सेमन्त राई
गतांकबाट क्रमशः
बलिउड गायिका साधना सरगम तथा गायक सुरेश वाडकरले आफूहरु पनि उनको बाँसुरी भक्त रहेको बोलेका छन् । यस्ता बाँसुरी बादकको शो हेर्ने मौका पाउनु हाम्रो लागि अहोभाग्यको कुरा हो, धन्य सुधा दिज्यु !

तीन घण्टाको त्यो समय एकदम छिटो बितेको महसुस भयो । धुन सुनेको बेला सबै संसार भुलेर आफूलाई धुनभित्रै समाहित गरेका थियौं । जब अमरले आफ्नो ४८४ औं पटकको कार्यक्रमलाई अन्त गरी र ध्यान दिएर सुनिदिएकोमा हामी श्रोता वर्गलाई धन्यवाद दिँदा पो म झसंग भएछु । आफ्नो वास्तविक धरातलमा उत्रेर हेर्दा समयले नेटो काटिसकेको रहेछ । कार्यक्रमको अन्तमा स्थानीय समाजका अगुवाहरुसँग पनि अन्तमा केही भलाकुसारी भयो ।
भविष्यमा नेपाली बाँसुरी समूहको कुनै कार्यक्रममा सहभागी हुन पाउने आशा उनीहरुको थियो । जुन प्रतिक्रिया हाम्रो लागि ज्यादै सकारात्मक कुरा हो । कसै कसैले त हाम्रो समूहको पनि केही धुनहरु सुन्न पाउने आशा राखेका रहेछन् र सुन्न नपाउँदाको असन्तुष्टि पनि पोखे । नामैले मल्टिकल्चरल फोरम, त्यसमा पनि सुधा दिदी जस्तो समाजसेवीको सहभागिता रहेको ठाउँमा स्थानीय समाजका अगुवाहरुसँग नेपाली समाजको राम्रो समन्वय र सम्बन्ध रहेको पनि अनुभव भयो । हामी नेपालीको अस्तित्वलाई बचाउन स्थानीय समाजसँग घुलमिल गराउने काम स्थानीय नेपालीहरुको भएको कुरा पनि थाहा भयो । यसरी एक बाँसुरी विज्ञको प्रत्यक्ष कार्यक्रम सुन्न र हेर्न पाइयो, गीतको भाका नबुझ्नेलाई पनि बाँसुरीको भाकाले मन्त्रमुग्ध बनाएको प्रत्यक्ष हेर्न पाइयो ।
गीत, संगीतको शक्ति ठूलो हुने कुराको अनुभव गर्न पाइयो । अन्तमा सबै जनासँग बिदा भएर आआफ्नो दिशातिर बाटो लागियो । सुरेन्द्र भाइ र म पनि प्रफुल्ल मन बनाउँदै एम थ्री, एम २५ समातेर घरतर्फ हान्नियौं । बाटोभरी उही कार्यक्रमको बारेमा कुरा भयो, जीवन भोगाईका दुःखसुखका कुराहरु साटासाट गर्दै बाटो काट्यौं । मान्छेका कति चाहनाहरु पूरा हुन्छन्, कति अधुरै रहन्छन् तर हाम्रो भने त्यो साँझ एउटा इच्छा पूरा भएको थियो ।
खै ! कहिलेकाहीं जिन्दगीमा कस्तो कस्तो संयोग मिल्छ, अनि नसोचेका कुराहरु पनि गर्न पाइन्छ । चाह राख्दाराख्दै कति इच्छाहरु अपुरो हुन्छन् र मौका पर्खेदै अधुरो जीवनयापन गर्न विवश हुनु पर्दछ । ती अधुरा मनका चाहना पूरा गर्न जन्मेदेखि बाँचुञ्जेलसम्म अनवरत रुपमा कोसिस गर्नुपर्छ । कसैको इच्छा ठूलो हुन्छ भने कसैको सानो तर हरेक इच्छाको महत्व उत्तिकै हुन्छ । रहरहरु अनगिन्ति हुन्छन् तिनै रहरहरुसँग रमाएर जीवन जिउन सक्नु पर्दछ । अरु त खै के भनौं मनमा अनेकौं उत्कण्ठाहरुसँग युद्ध गर्दै म पनि जीवनलाई उत्तरार्धतर्फ धकेल्दै जाँदैछु । यही क्रममा कहिले अलिकति लेख्न सिक्छु । थोरै समय उबारेर बाँसुरी बजाएर उथलपुथल भएको मनलाई शान्त बनाउँछु । मौका पाउँदा सिर्जना र बाँसुरी दुवै कहिले आफैंलाई त कहिले अरुलाई पनि सुनाउने दुस्साहस गर्छु । मन परे त्यसैको बारेमा थोरै लेख्छु पनि र धेरैजसो मलाई स्याबासी दिनेहरुकै साथले अगाडि बढ्ने उर्जा पनि पाइरहेको छु । मेरो बाँसुरी बादन सिक्नेक्रमलाई यो सुनौलो मौकाले अझ हौसला र उत्साह थपेको छ । सबैभन्दा ठूलो कुरा मनमा आनन्द रहेछ, जहाँ मन रमाउँछ त्यहाँ जीवनको पर्याय भेटिन्छ ।
उक्त दिन बाँसुरीको मीठो धुनको अलावा कार्यक्रम सञ्चालन शैली, युवापुस्ता र पुरानोपुस्ताको सहकार्य, समाजको एकता, साथै समयको महत्वबारे राम्रो उदाहरण स्थानीय फोरमबाट हेर्न र अनुभव गर्न पाइयो । नेपाली समाजलाई यो अवस्थामा पाउन अझ कति दशक लाग्ने हो । सायद पुरानोपुस्ताले नयाँपुस्तालाई यसरी जिम्मेवारी नसुम्पने हो भने हाम्रो नेपाली अस्तित्व लामो समय रहला भन्न सकिन्न । कार्यक्रम कुनै व्यापारको लागि नभएर उपस्थित श्रोताहरुका मनोरञ्जनको लागि हो भन्ने कुराको पुष्टि भयो । त्यहाँ न कुनै सराब थियो, न केही खराब, न कुनै खानाको स्टल नै थियो, थियो त केवल मीठो प्याजी र लड्डुको एक÷एक वटा बट्टा र प्रशस्त चिया कफी । खाने र पिउनेभन्दा मनोरञ्जनलाई प्राथमिकता दिएर च्यारिटीमा पैसा उठाएको र थोरै व्यवस्थापन खर्च गरी धेरै आयस्ता बनाउन सकिने राम्रो उदाहरण सिकेर उक्त दिनलाई मैझारो गरियो ।


