नयाँदिल्ली । भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धी बेलायती नागरिक भएको दाबीसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश रञ्जन गगोईसहितको संयुक्त इजलासले बिहीबार दिल्ली निवासी जय भगवान् गोयल र सिपित्यागीले दायर गरेका रिट खारेज गरेको हो ।
उनीहरुले राहुलसँग भारतीय नागरिकता नभएको दाबी गर्दै लोकसभा चुनावी प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइनुपर्ने माग राख्दै रिट हालेका थिए । रिटमा राहुल सञ्चालक रहेको एउटा बेलायती कम्पनीको सन् २००५/०६ को वाषिर्क प्रतिवेदनमा उनी बेलायती नागरिक भएको उल्लेख भएको हुँदा निर्वाचन प्रक्रियामा सहभागी हुन रोक लगाउन माग गरिएको थियो । भारतको संविधानले कुनै पनि विदेशी नागरिकलाई राजनीतिक पार्टीको प्रतिनिधित्व गर्न बन्देज लगाएको छ ।






