि भिर छ । जानका लागि बाटोसमेत राम्रो छैन । भएको बाटो हिउँले पुरेको छ । घटनास्थलबाट कच्ची सडकमा आइपुग्न दुई घण्टा लाग्छ । त्यसपछि एक घण्टाको सडकमार्फतबाट सुकेटार विमानस्थल आइपुग्ने स्थानीयको भनाइ छ । बीचमा सामान्य ओडार जस्तो स्थानमा हेलिकप्टर बजारिएको र त्यसपछि आगो लागेको स्थानीयको दाबी छ ।
उक्त दुर्घटनामा मन्त्री अधिकारी र अङ्गरक्षक सेनाका जमदार अर्जुनप्रसाद घिमिरेको शव पहिचान भएको छ । अन्य पाँच शव पहिचान गर्न सकिएको छैन । पाथीभराको थुम्कोबाट उड्नेक्रममा नियमित गति लिन नसक्दा त्यसैको सिधा तल भिरमा गएर ठोक्किएको हुनसक्ने घटनास्थलमा पुगेका एक उद्धारकर्मीले बताए । तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन गर्न पुग्नुभएका मन्त्री अधिकारीसहित उनका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको उक्त दुर्घटनामा निधन भएको थियो । यसअघि ताप्लेजुङको घुन्सामा विसं २०६३ असोज ७ गते पनि विशिष्ट व्यक्ति सवार हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो ।
के भन्छन् उद्धारकर्ता
नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले हिउँ पर्दापर्दैको अवस्थामा उद्धार कार्य र शव उठाउने कार्य गरेका थिए । हिउँको कठ्याङ्ग्रिँदो चिसोमा लुगलुग काम्दै दुई दिन हिउँसँग पौँठेजोरीमै उनीहरु उद्धार कार्यमा जुट्दा केही स्थानीयसमेत घटनास्थलमा पुगेका थिए ।
घटना बुधबार दिउँसो करीब १:२० बजे भएको थियो । उद्धारका लागि काठमाडौँबाट ३:२० मा उडेको सेनाको एमआई–१७ हेलिकप्टर अपराह्न ४:३० बजे सुकेटार विमानस्थल पुगेको थियो । उद्धार टोली लिएर तत्कालै घटनास्थल उडेको हेलिकप्टरले साँझ ५:४६ बजे डोरीमा झुण्डाएर दुई शव सुकेटार विमानस्थलमा ल्यायो । हेलिकप्टर बस्ने ठाउँ नभएपछि उड्दाउड्दै दुई सेना डोरीमार्फत घटनास्थल झरेको थियो । त्यसअघि नै घटनास्थल पुगेका सुरक्षाकर्मीले शव सङ्कलन गरेर प्लास्टिकमा राखिसकेका थिए । सेनाका तालीमप्राप्त नायक प्रताप लामा र लेस नायक तेजव घलेले हुकमार्फत शवलाई बास्केटमा राखेपछि हेलिकप्टरले झुण्ड्याएर सुकेटार विमानस्थल ल्याएको थियो । हेलिकप्टरभित्र सेनानी चिरञ्जीवी चौलागाईंलगायत व्यवस्थापनमा खटिएको थियो ।
साँझ ६ बजे थप दुई शव सुकेटार ल्याइपुर्‍याएपछि ६:१० बाट हिउँ पर्न थाल्यो भन्ने खबर घटनास्थलबाट आएपछि सेनाले शव उठाउने कार्य स्थगित गर्‍यो । बाँकी तीन शव डोकामा बोकेर ल्याउने स्थानीय सुरक्षा संयन्त्रको प्रयास सम्भव नभएको प्रजिअ भण्डारीले बताए ।
बिहीबार बिहान करीब ७ बजे केही समय मौसम खुलेका बेला एकैसाथ तीन शव हेलिकप्टरले विमानस्थलमा ल्याएपछि मौसम बिग्रिएको थियो । शव झुण्ड्याएको डोरीमा झुण्डिएर नै सेनाका दुई उद्धारकर्ता विमानस्थल आएका थिए । करीब ८ बजेदेखि पर्न थालेको हिउँ ११:४५ बजेसम्मै रह्यो । विमानस्थलमा आधा फिट हिउँ जमे पनि मौसम सफा भएपछि दिउँसो १२:१० मा शव लिएर सेनाको हेलिकप्टर काठमाडौँ उडेको थियो । सेनाका उद्धारकर्ता कठिन अवस्थामा रात बिताएर उद्धारमा खटिएको अनुभव सुनाउँछन् ।
भविष्य निर्माणमा अधिकारीको अन्तिम सम्बोधन
