कोलम्बो . श्रीलंकामा आइतबार चर्च र होटलमा भएको शृंखलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार करिव ५ सय जना घाइते छन् । प्रहरीका अनुसार विस्फोटमा दर्जनभन्दा बढी विदेशी नागरिकको मृत्यु भएको छ ।
प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई पक्राउ गरेको छ। तर अहिलेसम्म विस्फोट कसले गरायो भन्ने अज्ञात नै रहेको छ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलमा शृंखलावद्ध विस्फोट गराइएको थियो।
आक्रमणपछि श्रीलंकामा लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध भने यथावत नै राखिएको छ।
श्रीलंकामा सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो।






