पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नं ८ मा अवस्थित पर्यटकीय गाउँ ल्वाङमा यही चैत्र २४ देखि २७ सम्म २८ औं चैते दसैं ऐतिहासिक मेला २०७५ आयोजना हुने भएको छ । मेला शहीद हरिप्रसाद स्मृति खेल मैदानमा ग्रिन हिल युवा क्लबले आयोजना गर्न लागेको हो । मेलाका मुख्य आकर्षकहरुमा गाउँस्तरीय पुरुष भलिबल, खुल्ला अन्तर कल्बस्तरीय महिला भलिबल, छेलो हान्ने, घैटो फुटाउने, मकै गन्ने, बालबालिकाहरुको लागि बेलुन फुटाई, महिलाहरुको लागि मेच घुमाई प्रतियोगिता हुने कार्यक्रमका उपसंयोजक भरत गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
क्लबका अध्यक्ष दीपक गुरुङको अध्यक्षमा आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व महासचिव एवम् Everest Channel UK को Director सविन्द्र कुमार गुरुङ, राष्ट्रिय भलिबल रेफ्री एवम् मेला संयोजक अनिल गुरुङ, मेला उपसंयोजक भरत गुरुङको उपस्थिति रहेको थियो ।

पुरुष भलिबलमा प्रथम र द्वितीय हुने टिमले क्रमश: ६० हजार अनि ४० हजार नगद पाउने छ भने महिला भलिबलमा प्रथम र द्वितीय हुने टिमलाई क्रमश: २६ हजार अनि १६ हजार नगत प्रदान गरिने छ। गण्डकी प्रदेशकै नमुना चियाबारीको खेती एवम् होमस्टेले परिचित ल्वाङ गाउँको पहिचान, भाषा, धर्म, संस्कृति, कला, संस्कार अनि परम्परालाई विश्वमाझ परिचत गराउने लक्ष्यले कार्यक्रम आयोजना गरिएको हो । मेलाले गाउँमा आन्तरिक तथा बाह्य गरी करिब २० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ र मेलाको खर्च ८ लाख रुपैयाँ लाग्ने मेलाका उपसंयोजक गुरुङले बताए ।
मेलाले गाउँलाई विश्वमाझ चिनाउन मद्दत पुग्ने र ल्वाङलाई अझै माथि उठाउन मद्दत गर्ने कुरा क्लबका पूर्वमहासचिव सविन्द्रकुमार गुरुङले बताए ।
मेलाको समापन कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने छ ।