मन्त्री अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्तत: उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।
जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा विद्यालयमा पुगेको थियो ।
मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको विद्यालय परिवार यतिखेर भने शोकमा छ । चार दिन अघि माविमा उनले गरेको अन्तिम सम्बोधन यतिखेर विद्यालय परिवारसहित सो क्षेत्रका स्थानीयवासीले झलझली सम्झिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए । “आफ्नै निर्वाचन क्षेत्र त्यसमा पनि भण्डै चार महीना अध्यापन गरेको विद्यालयलाई उनले निकै माया गर्नुहुन्थ्यो”, उनले भने, “विद्यालयको विकासका साथै यहाँको भविष्य माथि सधैँ चासो र चिन्ता व्यक्त गर्ने अधिकारीको निधन हाम्रा लागि निकै पीडादायी भएको छ ।” सम्बोधनका क्रममा मन्त्री अधिकारीले विद्यालयका साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासलगायतमा बोलेको थियो ।
विद्यालयमा प्राविधिक शिक्षाका लागि सहयोग गर्ने विश्वाससहितको मन्तव्यका क्रममा विज्ञान प्रयोगशाला अत्याश्यक भएको बताउँदै उनले भनेका थिए, “सहयोग विभिन्न स्थानबाट जुटाउँला, तीन चार महीनाको अवधिमा साइन्स ल्याब बनाउने गरी कामलाई अघि बढाउनुहोस्, त्यसमा सहयोग जुटाउने भूमिका खेल्नेछु, साइन्स ल्याब हुनै पर्छ ।” मन्त्री अधिकारीले यस्तो बोलिरहँदा विद्यार्थी तथा अभिभावकले निरन्तर ताली बजाइरहेका थिए ।
बोलिसकेपछि वचनबद्धता पूरा गर्ने अधिकारीको निधनले आफूहरू अत्यन्त मर्माहत भएको अध्यक्ष भुजेलले बताए । उक्त सम्बोधनमा राष्ट्रिय राजनीतिबारे समेत चर्चा गर्दै मन्त्री अधिकारीले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको धारणा राखेको थियो ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै सम्बोधनमा उनले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन सुझाव दिएको थियो ।
बहुचर्चित निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघिनै सम्पन्न हुने पनि अधिकारीले उक्त अवसरमा विश्वास व्यक्त गरेको थियो ।
भविष्य निर्माण माविमा २०४४ सालमा अधिकारीले शिक्षण गर्दा प्रधानाध्यापक रहनुभएका मनोरथ आचार्य तत्कालीन समयमा शिक्षकको अभाव भएका अवस्थामा उनले बिना पारिश्रमिक विज्ञान तथा गणित विषय पढाएर ठूलो गुन लगाएको स्मरण गर्छन् । “त्यसै बेलादेखि नै मैले उनलाई हसिलो तथा जुझारु एवं सेवाप्रति समर्पित व्यक्तिका रूपमा चिनेको हुँ”, आचार्यले थपे, “उनमा रहेका विकास प्रेम, मिलनसारिता जस्ता गुण भनिसाध्य छैनन्, के गर्नु दैवको नियति अत्यन्त मर्माहत बनाएको छ ।”
भरतपोखरीको शान्ति उदय माविबाट प्रवेशिका उत्तीर्ण गरेका अधिकारीको निधनले यतिखेर उनका समकालीन मित्रका साथै शिक्षक तथा अभिभावकका आँखा रसाएका छन् । शिक्षा प्रेमी अधिकारीको निधनले विद्यालयको आशा एवं विश्वासको धरोहरको अन्त्यका रूपमा महसुस गरिएको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोती भुजेल बताउँछन् ।
