एटा संवाददाता
लन्डन । शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औं बुद्धजयन्ती लन्डनको ट्राफलगर स्क्वायरमा मनाइएको छ । गत आइतबार १२ मे साँझ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो ।

नेपाली राजदूतावास लन्डन, नेपाल पर्यटन बोर्ड, काठमाडौं र गैरआवासीय नेपाली संघ यूकेको सहकार्यमा बुद्ध फाउन्डेशन यूके र कपिलवस्तु समाज यूकेले कार्यक्रम आयोजना गरेको हो ।
धार्मिक पूजा र दिपप्रज्ज्वलन समेत गरिएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले प्रमुख अतिथिको आशनबाट बोल्दै, लुम्बिनी विश्वविद्यालयले बुद्ध संदेशको प्रर्वद्धन गरिरहेको बताए । उनले आपूmले बुद्धको जन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश लिएर आएको समेत बताए ।
गौतम बुद्ध र लुम्बिनीसम्बन्धी प्रिजेन्टेशनसमेत गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लुम्बिनीको समग्र विकासका लागि संयुक्त राष्ट्र संघले सहायता गरिरहेको बताए ।
युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई विश्वकै शान्ति, अहिंसा र सह–अस्तित्वको केन्द्रको रुपमा सरकारले काम गरिरहेको बताए । साथै, उनले भिजिट नेपाल २०२० लाई सफल पार्नसमेत सबैमा अपील गरे ।
कार्यक्रममा लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा, डरहम विश्वविद्यालयका प्राध्यापक रबिन कनिङ्गघम, रोयल बरो अफ केंसिंगटन एण्ड चेल्सीकी मेयर मेरी टेरेस रोसी, रस्मोर बरो काउन्सिलका काउन्सिलर पल टेलर, एनआरएनए यूकेका अध्यक्ष योग कुमार फागामीले शुभकामना मन्तब्य दिएका थिए । लामा धरम गुरुङले धार्मिक पूजाबाट शुरु भएको कार्यक्रममा आयोजक संस्थाका अध्यक्षहरुले प्रमुख अतिथि लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइएको कार्यक्रममा गायिका शर्मिला बर्देवा, शर्मिला सिंह, सोनम उनेम लगायतले विभिन्न राष्ट्रिय गीतहरु गाएर कार्यक्रमस्थललाई नेपालमय बनाएका थिए । सो अवसरमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाहरुको आकर्षक नृत्य समेत प्रस्तुत् गरेका थिए ।






