काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिईरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए । उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए । प्रधानमन्त्री ओलीले सरकारले शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गरे ।






