
काठमाडौं ३१ साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरस सङ्क्रमणको बढ्दो आक्रमकता र देशका विभिन्न स्थानमा बढ्दो बाढीपहिरोको क्षतिप्रति गम्भीर तदारुकता साथ कार्य गर्न तीनै तहका सरकारलाई अपिल गरेको छ ।
कांग्रेसले शनिबार विज्ञप्तिमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा शुक्रबार गएको पहिरोको घटनाका सम्बन्धमा प्रश्न उठाउँदै सो स्थानका जनताका समस्या समयमै राज्यका निकायले सुनुवाइ नगर्नु गम्भीर लापरवाही भएको आरोप लगाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले जुगल गापाको–२ का लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संचगाउँ आदि बस्तीका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि सो बारेमा ठोस पहल नभएको आरोप लगाएका छन् । उनले पहिरोमा ज्यान गुमाएकाहरुले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहारेको तर राज्यको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनीहरुलाई जोगाउने दायित्व निर्वाह नगर्नु अक्षम्य गल्ती हो भनेका छन् ।
शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा ३८ घर बगाएका छन् । शनिबारसम्म १८ जनाको शव उत्खनन् गरिएको छ भने २१ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।






