नगेन्द्रराज नेम्वाङ्ग
लन्डन । गत शनिबार ६ अप्रिलमा फेल्थाम कम्युनिटी कलेजमा सत्यहाङ्गमा महागुरु फाल्गुनन्द समाज यूकेले कुसाङ तङ्गबे यक्वा तङ्गनाम प्रकृति पूजा एक कार्यक्रम आयोजना गरी मनाएको छ ।
कार्यक्रमको पहिलो चरणमा सेवा सावा रुद्र तुम्वापो र इन्द्र माया जबेगुद्वारा पूजा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रममा संस्थाका उपाध्यक्ष रत्न चेम्जोङले उपस्थित भक्तजन एवं अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) यूकेका अध्यक्ष तीलबिक्रम सम्बाहाङफेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाँचथर समाज सेवाका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाज सेवाका अध्यक्ष पूर्ण लिम्बु, भूपू सभासद तारा राई, कियाचु रेडिङ शाखाका अध्यक्ष चुडाकर्ण थाम्सुङ्ग, अक्सफोर्ड शाखाका अध्यक्ष पदमा लिम्बू, किरात धर्म तथा साहित्य उत्थान संघ यूकेका वरिष्ठ उपाध्यक्ष नन्दा चेम्जोङ्ग र उपाध्यक्ष लोचन लिम्बूको विशेष उपस्थिति रहेको थियो ।
फाल्गुनन्द समाजद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिलगायत पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास र किरात धर्म तथा साहित्य उत्थान संघ यूकेका वरिष्ठ उपाध्यक्ष नन्दा चेम्जोङले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, समाजका अध्यक्ष दिपक तुम्वापोले उपस्थित सबैलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा उपस्थित भक्तजनलगायत अतिथिहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रम माङलाङ र केलाङ नृत्यमा झुमेका थिए । त्यस्तै, सेवा सावा रुद्र तुम्वापोको तुङ्गेसाम (भजन)बाट पनि भरपूर मनोरञ्जन लिएका थिए । समाजका अध्यक्ष दिपक तुम्वापोको अध्यक्षतममा सम्पन्न कार्यक्रम सचिव भगिरथ जबेगुले संचालन गरेका थिए ।