“उनमा रहेको विकासप्रेमी सोच, मिलनसार व्यक्तित्व सबैका लागि अनुकरणीय थियो, उनको अभाव विद्यालय एवं यहाँको समाजमा सधैँ खट्किरहने छ”, भुजेलले थपे । अधिकारीको छिमेकीसमेत रहेका विद्यालयका पूर्वविद्यार्थी सविन आचार्य बच्चादेखि वृद्धसम्म सबैसँग मिल्ने उनको व्यवहारले के बालक, के वृद्ध यतिखेर सबै शोकाकुल रहेको बताउँछन् ।
“जिल्लाका साथै जन्मस्थान भरतपोखरीको समग्र विकासमा उनको धेरै योगदान छ, उनकै पहलमा धेरै पुलपुलेसा, बाटोघाटो निर्माण भएका छन्” आचार्यले भने, “उनले अघि सारेका बाँकी योजनालाई पूरा गर्नुपर्छ ।”
मन्त्री अधिकारी ‘विकासवादी नेता’
सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत भएका मन्त्री अधिकारी दूरगामी योजना बनाउनसक्ने नयाँ सोच भएका विकासवादी नेताको रुपमा स्मरण गरेका छन् ।
उनीहरूले मन्त्री अधिकारी राजनीति र विकासलाई एकैसाथ अघि बढाउन सक्ने र विमति राख्ने शक्तिसँग पनि समन्वय गरी निकास निकाल्न सक्ने क्षमता भएका व्यक्तिको रुपमा सम्झिए ।
उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणकी कर्मचारी ललितपुरकी देवीमायाँ खड्काले अहिलेसम्म आएका मन्त्रीहरूमध्ये केही गर्नुपर्छ, नयाँ काम देखाउनुपर्छ भन्ने व्यक्तिले छाडेर गएको भन्दै दु:ख प्रकट गरे ।
आँखामा टिलपिल आँशु बगाउँदै खड्काले स्मरण गरे, “देशलाई समृद्ध पार्नुपर्छ भनेर लाग्ने उनले विमानस्थलको मुहार फेरेर हेर्न लायक बनाएको छ, विज्ञापन हटाएर एकीकृत गरे, धेरै परिवर्तनका शुरुआत गर्नुभएको थियो, सबै अधुरै रहयो ।”
उनले थपे, “दिवङ्गत हुनुभएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया पनि केही गरौँ भन्ने भावनाको थिए ।” काठमाडौँका नवराज पोखरेलले मन्त्री अधिकारी केही गर्छु भन्ने भावना बोकेको युवा नेताको रुपमा सम्झँदै भने, “उनले नै यातायातमा विद्यार्थी छुटको कार्यक्रमलाई अगुवाइ गर्नुभएको थियो ।”
सानैदेखि राजनीतिक गतिविधिमा चासो राख्ने मन्त्री अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबमा संलग्न भएर विद्यार्थीलाई नि:शुल्क कोचिङको व्यवस्था, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत माध्यमबाट राजनीतिक जागरणका गतिविधिमा क्रियाशील रहनुहुन्थ्यो । मन्त्री अधिकारीको योगदानको स्मरण गर्नुहुँदै शुभेच्छुक लक्ष्मी खड्काले युवा वर्गलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्ने राजनीतिज्ञ गुमाएको प्रतिक्रिया दिए ।
पेशागत महासङ्घ नेपालका सभामुख किशोरकुमार नेपालीले पर्यटन क्षेत्रमा कसैले गर्न नसकेको काम मन्त्री अधिकारीले गरेको स्मरण गर्दै विकासवादी नेता थिए भने । नेपालीले समृद्ध नेपाल कसरी बन्न सक्छ भन्ने चिन्तामा डुब्ने मन्त्रीले नेपालका ठूला विमानस्थल निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गरे ।
विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित मन्त्री अधिकारी विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित थिए । उनले सार्वजनिक लेखा समितिलगायत विभिन्न उपसमितिमा रहेर विकृतिविरुद्धको नेतृत्व गर्नुभएको थियो । उनले संविधानसभामा राष्ट्रियहित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!