सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत रु बेलायतमा विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले सदाको वर्षझै यसवर्ष पनि अर्थ आवरको अवसरमा अर्थ आवर तथा साहित्य गोष्ठी सम्पन्न गरेको छ । गत ३० मार्चको दिन आशफोर्डमा बिएफबिएस गोर्खा रेडियो सर्नक्लिफका स्टेशन प्रमुख योगराज राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा तुल छन्त्याल, औतारी साइँला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथिका रुपमा उपस्थित थिए ।
संस्थाका अध्यक्ष तथा वातावरणविद् विजय हितानले स्वागत गर्दै कार्यक्रम औपचारिक रुपमा सुरु गरे । उनले आजको साँझ (मार्च ३०) मा १ घण्टा बिजुली बत्ति नबालेर ईनर्जी खपत गर्ने, जसले गर्दा वातावरणलाई केही समय भए पनि बचाउन सकौं भन्ने विचार व्यक्त गरे । आउँदो साल सन् २०२० को जुन महिनामा विश्व वातावरण दिवसको दिन पारेर नेपालमा वातावरण साहित्य गोष्ठी गर्ने योजना रहेको वातावरण साहित्यकार हितानले बताए ।
कार्यक्रमको लागि बेलायतमा रहेका सहयोगीहरुबाट प्रतिव्यक्ति एक पाउन्ड र नेपालमा रहनेबाट रु १०० सहयोग गर्न उनले आह्वान पनि गरे । त्यस्तो सहयोग एक हजार जनाबाट मात्रै उठाइने छ ।
कार्यक्रममा गायक गणेश पुनले भावेश भुमरीको नियात्रा “भिसाको रङ” र साहित्यकार अमित थेबेले निबन्धकार विजय हितानको “ईको उत्सर्जन” निबन्धसंग्रहहरु समीक्षा गरे । उपस्थितहरुबाट सेमन्त राईले बाँसुरीको मीठो धुन साथै वातावरण कविता, अमित थेबे वातावरण कविता, सुरेन्द्र इङ्नाम बाँसुरी साथै वातावरण कविता, थिर थापाबाट गायन, लाहाङ् चेम्जोङ् वातावरण कविता, औतारी साइँला वातावरण कविता, अंग्रेजी साहित्यकार दोय फेलिसीटी वातावरण कविता, मुरे होलवूड वातावरण कविता र विश्वासदीप तिगेलाद्वारा वातावरण कविताहरु वाचन गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष हितानले वातावरण कविता वाचन गर्नुका साथै गोर्खा भान्सा घरका सञ्चालक सुष्मा लिम्बु गुरुङलाई सभाहल निःशुल्क उपलब्ध गराइदिएकोमा धन्यवाद दिए । अन्त्यमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै अध्यक्ष हितानले पुनः अर्थ आवर र अर्को वर्ष भेला हुने वाचासहित कार्यक्रमलाई समापन गरेका थिए । कार्यक्रम दिउँसो २ देखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रमलाई संस्थाका सचिव थिर थापाले सञ्चालन गरेका थिए ।






