नेपालमा एकजुट हुने हो भने कम्युनिष्ट मत दुई तिहाईभन्दा बढी छ । तर, कम्युनिष्ट शक्ति सधै टुक्रा टुक्रामा विभाजित भए । विभाजनले गर्दा नेपाली कम्युनिष्ट शक्तिमा रहन सकेन । वैचारिक रुपमा ससाना कुरामा समेत फुट्न जानेका कम्युनिष्ट बीचमा देखिएको राजनीतिक विचलनलाई ठूला कम्युनिष्ट शक्ति नेकपा एमाले र नेकपा माओवादीले भने चक्मा नै दियो । दुई ठूला पार्टीबीचको एकताको घोषणा भएको एक वर्ष बितिसकेको छ । तर, यो बीचमा वास्तविक एकता भने हुन सकेन । अझै पनि सबै संगठनबीचको एकता टुंगिसकेको छैन । त्यसैले यी दुई ठूला दलबीच व्यापक आन्तरिक किचलो रहँदै आएको छ ।
वैशाख ९ गते दुई दलबीच एकता घोषणा भएको दिन हो । यो दिन एक ऐतिहासिक दिन पनि हो । त्यसैले यो दिनलाई नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा र कार्यकर्ताहरुले सम्मानको दिनका रुपमा लिने गर्दछन् । वर्गीय मुक्तिका लागि संघर्ष गर्दै आएका कम्युनिष्टहरुले आफ्नो स्थापना दिवसका रुपमा मनाउने दिन अर्थात वैशाख ९ गतेकै दिनमा दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकताले नयाँ जनउत्साह उत्पन्न गर्ने नै भयो । त्यसका साथै शक्ति पनि आर्जन भएकै हो ।
एक वर्षको बीचमा पार्टी एकताको काम टुंगोमा पुग्न सकेन । राजनीतिक र सत्तामा दुई तिहाईको सरकार बनाउन सफल भएपनि नेपाली जनताले अपेक्षा गरेअनुसार काम हुन सकेन । त्यसैले पनि जनतामा मात्र होइन, कार्यकर्ताका बीचमा निरासा पैदा गरिदिएको छ । यो निरासाका बीचमा पार्टी एकीकरणलाई तल्लो तहसम्म नै पु¥याउन महत्वपूर्ण अवसर पनि यो बेला आइपरेको छ ।
राजनीतिक स्वाभिमानका साथ अघि बढ्नका लागि नेकपाका लागि यो ऐतिहासिक अवसर पनि हो । यो अवसरलाई आत्मसाथ गर्दै नेता कार्यकर्ता मात्र नभएर जनताका बीचमा नै विश्वास जगाउन पनि तल्लो तहसम्म नै एकताको तारतम्य मिलाउन सक्नुपर्छ । होइन भने इतिहासमा गम्भीर भुल हुनेछ । गम्भीर धोका हुनेछ ।
नेकपाबीचको गुट उपगुट र समूहहरुलाई वास्ता नगरी एकतालाई टुंगोमा पुग्नसक्ने स्थिति अहिले देखिएको छैन । माधव नेपालले असन्तुष्टि जनाउँदा देखिएको परिणाम पक्कै पनि सबैका सामु छर्लंग्गै छ । यसले के देखाउँछ भने नेपाली राजनीतिमा नेकपाबीचको असन्तुष्टिले निकै जरो गाडिसकेको छ । जति ढिला हुँदै जान्छ, त्यति नै नेकपाबीचमा किचलो बढ्दै जाने सम्भावना छ । त्यसैले पनि नेकपाबीचको एकतालाई अक्षुण राख्ने हो भने तत्काल सबै संरचनाबीच एकता गर्दै अघि बढ्नुको विकल्प छैन ।






