१७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संस्थाको सहभागिता

SHARE:

पूर्ण गुरुङ, लण्डन ।

बेलायतको नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १७औँ संस्करणको तयारी पूरा भएको आयोजक तमु धिं युकेले जनाएको छ। आगामी ३० अगस्ट आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलाको तयारीबारे जानकारी दिन तमु धिं युकेले गत आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेको हो।

नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना हुने मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाले आफ्नो मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्परा झल्काउने झाँकी र नृत्य प्रस्तुत गर्नेछन्।

मेलाका संयोजक तथा तमु धिं युकेका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आयोजना हुने मेलामा बेलायतस्थित ४२ नेपाली संघसंस्थाको सहभागिता रहनेछ।

यस वर्ष ४२ संस्थाले झाँकी प्रस्तुत गर्नेछन्। झाँकी र नृत्य दुवै विधामा ९ संस्था तथा नृत्य विधामा मात्र १० संस्थाले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, झाँकी तथा नृत्यमा सहभागी हुने तर प्रतिस्पर्धामा भाग नलिने संस्थाको संख्या ६ रहेको आयोजकले जनाएको छ।

संयोजक गुरुङका अनुसार मेलाको उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गर्नेछन्। कार्यक्रममा अन्य नेपाली तथा विदेशी कूटनीतिक प्रतिनिधिको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।

यस वर्ष झाँकी तथा नृत्य प्रतियोगिताको प्रमुख पुरस्कार ‘एम्बासडर कप’को राशि वृद्धि गरिएको छ। गत वर्ष १,१०० पाउण्ड रहेको पुरस्कार यस वर्ष बढाएर १,५०० पाउण्ड पुर्‍याइएको छ। प्रथम र द्वितीय रनरअपले क्रमशः ७०० र ५०० पाउण्ड प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

त्यस्तै, एनआरएनए कपको पुरस्कार राशि पनि ३०० पाउण्डबाट बढाएर ८०० पाउण्ड पुर्‍याइएको छ।

मेलामा नेपाली खाना, पोशाक, मौलिक सामग्री तथा विभिन्न व्यापार, सेवा र च्यारिटीका गरी करिब ७५ वटा स्टल रहनेछन्। स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउन हेल्थ क्याम्पसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!