लिम्बु संस्कृतिको हब बन्दै आसफोर्ड

SHARE:

अमित थेबे
आसफोर्ड । करिब डेढ लाख नेपालीहरूको बसोबास रहेको बेलायतमा लिम्बु समुदाय जनसंख्याको हिसाबमा चौथो स्थानमा छन् । सन् २००४ र २००८ यता पूर्वब्रिटिस गोर्खा सैनिक र तिनका परिवारले आवासीय अधिकार पाएपछि नेपालका आदिवासी जनजातिहरूको बेलायत आगमन बढेको हो । लिम्बु जातिको जनसंख्या बीस हजार बढी रहेको अनुमान छ ।

थातथलोभन्दा धेरै टाढा आएपनि पूर्वी नेपालका याक्थुङ भनेर चिनिने लिम्बु जाति आफ्नो जातीय पहिचान र संस्कार, संस्कृति संरक्षण गर्न लागिपरेको छ । सन् २००३ मा बेलायती लिम्बुहरूलाई गोलबद्ध गर्न याक्थुङ चुम्लुङ स्थापना भएपछि संस्थागत गतिविधिमार्फत् यो समुदाय अघि बढ्न थालेको हो । बेलायतको दक्षिणपूर्वी केन्ट काउन्टीमा मात्रै चालीस प्रतिशत लिम्बुहरूको बसोबास रहेको छ । सबैभन्दा बाक्लो बस्ती रहेकैले पनि आसफोर्ड नगरमा चुम्लुङको गतिविधि सबैभन्दा बढी रहेको आसफोर्ड चुम्लुङ अध्यक्ष टङ्क येङ्देन बताउँछन् । ‘जनसंख्याको एक तिहाई लिम्बुमात्रै आसफोर्ड नगरमा छन्,’ उनले भने, ‘यसकारण पनि चुम्लुङको प्रत्येक कार्यक्रममा नगरको उल्लेख्य सहभागिता रहन्छ ।’

गत वर्षमात्रै चुम्लुङ देन (जग्गा) खरिद गर्दा आसफोर्ड क्षेत्रबाट एक लाख पाउन्ड (डेढ करोड नेपाली रूपैयाँ) बढी सङ्कलन भएको थियो । तीन लाख पच्चीस हजार पाउन्डको कुल बजेट रकममध्ये यस नगरबाट एक लाख सात हजारभन्दा बढी सहयोग उठेको अध्यक्ष येङ्देनले बताए । चुम्लुङ देन खरिदका लागि दोस्रो चरणको घरदैलो अभियान सन् २०१७ डिसेम्बर १७ मा सुरु भएको थियो । जुन अभियान गएको चासोक तङ्नामको दिन समापन भएको घोषणा गरिएको थियो । सो दिन अभियानमा सहयोग पुर्‍याउने १९४ जनालाई शाखाले सम्मान पनि गर्‍यो ।

आसफोर्ड नगरको विशेषता भनेको पछिल्लो पुस्ताको लोभलाग्दो सहभागिता पनि हो । सांस्कृतिक मोहकै कारण चुम्लुङमा युवा पिँढीको सक्रियता पनि देख्न सकिन्छ । करिब चार वर्षअघि चुम्लुङले एक महिने लिम्बु भाषा लिपिको कक्षा सञ्चालन गर्दा सहभागी लगभग सबै कलेज तहका विद्यार्थीहरू मात्रै थिए । त्यतिमात्रै होइन, पछिल्लो एक दशकयता लिम्बुको लोकप्रिय केलाङ (च्याब्रुङ नाच) समूह हाँक्ने सबै युवायुवती छन् । सन् २०१६ मा नजिकैको फोक्सटोन नगरमा गोर्खा सालिकको अनावरणका लागि आएकी चर्चित अभिनेत्री जोअन्ना लुम्लेसमेत आसफोर्ड नगरको केलाङ देखेर हर्षित भएकी थिइन् । आसफोर्ड केलाङ समूहको माग अहिले प्रत्येक वैवाहिक र सांस्कृतिक कार्यक्रमहरूमा बढ्दो छ ।

लिम्बु जातिका मुख्य चाडहरू चासोक, कक्फेक्वा, बलिहाङ, सिसेक्पा तङ्नामका अवसर पारेर नियमित सांस्कृतिक कार्यक्रमहरू आसफोर्डले आयोजना गरिरहेको छ । भाषिक र सांस्कृतिक जागरणका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण पनि भएका छन् । यसका अलावा सामाजिक काममा पनि संस्था सरिक भइरहन्छ । विशेषत: नगरमा बसोबास गरिरहेका याक्थुङ समुदायहरू विपत्तिमा परेका बेला संस्था अघि बढ्ने गरेको छ । आफन्त गुमाएका परिवारका लागि आर्थिक सहयोग पुर्‍याउनेदेखि मृतकहरूको मौलिक सांस्कृतिक विधिअनुसार कर्मकाण्ड गरिदिनेसम्मका कामहरूमा चुम्लुङले सहजकर्ताको भूमिका खेल्ने गर्छ ।

नजिकैको मेडस्टोनमा चुम्लुङ देन खरिद भइसकेपछि आसफोर्डले आफूलाई अझ जिम्मेवार महसुस गरेको छ । निकट भविष्यमा केन्टलाई याक्थुङ संस्कृति अध्ययनको केन्द्र बनाउने सोच रहेको अध्यक्ष येङ्देनले सुनाए । उनले केलाङप्रेमी र समूहहलाई सङ्गठित गर्न केलाङ एकेडेमीको अवधारणा पनि विकास गरेको बताए । याक्थुङ भाषा, मुन्धुम, इतिहास, संस्कार अध्ययन गराउन चुम्लुङले युवा लक्षित कार्यक्रम ल्याउने जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!